रहर होस् वा बाध्यता, कारण जे भए पनि चाडबाडले ल्याउने खुसीयाली वा गाँउघरमा परिआउने सुख-दुःखका खबरहरूले निरन्तर रूपमा आफन्त, इष्टमित्र, गाउँघरको याद ताजा गराउँछ। परिवारको दुःख, सुख परदेशमा बसेर महसुस गर्नुपर्दा दुःख लाग्छ तर यो बाध्यतालाई स्वभाविक ठानेर घरमा भदैनीको विवाह टुग्ङो लागेपछिको खुसीमा टाढैबाट साथ दिँदैछु।
विवाहको माहोलले घरमा भित्र्याएको कामको चटारोलाई मन थामेर हेर्दै परिवारमा छाएको खुसीमा समाहित छु। विवाहको मिति तय भो है भन्न र त्यसपछिका नियमित म्यासेन्जर कलहरूमार्फत उहाँहरूको अनुहारमा छाएको खुसी निहाल्दैछु। विदेशी ज्वाइँ पाएर सुनमा सुगन्ध झैँ परिवारको खुसी दोब्बर भएको छ। भदैनीले विदेशमा बस्ने केटालाई मन पराउँदा कुरा काट्नेहरू पनि विवाह पक्का भएपछि खुसी छन्।
२०६२ साल फागुनको मेरो विवाहमा नयाँ रातो जामा लाएर मक्ख परेकी, रमाएकी भदैनी नवीनतम् सम्बधसँगै पाइने थप जिम्मेवारी उठाउने भई। विवाहयोग्य उमेरमा उसले गरेको स्वनिर्णयले पूरै परिवारमा भित्र्याएको खुसीको क्षणमा एक्लै परेकी म विगतका आफ्ना विवाहका प्रसंगहरू सम्झँदै छु।
एसएलसी पास गर्नेबित्तिकै बुवाका तर्फबाट मेरो विवाह गर्न पहल गरेको थाहा पाएँ र सोही दिन त्यो कुरालाई लिएर विद्रोह गरेँ। बुवाआमासँग आक्रोशित हुँदै, रुँदै भनेँ, 'मेरो जीवनको महत्वपूर्ण निर्णय बिना मेरो जानकारी कसरी सम्भव भयो? हामी दुई वर्ष फरकका दाजुबहिनीमा मैले विवाह गर्नुपर्ने, ऊ पढ्न पाउने, कसरी हुन्छ? तपाईं आफै शिक्षक, शिक्षाको महत्व थाहा छैन भनेर कसरी मान्नसक्छु? मेरो विवाहसँगै दाजुको पनि विवाह गर्न राजी हुनुहुन्छ?' आदिआदि।
जबर्जस्ती विवाह गर्न विवश हुन्छु कि भन्ने तनावले आकुल थिएँ तर बुवाआमाको प्रतिक्रिया बिनाको मौनताले परिस्थिति सहज बन्यो। त्यो शान्तिपूर्ण वातावरणले ममा सकारात्मक उर्जा थप्यो।
संयमित बन्दै बुवाआमासँग 'करिब १७ वर्षकी म, परिवार र समाजका नजरमा विवाहयोग्य भएँ होला तर मानसिकरूपमा विवाहको निम्ति तयार छैन। एमएसम्म पढ्ने रहर छ, त्यसलाई आधा बाटोमा अलपत्र नपारिदिनू होला। विवाहपछि पढ्न पाउने पक्का भए पनि जिम्मेवारी थपिएसँगै पढाइले नियमितता पाउने ग्यारेन्टी हुँदैन। पढाइ सुचारु गर्न नसकिने सम्भावित कारणहरू प्रशस्ततै छन्' भनेँ।
त्यसउपरान्त एमए दोस्रो वर्षको परीक्षा नदिउन्जेलसम्म विवाहका बारेमा खासै कुरा भएनन्। पहिलो कदम असफल भएर हो वा छोरीले चाहे जति पढ्ओस् भन्ने ठानेर हो, जे भए पनि त्यो समयावधिमा आएका विवाह प्रस्तावहरुका विषयमा बुवाले सोधीखोजी नगरिदिएकाले निष्फिक्री नियमित अध्ययन जारी राखेँ। साथै त्यो समयावधिमा शुभचिन्तक, आफन्तहरूमार्फत बीच-बीचमा आइरहने विवाह प्रस्तावहरुले बुवालाई खासै तनाव दिएजस्तो महसुस कहिल्यै पनि गरिनँ।
तर आमालाई भने गाउँघर, आफन्तहरूकामा एसएलसी दिने बित्तिकै वा आइए पढ्दै गरेका छोरीहरूको विवाह हुने चलनले तनाव गराएको प्रष्ट देखिन्थ्यो। समय-समयमा सामाजिक कार्यहरूमा सहभागी हुँदा गाउँले, आफन्तहरूले मेरो विवाहको बारेमा जिज्ञासा राख्दै, 'अस्ति पनि भान्जीलाई हेर्ने मान्छे आएका होइनन्? भान्जीको विवाह कहिले खान पाइन्छ हो, दिदी?' भनेर सोधिएका प्रश्नहरुको उत्तर खोज्दै आमा मसँग सोध्नुहुन्थ्यो,
'तँ बिहे नगर्ने नै हो? हैन कहिलेसम्म बिहे नगरी बस्ने विचार छ हँ तेरो? गाउँमा तँभन्दा साना केटीहरूको बिहे भैसक्यो। धेरैले त नानी समेत लिएर आइसके। उमेर छिप्पिएपछि नानी जन्माउन पनि गाह्रो हुन्छ। कति सम्झाउनु, बेलामा बिहे नगर्, पछि दुःख पाउँदा पछुताउनु पर्ला? माग्नै नआउँदा कुरो बेग्लै हुन्थ्यो। यतिधेरै माग्न आउँदा पनि बिहे नगर्ने कस्तो मान्छे खोजेकी? के पर्खेर बसेकी? गाउँघरमा निस्किँदा पनि तेरै बिहेको कुरा गर्लान् कि भनेर डर लाग्न थालिसकेको छ। तर गाउँलेलाई पनि के दोष दिनु, बढेकी छोरी घरमा राखेपछि, जे भन्दा पनि पढ्दैछु भन्दे भैगो, कसैले नपढेको तैँले मात्र पढ्नुपर्ने?'
आमाका सबै कुरा नसकिँदै बीचैमा रोकेर, 'विवाह गर्नेलाई हतार छैन, अरूलाई हतार अनि माग्न आउँछन् त, फूल भएर भमरासँग डराएर हुन्छ? कचकच नगर्नु है, आमा' भन्थेँ। आमालाई त चुप बनाउथेँ तर उमेरका कारण विवाह समयको माग बनिसकेको थियो। त्यसैले वर्षैपिच्छे हातका औंलाहरूमा गनेर नसकिनेगरी आउने विवाह प्रस्तावहरुमा सहभागी बन्दै गएँ।
विवाहका लागि कुरा लिएर घरमा आएका मानिसहरूसँग प्रत्यक्ष कुरा पनि गरेँ। अभिभावकले सोधीखोजी गर्ने खालका प्रश्नहरू, 'तपाईं केटी हेर्न आउनुभएछ काम, कमाइ के-कस्तो छ? विवाहपछि पढाउने विचार छ? तपाईं शाकाहारी कि मांसाहारी'? आदि इत्यादी आफैले सोधेँ। तर सबै उत्तरहरु समयसापेक्ष आए पनि विवाहका लागि राजी हुन सकिनँ।
जीवनको नयाँ सम्बन्धलाई शून्य नम्बरले नराम्रो प्रभाव पार्छ। हिजोआजका कुरामा सन्तोष पन्तले भनेको। त्यसैले २०६० सालमा विवाह गर्नु हुँदैन भनेँ। जे-जति प्रस्तावहरु आए ती सबैलाई टुंग्याउनमा म आफै सक्रिय थिएँ। तर पटक-पटक प्रस्तावहरु अस्वीकार गरिरहँदा बुवाआमालाई भने सहज भएन।
त्यसैले एमए दोस्रो वर्षको परीक्षा सक्नेबित्तिकै बुवाले, 'छोरी आजभन्दा पहिला शुभचिन्तकहरुले हृदयदेखि नै यतिको राम्रो, गतिलो परिवारबाट आएको सम्बन्ध उम्काउनु हुँदैन्थ्यो। यतिको सम्बन्ध त भाग्यले मात्र पाइन्थ्यो। छोरीको भाग्य बनाइदिनु पर्थ्यो दाइ भन्दा पनि चुप्प लागेर सुनेकै हो, छोरी पढ्न चाहन्छे भन्दै टार्न सजिलो थियो। तर अब परीक्षा पनि सकियो। विवाहका निम्ति यति धेरै प्रस्तावहरु आइरहेछन्, सधैंभरि के भनेर पन्छाउने?
पाकेको फल पनि समयमा टिप्नुपर्छ, धेरै पाकेपछि बोटबाट झर्छ। पाकेको फललाई समयमा टिक्नु मालिकको जिम्मेवारी पनि हो। तर विवाह योग्य बर छान्ने काम त्यति सजिलो रहेनछ। आँखाले झ्वाट्ट बाहिरबाट देख्ने/हेर्ने भौतिक सुखका वस्तुहरू मात्र हुन्। आर्थिक सम्पन्नताले मात्र दाम्पत्य जीवन सफल नबन्ला। नजरले हेरेको भरमा मात्र व्यक्तिगत स्वभाव, चरित्र बुझ्नलाई गाह्रो भो, बरु तैँले जानेका, बुझेका, तेरा सहपाठी साथीहरु मध्ये आफैंले रोजेको कोही भए मलाई भन्' भन्नुभयो।
स्वनिर्णयको कदर गर्ने मैले जीवनको यस्तो महत्वपूर्ण कुरा सोच्न छुट्टाएछु। वास्तवमै त्यो विषयमा नचुकी समकालीन सहपाठी मध्येबाट एकलाई छानेर मनमा राख्न सकेकी भएँ बुवाको त्यत्रो बोझ सजिलै कम हुन्थ्यो। साथमा केटो कस्तो पर्ला पनि भन्नु नपर्ने, पौडिन नजाने पनि पानीको सतह थाहा पाएर खोला तरे झैँ पक्कै मेरो वैवाहिक जीवन पनि सहज हुन्थ्यो होला।
तर कीर्तिपुरमा पढ्दा सहपाठीका तर्फबाट आएको विवाह प्रस्तावलाई अस्वीकारेकी मैले जीवनलाई त्यो कोणबाट कहिल्यै हेरिनछु भन्ने त्यस दिनमात्र महसुस गरेँ। साथमा बुबाआमाका लागि छोरीको विवाह खातिर योग्य वर छान्न कति गाह्रो रहेछ! मेराजस्ता बाबुआमा जसले आएका प्रस्तावहरु मध्येबाट उपयुक्त लागेको छाने पुग्छ।
यो नै यति धेरै कठिन हुँदैछ भने घरमा बढेकी छोरी छ, विवाह योग्य व्यक्ति भए मलाई सम्झनु होला भनेर बर नै खोज्दै हिँड्नुपर्ने बुवाआमाका निमित्त यो काम कति गाह्रो होला? हुर्केकी छोरीका लागि विवाह प्रस्ताव नआएका बाबुआमाको अवस्था कस्तो होला? सोच्न बाध्य भएँ।
विवाहलाई लिएर अभिभावकले बेहोर्नु पर्ने बोझ कम पार्न आफैले जीवनसाथी खोजे, रोजे उत्तम हुने विषयमा अनविज्ञ भए पनि छोराछोरीहरुको घर बसेको, उनीहरू खुसी र सुखी भएको हेर्न, आफ्नै हातले नातिनातिना हुर्काउने, बाबुआमाको सुन्दर सपना हुन्छ। अभिभावकका सुन्दर सपनाहरु साकार पार्नु सन्तानको कर्तव्य हो भन्ने विषयमा भने अनविज्ञ थिइनँ।
फूलबारीमा फक्रिएको फूल जति नै राम्रो भए पनि निश्चित समयावधिमा झर्नेछ। सबैले मन पराउने, टिप्न खोज्ने भनेकै फक्रिएको फूल हो। तर विवाहको प्रस्ताव लिएर आएका व्यक्तिमा दोष देखाइ अस्वीकार गर्नुपर्ने विशेष कारण केही नभए पनि अन्तस्करणबाटै यी सम्बन्धहरु मेरा लागि होइनन् भन्ने आवाज बारम्बार गुञ्जिरहे। ती आवाजहरु सुनेका समयमा आएका सबैकुरालाई सहजरुपमा लिँदै गएँ।
हितैषी दाइले आफ्नै बहिनी सम्झेर, 'हैन, त्यो मान्छे पनि अस्वीकार गरेकी, त्यति राम्रो व्यक्तिसँग पनि बिहे नगर्ने? के पर्खिएकी बसेकी? तेरो सिङ पलाउन बाँकी छ कि जुँगादारी आउनुपर्ने हो?' समेत भन्नुभएको थियो। त्यस्ता कुराहरु सुन्दा पनि कहिल्यै कुनै गुनासो गरिनँ, हाँसेरै टारिदिन्थेँ। तर समय सधैं एकनास कसरी हुन्थ्यो? नियतिले आफ्नो पकडमा राख्न चाहेपछि मन पनि एकनास भएन।
नियतीले घटाउने घटनाहरुका लागि कारण आवश्यक छ। त्यही कारण आइपुग्यो र एक्कासी मन बदलियो। एक साँझ बजेको फोनको घन्टी नै मन परिवर्तन गर्न प्रयाप्त भयो। चिरपरिचित आवाजसँगको सामान्य भलाकुसारीपछि 'के कामले फोन गर्नुभयो?' भन्ने मेरो जिज्ञासामा, 'दुई हप्ताअघि विवाहको प्रस्ताव लिएर आएका मानिस, जोसँग तपाईंले नै गफ गर्नुभएको थियो रे, मंसिर जान लाग्यो, के निर्णय भयो? बुझ्नलाई' भन्नुभयो।
उहाँले बुझ्न खोजेको कुरोलाई प्रष्ट बुझाइदिएर मैले फोन राखेँ। फोन त राखेँ तर त्यो संवादले मानसिक आघात पैदा गरायो। विचलित मनको शान्ति, चैनका खातिर फोन संवादको चुरोसम्म गएँ तर त्यो सानो कुरो हो, तिललाई पहाड नबना भन्ने प्रतिक्रिया आएपछि झन् मनमा वर्षाको कालो बादलजस्तो अशान्ति मडारियो। त्यो कुरो गर्नेहरुका लागि सानो हुनसक्ला तर मेरा लागि सानो हुनै सक्दैन किनकि त्यो मेरो सोचाइ, बुझाइ, भोगाइभन्दा फरक भएर आएको थियो।
आफ्नो परिवार प्रतिको इमान्दारिता, निष्ठामाथि धावा बोल्दै आजसम्म गर्वसाथ लिएको पारिवारिक धारणाप्रति कुठाराघात गरेर आएको त्यो सानो कुरोले मनमा ठूलो चोट दियो। त्यो चोट सहन अत्यन्त गाह्रो भएर सुत्न कठिन भो। आफू जान्ने भएदेखि आफ्नो मानेको घरआँगन एकाएक खुम्चिँदै, साँघुरिँदै आएकाले आफू नअटाउने अवस्था सिर्जना भएको भान भई निसासिएको झैँ महसुस गरेँ।
बारम्बार पूर्वस्मृतिहरुमा हराएँ, तर वर्तमानमा काँडाले घरी-घरी चसक-चसक घोचेझैँ मनको चोटले पीडा दिइरह्यो। निमपत्तीको तितो पात, फूल, जरा सबैतिर फैलिएजस्तो मनको दुखाइ सारा शरीरभरि फैलिएको महसुस गरेँ। बाहिर लागेको चोट पो सबैले देखेर सहानुभूति दिन्छन्। मनभित्रको चोट कसरी अरूलाई देखाउन सक्थेँ?
त्यसैले चोटले भरिएको मनलाई चाँडो निको पार्न, मनभित्रको अदृश्य, असह्य पीडा, दुःखाइलाई नियन्त्रण गर्न खातिर अब जन्मघरलाई माइतिघर बनाउन ढिलो गर्नु हुँदैन भन्ने अठोट गरेँ। स्वतन्त्रतापूर्वक बारम्बार सोचेर त्यो सुनसान रातमा मनको दबाबमा विवाह गर्ने निर्णय गरेँ। जति कोसिस गरे पनि अर्को विकल्प रोज्न नदिई अहिलेसम्म गर्न नसकेको निर्णय एक रातमा गर्न बाध्य बनाउँदै जीवनमा गर्नुपर्ने महत्वपूर्ण निर्णयको माध्यम, कारक बनेर त्यो फोन संवाद आइपुग्यो।
भोलिपल्ट बिहानको सुनौलो घामलाई साक्षी राख्दै दृढतापूर्वक रातमा तय गरेको निर्णय बुवाआमालाई सुनाउँदा उहाँहरूलाई पत्यार लागेको थिएन। तर विवाह गर्ने दृढ संकल्प लिएर बेग्र प्रतिक्षामा बसेकी मैले लगत्तै माघमा आएको प्रस्तावलाई बिना कुनै प्रतिक्रिया सहर्ष स्वीकारेँ।
विवाह गर्ने निर्णयले नै खुसी हुनु भएकी आमा विवाह निश्चित भएपछि अझ खुसी भै विवाहको तयारीमा जुट्नुभयो। धेरै वर्षदेखि पर्खेर बसेको दिन आउँदा आमाको खुसीको सीमा थिएन। वरणीको टपरो आफै बनाउने धोको पूरा गर्दै, 'हेर त कत्रो भयो? नाङ्लो जत्रो ठूलो बनाउनलाई अब दुई फन्को त पक्कै थप्नुपर्ला? राम्रा-राम्रा पत्ता मलाई देऊ है, सबैले हेर्ने, देख्ने भनेकै वरणीको टपरी हो। यो नराम्रो हुँदा, टपरा गाँस्न पनि नजान्ने भनेर हेप्लान् नि हामीलाई' भन्दै ठूलो-ठूलो स्वरमा गफ गर्दै कसार बटार्ने दिन गन्नुहुन्थ्यो।
'अब त बेहुली अन्माउने दिन नजिकै आए, है' भन्दै एउटै छोरीलाई बेहुली बनाउने तयारीमा अत्यन्त खुसीसाथ जुट्नुभएको थियो। तर बुबाको हालत भने आमाभन्दा ठिक विपरीत थियो। उहाँलाई विवाहको माहोलले खुसी बनाउन सकेको थिएन। बुवाले विवाहको टुंगो गर्ने समयमा पनि सिधैँ विवाह नगर छोरी भन्न नसकेर बहाना खोज्दै, 'तेरो हुनेवाला घर हाम्रा घरबाट पूर्व, पश्चिम, दक्षिण दिशातिर भए राम्रो लाग्थ्यो, उत्तरतिर जानुपर्ने भो' भन्दै हुनुहुन्थ्यो।
दुवैजना बेरोजगार छन्, दाम्पत्य जीवन कसरी अघि बढाउलान्? भन्ने बुझेर पनि मेरो जिद्धी स्वभावसँग परिचित बुवाले आखिर मेरो निर्णयलाई समर्थन गर्नैपर्यो। तर बेरोजगारसँग विवाह गर्ने मेरो निर्णयले उहाँलाई ठूलो पिर पारेको थियो। अभिभावकका नाताले त्यो पिर स्वभाविकै थियो। त्यसैले विवाहको खुसी-खुसीमा मात्र सीमित भएन।
तर त्यसका अतिरिक्त बुवालाई विवाहको माहोलमा खुसी हुन नदिनमा सामाजिक परिवेश पनि उत्तिकै जिम्मेवार थियो। समाज विकसित हुनलाई छोराछोरी दुवैलाई बिना भेदभाव समान व्यवहार गर्नुपर्छ भन्ने हाम्रो समाजले जतिसुकै समानताका कुरा गरे पनि व्यवहारमा लागु गर्न सकेको छैन। जतिसुकै शिक्षित भए पनि छोरीको विवाहको प्रसंग उठाउने बित्तिकै केटो के काम गर्छ? भन्ने जिज्ञासा राख्ने चलन यथावत् छ।
छोरीको विवाह पक्का भएपछि समाजको प्राथमिकतामा पर्ने हुनेवाला ज्वाइँ के काम गर्छन्? भन्ने प्रश्नको उत्तर नहुँदा बुवा निराश हुनुहुन्थ्यो। हुनेवाला ज्वाइँको काम खोज्ने प्रवृत्तिका कारण गर्वसाथ छोरीको विवाह छ भन्ने अवसरबाट वन्चित हुनुभयो। उहाँले बेहोर्नु भएको पीडाको प्रत्यक्षदर्शी म आफै पनि थिएँ।
एक पटक विवाहको सामान किन्न बिर्तामोडको पसलमा पुगेपछि, 'ल दाइ, बधाई छ। छोरीपट्टिको सम्धी बन्नुभएछ। अभिभावकको ठूलो जिम्मेवारी पूरा हुने भो। अनि हुनेवाला ज्वाइँ के काम गर्छन्? घर कता छ? परिवार कस्तो हो? पढेकी, जिल्लाको विद्यार्थी राजनीतिमा सक्रिय छोरी पक्का पनि गतिलो काम गर्नेलाई नै दिनुभयो होला?' भनेर चिरपरिचित पसलधनीले सोधखोज गर्नुभयो।
मेरो अनुहारमा पुलुक्क हेरेर बुवाले हुनेवाला ज्वाइँ पढ्ने काम गर्दैहुनुहुन्छ मात्र के भन्नुभएको थियो त्यो कुराले त्यहाँ ठूलै चर्चा पायो। बुवाले फेरि पनि 'छोरी-ज्वाइँलाई दिने हो। गतिलो कामलाई होइन। पढिसकेर विस्तारै काम गर्छन् नि' समेत भन्नुभयो। तर पसलधनी भलाद्मीले बुबाका कुरा नपत्याएर उल्टै 'कसरी बेजोगारलाई छोरी सुम्पिनु भयो?' भन्नुभयो।
बुवाले सही कुरा भनिरहँदा पनि फेरि-फेरि त्यही विषयमा कुरा भइरहे। बेरोजगारसँग विवाह गर्ने मेरो निर्णयले बुवालाई अचानु सावित गरी अनावश्यक बहस गर्न बाध्य पारिरेको थियो। बेरोजगारसँग विवाह गर्ने मेरो निर्णयमाथि त्यहाँ निकै चर्को वादविवाद नै भयो।
त्यसैले विवादलाई साम्य पार्ने कोसिस गर्दै माहोललाई सहज बनाउने उद्देयले, 'यो मेरो निर्णय हो, हामी दुवैजना सँगै पढ्दैछौं, एकअर्कालाई जान्दछौँ। केही भन्नुछ भने मलाई भन्नुहोस्, किन बुवालाई भन्नुहुन्छ?' भनेपछि माहोल त शान्त भयो।
तर 'दाइ छोरीले आफूसँग पढ्ने सहपाठी नै रोजेकी भए पनि तपाईंले कसरी बेरोजगारलाई ज्वाइँ स्विकार्नु भयो? छोरीको गलत निर्णयमा साथदिएर तपाईंले आफै खुट्टामा बन्चरो हान्नु भएछ। आशा गर्छु तपाईंले चालेको यो कदमले भविष्यमा पछुताउनु नपरोस्' भन्नुभयो।
सानैदेखि चिनेर होला सायद उहाँलाई मेरो भविष्यको ठूलै चिन्ता भएछ क्यारे। जिल्लाको राजनीतिमा सक्रिय, स्वव्यवसाय गर्दै समाजमा इज्जतसाथ बस्नुभएको उहाँ कहलिएको शिक्षित, प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो। उहाँजस्तो समाजिक व्यक्तिको नै सोचाइ त्यस्तो थियो भने अरूको के कुरा?
एकातिर शुभचिन्तक र आफन्तहरु बुवाको आलो घाउमा नुनचुक छर्कंदै आफूले ल्याएका राम्रा, रोजगारवाला व्यक्तिहरूलाई फर्काएकामा 'त्यति धेरै राम्रा-राम्रा सम्बन्धहरुलाई मतलब गरेनन्। अन्त्यमा छोरीको विवाह त बेरोजगारसँग पो गर्ने भएछन्। हुनेवाला ज्वाइँ पढ्दै मात्रै छन् रे, भेटेछन् बुढाले' भनेर बदलास्वरुप खुच्चिङ मनाउँदै थिए भने अर्कातिर विवश बुवा छोरीको विवाह लुकाएर पनि नहुने, विवाह छ है भनेर गर्वसाथ खुसी हुन नपाउने अवस्थाबाट गुज्रिरहनु भएको थियो।
विचरा बुवा, हरेक दिन बेरोजगारसँग विवाह गर्ने मेरो निर्णयमा मकै पिस्दा घुन पिसिएजस्तै भएर विवाहको दिन पर्खेर बस्नुभयो। बुवाले एउटै छोरीको विवाहमा जुन खुसी पाउनुपर्थ्यो त्यो खुसीमा पूर्णिमाको जूनमा ग्रहण लागेर अन्धकार भएजस्तो भयो। विवाहले ल्याएको खुसी 'हुनेवाला ज्वाइँ बेरोजगार' भन्ने एउटै शब्दले लुटेको नियालिरहेकी म बुवाको अवस्था देखेर दुःखी थिएँ।
तर अहिले भदैनीको विवाहमा सबैबाट हर्षबढाइ पाएसँगै परिवारका सबैमा असीमित खुसी छाएको अवस्था छ। मेरो विवाहको समयमा बुवाले नपाएको त्यो खुसी आज दाइले भने प्रयाप्त मात्रामा पाएको छ। आखिर छोरीकै विवाह हो तर बुवाहरूले पाउने खुसीमा किन यति धेरै फरक छ? खुसी फरक पर्नुमा दोष कसको छ? बेरोजगारसँग विवाह गर्ने मेरो स्वनिर्णयको? जसका कारण बुवाले खुसी हुने वातावरण पाउनु भएन वा त्यो समाजिक परिवेशको जसले रोजगारवाला ज्वाइँलाई मात्र महत्व दिन्छ? वा हाम्रो आफ्नै सोचाइको जसले तत्कालको खुसीलाई भोलि आउनसक्ने समस्याहरूसँग तुलनागरी खुसी हुन दिँदैन?
छोरीको विवाह पक्का भयो भन्दा हुनेवाला ज्वाइँको काम नखोज्ने समाज कहिले निर्माण होला? छोरीको विवाहको खुसीमा मात्रै रमाउने दिन कहिले आउला? तर लाग्छ, विडम्बना उस्तै छ। भदैनीले विदेशमा बस्नेसँग विवाह गर्ने निर्णय गरेसँगै पूरै गाउँ, इष्टमित्र, आफन्तहरूबाट बधाईको ओहिरो आइरहेका कुरा प्रत्येक दिन हुने फोनमार्फत सुन्दैछु। अझैसम्म हाम्रो समाजले विवाहको विषयलाई लिएर हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेको प्रयाप्त प्रमाण फोन संवादहरूले दिइरहेका छन्।