गीत-संगीतमा देखिएको विकृति र विसंगति न्यूनीकरणको मागसहित संगीतकर्मीहरू गृह मन्त्रालय पुगेका छन्।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टोलीसहित अन्य संगीतकर्मीहरू बिहीबार गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकलाई भेट्दै सांगीतिक क्षेत्रको विकृति रोक्न राज्यले कदम चालिदिन आग्रह गरेका हुन्।
खासगरी लोकदोहोरी र त्यसमा पनि पर्व विशेष गीतका नाममा अपाच्य शब्द र उच्छृङ्खल भिडिओ भएका गीत आइरहेकाले यसको न्यूनीकरणका लागि राज्यका निकायले पहल गरिदिन संगीतकर्मीहरूले आग्रह गरेका छन्।
पर्व विशेष (खासगरी तीज) गीतमा उच्छृङ्खल देखिएको भन्दै यो संस्कृतिमाथिको प्रहार भएकाले त्यस्ता गीत रोकिदिन र ल्याउनेलाई कारबाही गर्न गृहमन्त्री लेखकसँग संगीतकर्मीहरूले आग्रह गरे।
गृहमन्त्री लेखकसहित प्रहरी महानिरीक्षक दीपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्याल लगायतसँग पनि मन्त्रालयमा छलफल भएको दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन्।
'विशेष गरी लोक संगीत र पर्व विशेष गीतमा देखिएको विकृतिबारे ध्यानाकर्षण गरायौं। यसलाई रोकिदिन र विकृतिजन्य गीत ल्याउनेलाई कारबाही गर्न माग गर्यौं,' रिताले सेतोपाटीसँग भनिन्, 'गृहमन्त्रीज्यूले प्रहरी प्रशासनतर्फ उच्च पदमा रहनु भएका सबैलाई बोलाइदिनुभएको थियो। उहाँहरूसँग पनि छलफल भयो। गृहमन्त्रीसहित सबैले सकारात्मक प्रतिक्रिया दिँदै सहयोगका लागि तयार रहेको बताउनुभयो।'
त्यस क्रममा गृहमन्त्रीले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोकिने बताए।
साथै समाजमा असर गर्ने गीत र व्यक्तिको नाममा निवेदन आएमा कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता गृहमन्त्रीले जनाएका छन्।
'यो गीत, यहाँनिर घृणास्पद छ, यो उचित छैन। यसलाई रोक्नका लागि, त्यस्तो व्यक्तिलाई निरूत्साहित गर्नका लागि साइबर ब्युरोमा जानकारी दिनुपर्यो', गृहमन्त्री लेखकले भने, 'घृणा फैलाउने, अपमान गर्ने, समाज समाजका बीचमा, व्यक्ति–व्यक्ति, भाषाभाषी, भूगोल, जातजातीका बीचमा कुनै पनि गलत, घृणा हुने, अपमान हुने किसिमका अभिव्यक्ति, विषयवस्तु साइबर ब्युरोले हेर्छ।'
दोहोरी गीत प्रतिष्ठान कारबाही गर्ने अधिकारी प्राप्त भएको संस्था नभएका कारण पनि आफूहरू गृह मन्त्रालयसम्म पुग्नुपरेको अध्यक्ष रिताले बताइन्। उनका अनुसार उच्छृङ्खल गीत ल्याउनेविरूद्ध अब प्रतिष्ठानले साइबर ब्युरोमा निवेदन दिनेछ।
'पहिले हामीले उच्छृङ्खल गीत ल्याउनेहरूलाई सम्झाउँथ्यौं। केहीले त गल्ती महसुस गरेर सच्चिनुभयो। यद्यपि, कतिपयले अटेर गर्ने, के गर्न सक्छौं गर भन्ने जबाफ दिनुभयो। सम्झाउँदा हामीमाथि नै प्रहार भएकाले प्रहरी प्रशासनसम्म पुगेका हौं', रिता भन्छिन्, 'निवेदन दिएको खण्डमा कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता पाएका छौं। अब अहिले आइरहेका अपाच्य गीत, भिडिओ ल्याउनेविरूद्ध निवेदन दिनेछौं।'
दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष बद्री पंगेनीले विगतमा पनि यस प्रकारका माग लिएर मन्त्रालय आउने गरेको र हरेक पटक आश्वासन पाउने तर कार्यान्वयन नहुने गुनासो गरे। यसपटक माग पूरा हुने आशा रहेको उनले बताए।
लोकदोहोरी क्षेत्रमा देखिएको विकृति विसंगति न्यूनीकरणका लागि दोहोरीगीत प्रतिष्ठानले विगतदेखि नै पहल गर्दै आएको छ। विगतमा प्रतिष्ठानले व्यक्ति विशेषलाई सचेत गराउने काम समेत गर्दै आएको थियो।
लोक तथा दोहोरीगीत प्रतिष्ठानका पदाधिकारीसहित, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीसहितका संगीतकर्मीहरू मन्त्रालय पुगेका थिए।