अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयंकाले कलाकारितामा डेब्यु गरेकी छिन्।
उनले 'बालापनको उमेर-२' गीतको भिडिओमा अभिनय गरेकी हुन्।
यो म्युजिक भिडिओबाट गायक तथा निर्माता सरोज ओलीकी ६ वर्षीया छोरी आन्भीले पनि कलाकारितामा डेब्यु गरेकी छिन्।
आन्भी भिडिओको मुख्य कलाकार हुन्। यसको भिडिओमा प्रियंकाको पनि अभिनय छ। कोरसमा थुप्रै बालिकाको नृत्य हेर्न सकिन्छ।
सुरक्षा बाठा मगरको स्वर रहेको यो गीत शुक्रबार मात्रै युट्युबमा रिलिज भएको छ। बसन्त सापकोटाको शब्द र संगीत रहेको गीत महाराज थापाले एरेन्ज गरेका हुन्।
६ वर्षअघि रिलिज फिल्म 'नाइँ नभन्नु ल ५’ मा समावेश 'बालापनको उमेर' गीतले निकै चर्चा पाएको थियो। वसन्त सापकोटाकै शब्द तथा संगीत रहेको गीतबाट समीक्षा अधिकारीले गायनमा पाइला चालेकी थिइन्।
'बालापनको उमेर–२' को कुरा गर्दा भिडिओ मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। यसमा नवराज उप्रेती र सुनिल भण्डारीको सिनेमाटोग्राफी, भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन छ।