गायक तथा अभिनेता प्रकाश सपुतले गत शुक्रबार राती नयाँ गीत 'नाइँ भनेसी नाइँ' सार्वजनिक गरे। आफ्नो पाँच वर्षअघिको गीत 'बदला बरिलै' को दोस्रो भागका रूपमा उनले यो गीत ल्याएका हुन्।
आफ्ना प्रायः गीतबाट चर्चा पाउँदै आएका प्रकाश पछिल्लो समय फिल्ममा व्यस्त बनेपछि सांगीतिक क्षेत्रबाट केही सुस्ताएका थिए। उनले झन्डै एक वर्षयता म्युजिक भिडिओ ल्याएका थिएनन्। जसका कारण पनि उनको पछिल्लो गीतलाई थप प्रतीक्षित मानिएको थियो। तीजविशेष गीत ‘नाइँ भनेसी नाइँ’ लाई लिएर रिलिजअघि चर्चा समेत भएको थियो।
खासगरी अभिनेत्री रेखा थापाले अभिनय गरेका कारण पनि रिलिजअघि यसको थप चर्चा थियो। किनकि यो रेखाको करिअरकै दोस्रो म्युजिक भिडिओ हो।
यो गीतको भिडिओलाई सोमबार दिउँसोसम्म युट्युबमा ४ लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ। बजारमा आइरहेका गीतको तुलनामा यसको भ्युज राम्रो भए पनि प्रकाश सपुतको सन्दर्भमा भने यो अपेक्षित होइन।
यसअघि उनका थुप्रै गीतले रिलिजसँगै चर्चा पाउनुका साथै २४ घण्टामै १० लाख बढी भ्युज पाएका थिए। 'सकम्बरी' गीतकै कुरा गर्दा यसले रिलिजको २४ घण्टामा १० लाख बढी भ्युज पाएको थियो भने रिलिजको एक सातामा युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको थियो।
प्रकाशका विगतका गीतको तुलनामा अहिलेको गीतको प्रारम्भिक चर्चा र भ्युज अपेक्षित नदेखिएको हो। यद्यपि, गीतलाई लिएर आएका प्रतिक्रिया भने सकारात्मक छन्।
अधिकांशले गीत सन्देशमूलक रहेको भन्दै खुलेर प्रशंसा गरेका छन्। यो गीतमा आफ्नो शरिरमा आफ्नै अधिकार हुन्छ भन्ने सन्देश दिन खोजिएको छ। यसमा प्रकाशले जबरजस्तीकरणी विरूद्दको आवाज उठाएका छन्।
'नाइँ भनेसी नाइँ' मा शब्द तथा संगीत प्रकाश सपुतको छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन्। भिडिओमा रेखासहित सिम्रन खड्का, संजोग रसाइली, प्रकाश सपुतलगायत छन्।
प्रकाश यतिबेला संगीतभन्दा फिल्ममा बढी व्यस्त छन्। दसैंको फूलपातीमा उनी अभिनीत दुई फिल्म 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' एकैदिन रिलिज हुँदैछन्।