सुपरहिट हिन्दी फिल्म 'सैयारा' ले प्रदर्शनको क्रममा धेरै कीर्तिमानहरू तोड्दै ५७० करोड भारू ग्रस कमाएको छ।
नयाँ कलाकारहरू अहान पाण्डे र अनित पड्डा अभिनीत फिल्मले बलिउडका कयौं सफल फिल्महरूलाई समेत पछि पारेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार 'सैयारा' ४८ दिनसम्म सिनेमाघरमा चल्यो। र, यो फिल्मले भारतमा ३२९.२५ करोड भारू नेट कमाइ गर्यो। यसले सलमान खानको 'सुल्तान' (३०० करोड), सञ्जय लीला भन्सालीको 'पद्मावत' (३०२ करोड) र कार्तिक आर्यनको 'भूल भुलैया ३' (२६० करोड) जस्ता ठूला बजेटका फिल्महरूलाई पछि पार्दै घरेलु बजारमा १४ औँ सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको छ।
विश्वव्यापी गरेर 'सैयारा' ले ५७० करोड भारू कमाएको हो। योसँगै 'सैयारा' यस वर्ष ‘छावा’ पछि दोस्रो सर्वाधिक कमाउने भारतीय फिल्म बनेको छ।
५७० करोड कमाइ 'डंकी' (४५५ करोड), 'टाइगर जिन्दा हे' (५५८ करोड) र 'ब्रह्मास्त्र' (४३१ करोड) जस्ता हालैका हिट फिल्महरू साथै 'थ्री इडियट्स' (४६० करोड) र 'चेन्नई एक्सप्रेस' (४२२ करोड) जस्ता ब्लकबस्टरहरू भन्दा बढी हो।
'सैयारा' भारतीय फिल्मको इतिहासमा सर्वाधिक कमाउने प्रेम कथानक फिल्म समेत बनेको छ। जसले 'कबिर सिंह' को ३७७ करोडको लाइफटाइम कलेक्सनलाई उछिनेको छ।
यो मुख्य भूमिकामा नवप्रवेशी कलाकारहरू रहेको सर्वाधिक कमाउने फिल्म पनि हो, जसले २०१२ मा 'स्टुडेन्ट अफ द इयर' ले बनाएको १०९ करोडको कीर्तिमानलाई तोडेको छ।
मोहित सुरीद्वारा निर्देशित 'सैयारा' एक गायक र एक गीतकारको प्रेम कहानी हो। नेपालमा पनि फिल्मले आक्रामक व्यापार गरेको थियो।