भारतीय फिल्म 'सैयारा' को कमाइ एक सय ५० करोड नाघेको छ।
पहिलो दिनदेखि नै राम्रो कमाइ गरेको फिल्मले ६ दिनमा भारतमा एक सय ५५ करोड ७५ लाख भारू नेट कमाइ गरेको हो। फिल्मले बुधबार २२ करोड कमाइ गर्यो।
रिलिजको पहिलो दिन शुक्रबार फिल्मले २२ करोड भारू कमाएको थियो। शनिबार फिल्मले २६ करोड २५ लाख, आइतबार ३६ करोड २५ लाख, सोमबार २४ करोड २५ लाख र मंगलबार २५ करोड भारू कमाइ गर्यो। फिल्मको पहिलो हप्ताको कमाइ १ सय ७५ करोड हाराहारी पुग्ने अनुमान गरिएको छ।
म्युजिकल लभस्टोरी यो फिल्मलाई खासगरी युवापुस्ताले निकै रूचाएका छन्।
यशराज फिल्मस्को ब्यानरमा बनेको 'सैयारा' मोहित सुरीले निर्देशन गरेका हुन्। यसमा अहान पाण्डे र अनित पड्डाले मुख्य भूमिकामा अभिनय गरेका छन्। नव कलाकारहरू अभिनीत फिल्मका लागि 'सैयारा' को कमाइ अभूतपूर्व उपलब्धी मानिएको छ।
नेपालमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ। फिल्मको शोहरू हाउसफुल देखिएका छन्।