पहिलो नेपाल आईडल विश्व संगित यात्रा भोलि (शुक्रबार) युएईको अबुधाबीबाट सुरू हुने भएको छ।
नेपाल आईडल विजेता बुद्ध लामा , फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासले शुक्रबार नेपाल आईडल लाईभ मार्फत एकसाथ पहिलो अन्तराष्ट्रिय शो गर्न लागेका हुन् ।
एभरेष्ट मिडियाले आयोजना गरेको नेपाल आईडल लाईभमा नेपाल आईडलका उत्कृष्ट ३ का बाहेक प्रमिला राई र अफ्सर अलि समेत सहभागी हुनेछन् ।
नेपाल आईडलको टोलीमा कार्यक्रम संचालक सुशिल नेपाल र सुदीप पोखरेलसँगै गायिका तृष्णा गुरुङको विशेष प्रस्तुति रहने आयोजक एभरेष्ट मिडियाले जनाएको छ । कार्यक्रममा नेपाल आईडलका निर्देशक लक्ष्मण पौडेल र साथमा एपीवान टेलिभिजनका प्रतिनिधिहरू समेत सहभागी हुने बताईएको छ ।
करीब ५ हजार नेपालीले नेपाल आईडलको समूहसँग नाचेर, झुमेर मनोरञ्जन लिने आयोजक एभरेष्ट मिडियाका प्रनव ओलीले बताए । शुक्रबार अबुधाबीको नेशनल थिएटरमा हुने भनिएको कार्यक्रम दर्शक नअट्ने भएपछि कन्ट्री क्लब स्टेडियममा सारिएको उनले जानकारी दिए ।
यो टोलीले अबुधाबीको कार्यक्रम सकेर शनिबार पुनः दुबईमा कार्यक्रम गर्ने छ । शनिबार दुबईको रोयल अस्कोटमा रहेको स्पृ द क्लबमा नेपाल आईडल लाईभ कार्यक्रम हुने छ ।