फिल्म 'परान' ले अभूतपूर्व व्यापार गरिरहेको छ। सुरूका दिनमा दर्शक नपाएको फिल्मले बलियो 'वर्ड अफ माउथ' को साथले पिकअप लिएको हो। फिल्म गत शुक्रबारदेखि तेस्रो सातामा प्रदर्शनरत छ।
तेस्रो सातासम्म आउँदा पनि फिल्मको व्यापार उत्साहजनक छ। शनिबार त फिल्मले देशभर 'हाउसफुल' व्यापार गर्यो।
निर्माण पक्षका अनुसार फिल्मले शनिबार (१६ औं दिन)सम्म १० करोड रूपैयाँमाथिको व्यापार गरेको छ।
निर्माताले शनिबार बेलुका एक पोस्टर सार्वजनिक गर्दै फिल्म १० करोड क्लबमा प्रवेश गरेको बताएका हुन्।
यद्यपि, चलचित्र विकास बोर्डले भने फिल्मको तेस्रो शनिबारसम्मको कुल ग्रस कमाइ सोमबार दिउँसो सार्वजनिक गर्नेछ।
दीपक आचार्य (काकु) निर्देशित यो फिल्म कात्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो।
शेखर गोल्छा र रञ्जित आचार्य निर्माता रहेको 'परान' मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडालगायत कलाकारहरूको अभिनय छ।
