गायक प्रकाश सपुतले 'परदेशी २' बाट अभिनेताका रूपमा फिल्ममा डेब्यु गरे। पहिलो फिल्म बक्स अफिसमा हिट भयो।
उनले दोस्रो फिल्म गरे, 'पूर्णबहादुरको सारंगी'। अहिले हलमा लागिरहेको यो फिल्मले बक्स अफिसमा सर्वाधिक कमाइसहितका विभिन्न रेकर्ड बनाएको छ।
प्रकाश यतिबेला आफ्नै निर्देशनमा फिल्म 'वसन्त' बनाइरहेका छन्। यो फिल्म चैतमा प्रदर्शनमा आउनेछ।
उनले दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म 'हरिबहादुरको जुत्ता' साइन गरिसकेका छन्। प्रकाश अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म 'सोल्टिनी' मा पनि जोडिएको बुझिएको छ।
यस्तै, उनले रोहित अधिकारीको फिल्म 'माइतीघर' मा पनि काम गर्ने तयारी छ। निर्माता अधिकारीका अनुसार प्रकाशसँग मौखिक कुराकानी भइसकेको छ।
'उहाँ फिल्म खेल्न सहमत हुनुहुन्छ। यद्यपि कागजी सम्झौता हुन बाँकी छ,' अधिकारीले भने।
यो फिल्ममा यसअघि केदार घिमिरे माग्नेबुढा र उपासना सिंह ठकुरी अनुबन्धित भइसकेका छन्।
फिल्ममा व्यस्तता बढेपछि प्रकाश सपुत पछिल्लो समय मेला/महोत्सवमा समेत देखिएका छैनन्। उनले अफिसियल गीत नल्याएको पनि १ वर्ष हुन लागेको छ।