३४ दिनपछि पहिलोपटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते आफूमाथि ज्यान लिने उद्देश्यले सांघातिक हमला भएको बताएका छन्।
मंगलबार सानेपामा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले आफू बाँचेर केन्द्रीय समिति बैठकमा आएको बताएका हुन्।
'ममाथि ज्यान लिने गरी हमला भयो। सुरक्षाकर्मीले उद्धार गर्नुभयो,' उनले भने।
यद्यपि यसलाई आफूले सामान्य रूपमा लिएको देउवाले बताए।
‘वैचारिक अडान लिने व्यक्तिको जीवनमा आरोह, अवरोह आइरहन्छ, यसलाई मैले सहज रूपमा लिएको छु,’ उनले बैठकमा भने।
उनले आफ्नो बूढानीलकण्ठस्थित निवासमा पैसा जल्दै गरेको भनिएको भिडिओ फेक भएको पनि बताए।
सभापति देउवाले आफ्नो कार्यकालमा केही कमजोरी, त्रुटि भएको हुनसक्ने तर देशलाई घात हुने काम नगरेको बताए।
देउवामाथि भदौ २४ गते जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए।
बूढानीलकण्ठस्थित घरमा देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण भएको थियो।
टाउकोमा चोट लागेको उनी ३४ दिनपछि मंगलबार सार्वजनिक भएका हुन्।