नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा दिएको मन्तव्यमा तीन वटा कुरा महत्त्वपूर्ण थिए —
पहिलो, उनले आफ्नो मन्तव्यमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरे।
दोस्रो, विधानले तोकेको अवधिभित्र १५ औं महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।
तेस्रो, फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भाग लिने उल्लेख गर्दै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन भएको बताए।
सभापतिको यो मन्तव्यले पछिल्लो समय कांग्रेसमा चुलिएको विवादले 'सुरक्षित अवतरण' गरेको नेताहरूले बताएका छन्।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूबाट भौतिक आक्रमणको सिकार भएपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका सभापति देउवाको मन्तव्यमा यी तीन कुरा कसरी परे त?
कांग्रेसमा अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने र विशेष महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा विवाद चलिरहेको छ।
मंसिरभित्रै नियमित महाधिवेशन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन्। नेता शेखर कोइराला पनि यही लाइनमा छन्।
सभापति देउवा विधानअनुसार १५ औं महाधिवेशन गराउन तयार देखिएका छन्। सभापति देउवा पक्षका अधिकांश पदाधिकारीहरू भने मंसिरभित्र महाधिवेशन गर्न तयारी नपुग्ने बताउँदै चुनावका लागि लाग्ने समय राखेर महाधिवेशन गर्न सकिनेमा छन्।
प्रवक्ता प्रकाशशरण महतले नियमित महाधिवेशन गर्ने पक्षमा सबै रहेको बताउँदै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सक्न लाग्ने समय लिएर महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताए। अहिलेसम्म २५ जिल्लाले क्रियाशील सदस्यता नवीकरण गरिसकेको छ भने नयाँ क्रियाशील सदस्यता वितरणको काम नै सुरू भएको छैन। यसका लागि केही समय चाहिने प्रवक्ता महत बताउँछन्।
महामन्त्रीद्वय थापा र शर्मा भने मंसिरभित्रै नियमित महाधिवेशनका पक्षमा छन्। सोहीअनुसार बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा उनीहरू छन्। मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा पनि महामन्त्रीद्वय थापा र शर्मा छन्।
संस्थापन पक्षका नेताहरू भने महामन्त्री थापाले समयबद्ध काम गर्न नसक्दा क्रियाशील सदस्यता नवीकरणको काम पूरा हुन नसकेको दाबी गर्दै आएका छन्।
विशेष महाधिवेशनका लागि कांग्रेसमा मंगलबार दिउँसोसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यही हस्ताक्षर आज बुझाउने तयारी भए पनि बुधबार अपराह्न ३ बजे हस्ताक्षर बुझाउन समय दिइएको नेताहरूले बताएका छन्।
यसअघि महाधिवेशन प्रतिनिधिहरूले सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि र मंगलबारको केन्द्रीय समिति बैठक सुरू हुनुअघि नै उक्त हस्ताक्षर पार्टी कार्यालयमा बुझाउन खोजेका थिए। सोमबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेन, बैठक स्थगित गरेर नेताहरू भेटवार्तामा व्यस्त रहेका थिए।
आज केन्द्रीय समिति बैठकअघि विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउने तयारी महाधिवेशन प्रतिनिधिहरूको थियो।तर यसो गर्दा पार्टी सभापति देउवाको मन्तव्यकै बीचमा भाँडभैला हुन सक्ने अवस्था देखियो।
त्यही भएर सहमतिको बाटो खोज्न केन्द्रीय समिति बैठक सुरू हुनुअघि सभापति देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही पदाधिकारीबीच भेटवार्ता भएको थियो।
दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकलाई केही बेर पछाडि धकेलेर सभापति देउवाले सीमित पदाधिकारीलाई आफू नेतृत्वबाट बहिर्गमनदेखि फागुन २१ को चुनावबारे धारणा दिने बताएका थिए।
कांग्रेस स्रोतका अनुसार सभापति देउवासँगको छलफलमा महामन्त्रीद्वयले नेतृत्वबाट अब सभापति देउवाले बिदा लिनुपर्ने र त्यसका लागि मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने कुरा राखेका थिए।
फागुन २१ का लागि सरकारले चुनाव घोषणा गरेकोले मंसिरभित्रै पार्टी नेतृत्व परिवर्तन गरी उक्त चुनावमा होमिनुपर्ने कुरा महामन्त्रीद्वयले सभापति देउवासँग राखेका थिए।
महामन्त्रीद्वयसँग छलफलमा भएको कुराकानीलाई सम्बोधन गर्ने कुरा सभापति देउवाको मन्तव्यमा समेटिएको छ।
देउवाले केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने मन्तव्यको भाषा तयार पारेपछि दुवै महामन्त्रीसहित पदाधिकारीलाई पनि त्यसबारे जानकारी गराइएको थियो।
जसमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिने कुरा थियो भने सरकारले सुरक्षाको वातावरण बनाउन सके चुनावमा भाग लिने कुरा समेटिएको छ।
यही आधारमा मंगलबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि नै विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाउने कार्यक्रम पछाडि सारिएको थियो। अब बुधबार अपराह्न ३ बजे विशेष महाधिवेशन माग गर्न महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाउनेछन्।
मंगलबार दिउँसोसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन्। यो संख्या अझै बढ्ने नेताहरू बताउँछन्।
कांग्रेसमा २०७८ सालमा १४ औं महाधिवेशन गर्दा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। त्यसमध्ये ४६ जनाको मृत्यु भएको छ भने ६८ जनाले दल त्याग गरेका छन्।
अहिले कायम महाधिवेशन प्रतिनिधि ४५५६ जना छन्। जसमध्ये २४८७ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्।
'आजको केन्द्रीय समिति बैठकमा सभापति देउवा बोल्नुअघि नै हस्ताक्षर बुझाउने स्थिति बनेको भए विवाद चुलिन्थ्यो, बैठकमै भाँडभैलो हुन्थ्यो तर सभापति देउवासँग विभिन्न विषयमा एकखाले समझदारी बनेपछि बैठक सकेर कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाउने कुरा भएको हो,' पार्टीका एक पदाधिकारीले भने।
महाधिवेशन प्रतिनिधिहरूको यो हस्ताक्षरले पार्टीको नियमित महाधिवेशन डाक्न दबाबको काम गरेको ती नेताले बताए।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका बेला सभापति देउवामाथि आक्रमण र घरमा आगजनी भएको थियो।
सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। उनी त्यसयता ३४ दिनसम्म सार्वजनिक रूपमा देखिएका थिएनन्।
सभापति देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन र पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राख्दै आएका थिए। तर केन्द्रीय समितिको एजेन्डा भने तय हुन सकिरहेको अवस्था थिएन।
यसबीच उपसभापति खड्काले सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठक रोकेर सभापति देउवासँग छलफल अघि बढाएका थिए।
सँगै उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरिरहेका थिए।
सभापति देउवा र महामन्त्रीद्वयसँग संवाद गरिरहेका खड्काकै पहलमा सभापति देउवा र महामन्त्रीहरूबीच कुराकानीको वातावरण बनेको थियो।
‘सभापतिज्यू र महामन्त्रीहरूबीचमा संवादको पहल उपसभापति पूर्णबहादुर खड्काले नै लिनुभएको हो,’ एक जना पदाधिकारीले सेतोपाटीसँग भने, ‘सुरूमा सभापतिज्यूले महामन्त्री विश्वप्रकाश शर्मासँग कुरा गर्नुभयो। त्यसपछि अर्का महामन्त्री गगन थापासँग कुरा गर्नुभयो। त्यसपछि दुवै महामन्त्रीहरूसँग केन्द्रीय समितिका एजेन्डाबारे कुरा भएको थियो।’
सभापति देउवाले महामन्त्रीहरूसँगको भेटमा विशेष महाधिवेशनका लागि किन हस्ताक्षर गराएको भनेर सोधेका थिए।
‘म नियमित महाधिवेशन गराइहाल्थें नि!, किन विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिराख्नुपर्थ्यो?,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘विधानअनुसार महाधिवेशन हुन्छ भनेर वर्षौंदेखि भन्दै आइरहेको छु।’
महामन्त्री थापाले भने आफूहरूले भन्दा पनि महाधिवेशन प्रतिनिधिहरूले विधानकै व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गरिराखेको कुरा सभापति देउवालाई सुनाएका थिए।