विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा निर्मित फिल्म 'मैझारो' को ट्रेलर सार्वजनिक भएको छ।
निर्माण टिमले मंगलबार सार्वजनिक गरेको ३ मिनेट ४९ सेकेन्डको ट्रेलरमा प्रेमका लागि गरिने संघर्ष र त्यसबाट उत्पन्न हुने समस्याहरूलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू धीरज मगर, मिरूना मगर, दीया पुनदेखि दयाहाङ राईसम्मको अभिनय देख्न सकिन्छ। निर्देशक विल्सन आफैंले पनि फिल्ममा अभिनय गरेका छन्। यसअघि सार्वजनिक टिजरमा भने विल्सन र दयाहाङ देखिएका थिएनन्।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको 'मैझारो' मा बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरूङ, अभयराज बराल, माओत्से गुरूङ, कविता आले, रजनी गुरूङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुलगायत कलाकारहरूको पनि अभिनय छ। सौरभ लामाको छायांकन रहेको यस फिल्ममा मित्र डी. गुरूङको सम्पादन छ।
यो फिल्म तिहार भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।