एउटा भनाइ नै छ — जीवन र तनाव एकअर्काका सहयात्री हुन्। जबसम्म जीवन रहन्छ, तनाव सँगसँगै हिँडिरहन्छ।
कतिपय दार्शनिकले भनेका छन्, 'तनावमुक्त जीवन बाँच्ने इच्छा राख्नु आफैमा एउटा तनाव हो।'
आजको व्यस्त जीवनशैली र करिअरमा भोग्नुपर्ने चर्को प्रतिस्पर्धाले त हामी सबै केही न केही तनावसँग जुधिरहेकै छौं। करिअरमा पछि परेकाहरूलाई कसरी अघि बढ्ने भन्ने तनाव छ, करिअरमा स्थापित भइसकेकाहरूलाई साथीभाइ र परिवारसँग कसरी समय बिताउने भन्ने तनाव छ।
त्यसैले तनाव हुनु तनावको कुरा होइन। तनाव हटाउने उपाय नखोज्नु चाहिँ तनावको कुरा हो।
के तपाईंले आफ्नो दिनहुँको दौडादौडबाट उत्पन्न हुने तनाव कम गर्न केही उपाय अपनाउनुभएको छ?
आज म त्यस्तै एउटा उपायबारे चर्चा गर्दैछु।
हामी सबैलाई आफ्नो बाल्यकाल प्रिय लाग्छ। बाल्यकाललाई काँचो माटोसँग तुलना गरिएको पनि हामी सबैले सुनेका छौं।
त्यसो भए काँचो माटोसँग खेल्दै, त्यसलाई विभिन्न आकृतिमा ढाल्दै आफ्नो प्रिय बाल्यकालमा फर्केको अनुभूति किन नगर्ने?
तपाईंले अहिलेसम्म यस्तो अनुभूति गर्नुभएको छैन भने एकचोटि काँचो माटोमा हात डुबाएर त हेर्नुस्! तपाईंको मन कति शीतल र मस्तिष्क कति चंगा हुन्छ, त्यसपछि भन्नुहोला!

२६ वर्षीया अलिस्था सुवेदीले यसैको निम्ति करिब तीन महिना अघिबाट झोछेँमा 'पोर्टरी स्टुडियो बाई ह्याप्पी स्पेस' सुरू गरेकी छन्।
'अचेल मान्छे दिनरात मोबाइल चलाउँछन्। मोबाइलमा अनेक खालका घटना देख्छन्। त्यसले उनीहरूको तनाव बढ्छ। तनाव मेट्न झन् बढी मोबाइलको सहारा लिन्छन्, अनि झन् तनाव बढाउँछन्,' अलिस्था भन्छिन्, 'मैले तनावबाट नभागी तनाव कम गर्न सकियोस् भनेर पोर्टरी स्टुडियो सुरू गरेकी हुँ।'
मनोविज्ञानमा स्नातकोत्तर गरेकी अलिस्था पोर्टरी अर्थात् माटोको भाँडा बनाउने कलालाई भावना अभिव्यक्त गर्ने माध्यम ठान्छिन्।
उनका अनुसार जसको मन अस्थिर छ, उनीहरूलाई काँचो माटोबाट भाँडा बनाउन सहज हुँदैन। स्थिर मन भएकाहरूले भने सजिलै हात बसाउन सक्छन्।
अलिस्थालाई पहिले डाक्टर बन्ने इच्छा थियो। पछि उनलाई मनोविज्ञान पढ्ने रूचि जाग्यो। मान्छेहरूसँग कुरा गर्न रूचाउने र अरूको भावनामा सहानुभूति राख्ने स्वभावले पनि यो विषयतिर आकर्षित भएको उनको भनाइ छ।
यसबीच उनी आफूलाई मानसिक रूपमा स्फुर्त राख्न तीनवटा काममा नियमित सहभागी हुन्थिन् — पौडी खेल्ने, चित्र बनाउने र किताब पढ्ने।
गत वर्षबाट उनको सूचीमा अर्को एउटा काम पनि जोडियो — पोर्टरी।
पोर्टरीले जस्तोसुकै तनावबीच धैर्य राख्न र ध्यान केन्द्रित गर्न सघाएको उनले अनुभव गरिन्।
आफ्नो त्यही अनुभव अरूसँग बाँड्न स्टुडियो खोल्ने निधो गरेको उनी बताउँछिन्।
'तनावबाट भागेर होइन, तनावकै बीच धैर्य धारण गर्न सक्यौं भने मात्र हामी प्राकृतिक रूपले नै तनाव कम गर्न सक्छौं,' अलिस्थाले भनिन्, 'यो स्टुडियो खोल्नुको मुख्य उद्देश्य, पोर्टरीबाट मैले जस्तो शान्ति र आनन्द अनुभव गरेँ, त्यस्तै अनुभव अरूलाई पनि बाँड्न सकियोस् भनेर हो।'
उनले अगाडि भनिन्, 'यो कामले हाम्रो मानसिक स्वास्थ्यमा सुधार मात्र ल्याउँदैन, सिर्जनात्मक आनन्द पनि दिन्छ। हाम्रो पूरा ध्यान काँचो माटोलाई विभिन्न आकृतिमा ढाल्न केन्द्रित हुन्छ। यसले हामी त्यो अवधिभरि अनावश्यक सोचबाट मुक्त हुन्छौं।'
यो स्टुडिओमा कतिपय मान्छे अलिस्थासँग गफ गर्न र आफ्नो अनुभव बाँड्न पनि आउँछन्।
अलिस्था उनीहरूसँग कुराकानी गर्छिन् र सोध्छिन्, 'तपाईं यसअघि कहिले खुलेर हाँस्नुभएको थियो?'
उनले यस्तो प्रश्न सोध्नुको पनि कारण छ।
मान्छेहरू अचेल आफ्नो पढाइ र करिअरको प्रतिस्पर्धामा यति चुर्लुम्म डुबिसके, धेरैले खुलेर हाँस्न पनि बिर्सिसके। ठुल्ठूला कुराको लालसामा साना साना उपलब्धिलाई सराहना गर्न बिर्सिसके। साना साना उपलब्धिमा खुसी हुन बिर्सिसके।
अलिस्था आफूकहाँ आउने मान्छेहरूलाई यिनै कुरा भनेर खुसी हुन सिकाउँछिन्; हाँस्न सिकाउँछिन्।
'मान्छेको दैनिक जीवनमा थुप्रै यस्ता पल हुन्छन्, जसमा रमाउन सकिन्छ, हाँस्न सकिन्छ। तर त्यस्ता पल भुलेर मान्छेहरू तनावका कुरा मात्र सम्झेर बस्छन्, त्यसैको बोझ मनमा लिएर हिँड्छन्,' उनले भनिन्, 'म मान्छेहरूलाई सारा बोझ फालेर हलुका हुन सिकाउँछु।'


यसरी उनीसँग कुरा गर्न आएका कतिपय ग्राहक बिस्तारै पोर्टरीतिर लागेका उदाहरण पनि छन्।
यसबाहेक लामो बिदामा रहेका केटाकेटीलाई पनि यहाँ पोर्टरी सिकाउन ल्याइन्छ। बिदा बेला केटाकेटीहरू मोबाइलमा झुम्मिएर नबसोस्, बरू कुनै सिप सिकोस् भनेर अभिभावकहरूले यहाँ ल्याउने गरेका छन्।
अलिस्थाले यसअघि सन् २०२४ अगस्टमा साथीहरूसँग मिलेर 'ह्याप्पी स्पेस' नामक संस्था खोलेकी थिइन्। त्यहाँ उनी मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्थिन्। पोर्टरी स्टुडियो त्यही संस्थाको एउटा केन्द्र हो। यहाँ पोर्टरीबाहेक पेन्टिङ र हातमा लगाउने ब्रेस्लेट बनाउन पनि सिकाइन्छ।
उनी यसलाई सिप विकास होइन, मानसिक रूपले स्वस्थ रहने उपायका रूपमा लिन्छिन्।
उनको स्टुडियोमा पोर्टरीका विभिन्न कक्षा चलाइन्छन्। एक घन्टाको १ हजार २ सय रूपैयाँ पर्छ भने २० मिनेटको ५ सय रूपैयाँ पर्छ। स्टुडियोमा आएर बनाएको भाँडा नि:शुल्क घर लैजान पाइन्छ। कतिपय कक्षामा भाग लिन पहिले नै बुकिङ गर्नुपर्छ।
यो स्टुडियो अलिस्थाकै लगानीमा स्थापना भएको हो। यहाँ दैनिक करिब १० जना ग्राहक आउँछन्। स्टुडियोमा प्रयोग गर्न दाङबाट माटो ल्याउने गरेको उनी बताउँछिन्। साताको करिब ५० किलो माटो खपत हुन्छ।
अलिस्थाले सञ्चालन गर्ने कार्यक्रममध्ये 'भेटघाट विथ इमोसन' एकदमै चर्चित छ। यसमा विभिन्न भावनात्मक गतिविधि गराइन्छन्। उनी नेपाली र विदेशीहरूलाई अनलाइन मनोपरामर्श पनि दिन्छिन्।
'मैले आफ्नो कामबाट थोरै भए पनि अरूलाई खुसी दिन सकेकी छु। यसले मलाई नै खुसी दिइरहेको छ,' उनले भनिन्, 'बिस्तारै कर्मचारी थपेर नयाँ ठाउँमा शाखा खोल्ने विचारमा छु।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***







