भदौ २४ गते भौतिक आक्रमणको सिकार भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलो पटक सार्वजनिक रूपमा देखा पर्दै थिए।
पार्टी कार्यालय सानेपामा डाकिएको केन्द्रीय कार्यसमिति बैठकमा उनी उपस्थित हुने कार्यक्रम थियो।
एक महिनाभन्दा बढी समयदेखि सार्वजनिक रूपमा नदेखिएका देउवाको उपस्थितिले मात्र होइन, यसपालिको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अर्को कारणले पनि महत्त्वपूर्ण थियो।
विशेष अधिवेशन माग गर्दै देशभरिबाट संकलन गरिएका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बैठकअघि नै पार्टी कार्यालयमा दर्ता गर्ने तयारीमा नेताहरू थिए।
यसरी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा उपस्थित भएर बोल्नुअघि नै हस्ताक्षर बुझाउने स्थिति बनेको भए विवाद चुलिन्थ्यो। देउवाको मन्तव्यबीचै भाँडभैलो हुन सक्ने अवस्था आउँथ्यो। त्यही भएर पनि मंगलबारको बैठकले धेरैको ध्यान तानेको थियो।
तर बिहानै पार्टीभित्र यस्तो खालको समझदारीको वातावरण बन्यो, जसले आजको केन्द्रीय कार्यसमिति बैठक विवादित हुन पाएन।
यस्तो वातावरण कसरी तयार भयो? क–कसले यसमा भूमिका खेले?
पछिल्लो समय सभापति देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन र पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राख्दै आएका थिए।
उनले नै सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित गरेर समझदारीको वातावरण बनाउन सभापति देउवासँग छलफल अघि बढाएका थिए।
सँगसँगै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि खड्काले कुराकानी गरिरहेको कांग्रेस स्रोत बताउँछ।
स्रोतका अनुसार सभापति देउवा र महामन्त्रीद्वयसँग छुट्टाछुट्टै संवाद गरिरहेका उपसभापति खड्काकै पहलमा सभापति देउवा र महामन्त्रीहरूबीच मंगलबार छलफलको वातावरण बनेको थियो।
त्यसै क्रममा मंगलबार १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक केही समय पछाडि सारियो। बैठक सुरू हुनुअघि सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासहित केही पदाधिकारीसँग भेटवार्ता गरे।
'सभापतिज्यू र महामन्त्रीहरूबीच संवादको पहल उपसभापति पूर्णबहादुर खड्काले नै लिनुभएको हो,' कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने।
उनका अनुसार सुरूमा सभापति देउवाले महामन्त्री विश्वप्रकाश शर्मासँग कुरा गरेका थिए। त्यसपछि अर्का महामन्त्री गगन थापासँग कुरा गरे। अनि दुवै महामन्त्रीसँग केन्द्रीय समितिका एजेन्डाबारे कुराकानी भएको ती पदाधिकारीले जानकारी दिए।
सभापति देउवाले महामन्त्रीहरूसँगको भेटमा विशेष महाधिवेशनका लागि किन हस्ताक्षर गराएको भनेर सोधेका थिए।
'म नियमित महाधिवेशन गराइहाल्थेँ नि! किन विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिराख्नुपर्थ्यो?' सभापति देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'विधान अनुसार महाधिवेशन हुन्छ भनेर वर्षौंदेखि भन्दै आइरहेकै छु।'
यसको जबाफमा महामन्त्री थापाले आफूहरूले भन्दा पनि महाधिवेशन प्रतिनिधिहरूले विधानकै व्यवस्था अनुसार विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गरिराखेको सभापति देउवालाई सुनाएका थिए।
उक्त भेटवार्तामै देउवाले दुई महामन्त्रीसहित पदाधिकारीहरूलाई नेतृत्वबाट बहिर्गमनदेखि नियमित महाधिवशेन र फागुन २१ को प्रतिनिधिसभा चुनावमा भाग लिनेबारे आफ्नो धारणा राखेका थिए। यही कुरा केन्द्रीय कार्यसमिति बैठकमा पनि बोल्ने आफ्नो तयारी रहेको उनले बताएका थिए।
त्यसपछि देउवाले बैठकमा बोल्ने आफ्नो मन्तव्यको भाषा दुवै महामन्त्रीसहित पदाधिकारीहरूलाई पनि जानकारी गराएको स्रोत बताउँछ।
यसरी उपसभापति खड्काले सभापति देउवा र दुई महामन्त्रीबीच समन्वय गराएर फाइनल गरिएको देउवाको भाषणले समझदारीको बाटो बन्यो। त्यसपछि आजको केन्द्रीय कार्यसमिति बैठकअघि विशेष महाधिवेशन आह्वानको हस्ताक्षर बुझाउने कार्यक्रमलाई बैठक पछाडि सारियो।
'सभापति देउवासँग विभिन्न विषयमा समझदारी बनेपछि नै बैठक सकेर कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाउने कुरा भएको हो,' पार्टीका एक पदाधिकारीले भने।
देउवा निवासमा भएको उक्त छलफल सकेर महामन्त्रीद्वय र अन्य पदाधिकारीहरू पार्टी कार्यालय सानेपा आए। त्यति बेलासम्म पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरू भेला भइसकेका थिए। अलि बेरपछि सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवा पनि पार्टी कार्यालय आए।
देउवाले त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा दिएको मन्तव्यमा तीन वटा महत्त्वपूर्ण कुरा भने —
पहिलो, उनले आफ्नो मन्तव्यमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरे।
दोस्रो, विधानले तोकेको अवधिभित्र १५औं महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।
तेस्रो, फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भाग लिने उल्लेख गर्दै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन भएको बताए।
सभापतिको यो मन्तव्यले पछिल्लो समय कांग्रेसमा चुलिएको विवादले 'सुरक्षित अवतरण' गरेको नेताहरूले बताएका छन्।
कांग्रेसमा मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने र विशेष महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा विवाद चलिरहेको थियो। मंसिरभित्रै नियमित महाधिवेशन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन्। नेता शेखर कोइराला पनि यही लाइनमा छन्।
सभापति देउवा पनि अब विधानअनुसार १५औं महाधिवेशन गराउन तयार देखिएका छन्। देउवा पक्षका अधिकांश पदाधिकारी भने मंसिरभित्र महाधिवेशन गर्न तयारी नपुग्ने भन्दै चुनावका लागि लाग्ने समय राखेर महाधिवेशन गर्न सकिनेमा छन्।
प्रवक्ता प्रकाशशरण महतले नियमित महाधिवेशन गर्ने पक्षमा सबै रहेको बताउँदै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सक्न लाग्ने समय लिएर महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताएका छन्।
अहिलेसम्म २५ जिल्लाले क्रियाशील सदस्यता नवीकरण गरेका छन् भने नयाँ क्रियाशील सदस्यता वितरणको काम सुरू भएको छैन। यसका लागि केही समय चाहिने प्रवक्ता महत बताउँछन्।
महामन्त्रीद्वय थापा र शर्मा भने मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन्। त्यसै अनुसार बिहीबार हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा उनीहरू छन्। मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने उनीहरूको अडान छ।
विशेष महाधिवेशनका लागि कांग्रेसमा मंगलबार दिउँसोसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यही हस्ताक्षर मंगलबार बुझाउने तयारी भए पनि अब बुधबार अपराह्न ३ बजे बुझाउन समय दिइएको नेताहरूले बताएका छन्। अब यो हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइनेछ।
कांग्रेसमा २०७८ सालमा १४औं महाधिवेशन गर्दा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए। तीमध्ये ४६ जनाको मृत्यु भएको छ भने ६८ जनाले दल त्याग गरेका छन्। अहिले कायम महाधिवेशन प्रतिनिधि ४५५६ जना छन्। तीमध्ये २४८७ जना प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका छन्।
महाधिवेशन प्रतिनिधिहरूको यो हस्ताक्षरले नै पार्टीको नियमित महाधिवेशन डाक्न दबाबको काम गरेको एक नेताले बताए।
यसबीच महामन्त्री गगन थापाले सभापति देउवाले आजको केन्द्रीय कार्यसमिति बैठकमा महत्त्वपूर्ण निर्णयहरू सुनाएको र सभापतिको हिसाबले यो उनको अन्तिम सम्बोधनजस्तै रहेको प्रतिक्रिया दिएका छन्।
'सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेर बाँकी कुरा केन्द्रीय समितिलाई छाडेर जानुभयो। त्यसैले केन्द्रीय समितिमा उहाँको एक प्रकारको अन्तिम उपस्थिति रहेकाले पनि त्यसलाई सम्मान गर्दै आज अरू कामकारबाही अघि नबढाउनेमा हामी पुग्यौं,' उनले भने।
उनले अगाडि भने, 'उहाँले एकताको आह्वान गर्नुभएको छ र १५औं महाधिवेशन विधानअनुसार समयमै (मंसिर मसान्तभित्र) गर्ने भन्नुभएकाले आज अरू कामकारबाही गरिएन।'
***