सिनेमा हलहरूमा प्रदर्शन भइरहेको फिल्म 'माइतीघर' का निर्देशक मिलन तामाङले नयाँ फिल्म घोषणा गरेका छन्। उनको निर्देशनमा बन्न लागेको उक्त फिल्मको नाम 'कहाँ भेटिएला' राखिएको छ।
निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरू हुनेछ भने जेठ अन्त्यसम्ममा पूरा गर्ने योजना छ। यसैबीच, फिल्मका गीतहरूको छायांकन भने माघ महिनामा हुने निर्माण पक्षले जनाएको छ। फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन।
फिल्ममा को-को कलाकार र प्राविधिक रहने भन्नेबारे निर्देशक तामाङले खुलाएका छैनन्। तामाङका अनुसार अहिले फिल्मको शीर्षक मात्र घोषणा गरिएको हो। केही दिनभित्रै कलाकार र प्राविधिकबारे जानकारी दिँदै जाने उनले बताए।
निर्देशक तामाङले 'माइतीघर' बाट पहिलोपटक निर्देशन यात्रा सुरू गरेका थिए, जुन फिल्म दसैं फूलपातीको दिन रिलिज भएको थियो।