नेपाली फिल्म 'एक मुठ्ठी बादलः माई सेयर अफ स्काई' नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ।
यस अन्तर्गत फिल्मले ६० हजार युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ। जुन ८७ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ।
विश्वभरबाट प्रतिस्पर्धामा रहेका फिल्ममध्ये जम्मा ४ वटा फिल्मले यो अनुदान जितेका हुन्।
'एक मुठ्ठी बादल' की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन्।
निर्देशक शर्माले फिल्मले पोस्ट प्रोडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन्।
'नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, बलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्व स्तरमा चिनाउने मेरो सधैं प्रयत्न रहेको छ। यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु,' शर्माको भनाइ छ।
गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिला प्रधान अन्तर्राष्ट्रिय स्तरमा सह–निर्मित फिल्म हो।
यस फिल्ममा नेपालबाट निर्माता 'मन प्रडक्सन' र 'अन्डरग्राउन्ड टकिज' पनि निर्माणमा सहभागी रहेका छन्। यस फिल्मका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामीप्य राज तिमल्सेना रहेका छन् भने कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ छन्। साथै जर्मनीबाट रोक्शाना रिचर निर्माताको रुपमा रहेकी छिन्।
विवाहको पृष्ठभूमिमा बुनिएको 'एक मुठ्ठी बादल' ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ।
युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफू भित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई फिल्मले उजागर गर्दछ। गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई फिल्मले कथानकमा समेटेको जनाइएको छ।
फिल्ममा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम लगायत कलाकारहरूको अभिनय छ।
यस फिल्मका निर्माता अभिमन्यु दीक्षित महिला–केन्द्रित फिल्म निर्माणका लागि समर्पित अभियन्ता हुनुका साथसाथै गौथली इन्टरटेन्मेन्टका सञ्चालक पनि हुन्। दीक्षित रोटरडम ल्याब तथा कान्स फिल्म फेस्टिभलको प्रडुसर नेट्वर्कका सहभागी पनि हुन् ।
उनको नेतृत्वमा ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन फिल्म बजारमा, लगायत ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा पनि छनौटमा परेको छ। फिल्मका सह–निर्माता सारा फाजिलात, एक अनुभवी अन्तर्राष्ट्रिय फिल्मकर्मी, साथै प्रतिष्ठित कलाकार पनि हुन्। 'निको' (२०२१) र 'होली स्पाइडर' (२०२२) जस्ता प्रख्यात र पुरस्कृत फिल्महरूका निर्माता र अभिनेत्री समेत रहेकी फाजिलात फिल्मद्वारा समानता र विविधता प्रवद्र्धन गर्ने अभियानमा सक्रिय भूमिका खेल्दै आएकी छिन्।
ह्युबर्ट बाल्स फण्डमा छनोट भएपछि 'एक मुठ्ठी बादल' को अन्तर्राष्ट्रिय सम्भावना अझ बढेको छ। फिल्म पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेकोले ह्युबर्ट फन्डकोे आर्थिक सहयोगले यसलाई उच्च गुणस्तर पुर्याउन महत्वपूर्ण सहयोग पुर्याउनेछ।
'पुरस्कारले फिल्मको प्राविधिक कामका लागि ठूलो सहयोग पुग्नेछ। योसँगै फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा पनि बलियो उपस्थिति जनाउने सम्भावना बढेको छ,' निर्माता दीक्षित भन्छन् 'फिल्मलाई २०८२ सालमा प्रिमियर गराउने हाम्रो योजना छ।'