फोटो पत्रकार क्लब (पिजे क्लब नेपाल) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो नेपाल प्रतियोगितामा प्रसन्न बज्राचार्य विजयी भएका छन्। सहभागी २ सय ३० फोटोग्राफरका ५ सय ९ फोटो प्रतिस्पर्धामा थियो। हिउँद शीर्षकमा प्रस्तुत तस्विरहरूमध्ये प्रसन्नको फोटो उत्कृष्ट चुनिएको हो। प्रतियोगितामा विक्रम मगरको फोटोले दोस्रो तथा प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हासिल गरेको छ।
उक्त प्रतिस्पर्धामा सरिक ३८ फोटोग्राफरका ५० वटा छानिएका फोटा यतिबेला पर्यटन बोर्डमा प्रदर्शनीमा राखिएको छ। शीर्षक नै 'हिउँद' दिएर गरिएको प्रतियोगितामा जाडोयामको जनजीवनसँग सम्बन्धित फोटोहरु समावेश थिए।
नेपाल पर्यटन बोर्डले दुई वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पिजे क्लबसँगको सहकार्यमा प्रत्येक महिना फोटो प्रदर्शनी गर्दै आएको थियो। फोटो नेपालको सफलताबाट उत्साहित भएर पर्यटन बोर्डले प्रतियोगितात्मक रूपमा यसलाई विस्तार गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जानकारी दिए।