एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले जित निकालेको छ। आइतबार पोखरा रंगशालास्थित कभर्डहलमा काठमाडौंले मधेश युनाइटेडमाथि ३-१ सेटमा जित निकालेको हो।
पहिलो सेटमा प्रतिस्पर्धात्मक रह्यो। जसमा काठमाडौं २६-२४ ले विजयी भयो।
दोस्रो सेटमा मधेश विजयी भयो। मधेशले २५-२३ को जितसहित खेलमा १-१ को बराबरी गर्यो।
त्यसपछि खेलमा फर्किएको काठमाडौंले लगातार दुई सेट जितेर खेल आफ्नो पक्षमा पर्यो।
तेस्रो सेटमा काठमाडौं २५-२२ ले विजयी हुँदा चौथो सेटमा २५-१९ को जित हात पार्यो।
यसअघि पहिलो खेलमा काठमाडौंले ललितपुर क्विन्ससँग ३-० को सेटमा पराजय भोगेको थियो।
मधेशले भने तीन खेलमध्ये दुई खेलमा पराजय भोगिसकेको छ। मधेशले पहिलो खेलमा ललितपुरसँग पराजय भोग्दा दोस्रो खेलमा पोखरालाई हराएको थियो।
लिगमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।
सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ।
दोस्रो संस्करणमा विभिन्न देशबाट १८ विदेशी खेलाडी पोखरा पुगेका छन्।