सन् २०१३ मा निरज पाण्डेको निर्देशनमा एउटा फिल्म रिलिज भएको थियो — स्पेसल २६।
उक्त फिल्म कर अधिकृतको भेषमा विभिन्न व्यावसायिक प्रतिष्ठान लुटपाट गर्ने कथामा आधारित छ।
सत्य घटनामा आधारित त्यही फिल्मको शैलीमा फेरि एकपटक भारतमा लुटपाटको घटना भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
बेंगलुरूमा कर अधिकृतको भेषमा आएका केही सशस्त्र व्यक्तिले एटिएममा पैसा लोड गर्ने गाडीलाई निशाना बनाएका छन्।
भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार ती लुटेरा करिब ७ करोड रूपैयाँ लिएर फरार भएका छन्।
घटना त्यति बेला भयो, जब एटिएममा पैसा लोड गर्न जाने भ्यान एचडिएफसी बैंकको शाखाबाट निस्किएको थियो। अचानक एउटा कार भ्यानको अगाडि रोकिएर बाटो छेक्यो।
त्यसपछि कारमा रहेका लुटेराहरू बाहिर निस्किए र आफूहरू कागजात जाँच गर्न आएका कर अधिकृत भएको दाबी गर्दै बैंक कर्मचारीहरूलाई रोके।
क्यास भ्यानका कर्मचारीले कुनै प्रतिक्रिया जनाउने मौका पाउनुअघि नै आफूलाई कर अधिकृत भएको दाबी गर्ने सशस्त्र समूहले पैसा भएको बाकस कारमा हाले। बैंकका कर्मचारीलाई पनि आफूसँगै लगे।
केही पर गएपछि ती लुटेराले बैंकका कर्मचारीलाई बाटोमै छाडिदिए र रकम लिएर भागे।
यो सम्पूर्ण लुटपाट ३० मिनेटमै भएको थियो।
प्रहरीले यो घटनाबारे विस्तृत अनुसन्धान सुरू गरेको छ। अपराधीहरूलाई पत्ता लगाउन विशेष स्क्वाड गठन गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।