'गरिखान देऊ' अभियानका संयोजक मिराज ढुंगानाले आफ्नो कार्यालयमा आक्रमण गरेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बुधबार साँझ ६ बजेतिर आफ्नो कार्यालयमा आक्रमण भएको बताएका हुन्। महिला सदस्यहरूमाथि पनि हातपात भएको उनले बताएका थिए।
'हाम्रो अफिसमा साँझ ६ बजेतिर अट्याक भयो। हाम्रा साथीहरूमाथि हातपात भयो र महिला सदस्यहरूमाथि पनि हातपात भयो। के गर्न खोज्नुभएको हामीलाई?' उनले लेखेका छन्।
नक्साल क्षेत्रमा रहेको उनको कार्यालयमा आक्रमण भएको भन्ने विषयबारे प्रहरीलाई पनि जानकारी भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईलाई उनीहरूकै सदस्यमध्ये एक जनाले विवाद हुन थालेपछि सम्पर्क गरेका थिए।
'हिजो मलाई ६ बजेतिर फोन आएको थियो। उहाँहरूको टिमकै एक जना सदस्यले विवाद हुन लाग्यो भनेर फोन गर्नुभएको थियो,' उनले भने।
यसरी फोन आएपछि प्रहरीको टोली पाँच मिनेटमै मिराजको कार्यालय पठाएको उनले बताए।
'फेरि मैले त्यही व्यक्तिलाई फोन गरेर के छ तपाईंहरूको भनेर सोधेँ। प्रहरीले हस्तक्षेप गर्नुपर्ने विषयवस्तु हो कि होइन भनेर। उहाँले सामान्य विवाद भएको हो भन्नुभयो,' एसपी भट्टराईले भने, 'उहाँहरूबीच नै संवाद, छलफलको बीचमा भनाभन भएको रहेछ। मैले रिकन्फर्म गर्न प्रहरी पुगिसकेर पनि फोन गरेको हुँ।'
सेतोपाटीले यस घटनाबारे मिराजसँग सम्पर्कको प्रयास गर्दा फोन उठेन।