सात वर्षदेखि शिवराज खड्का वैदेशिक रोजगारी क्रममा इसराइलमा छन्।
गत कात्तिक ३० गते उनले आफ्नो फेसबुकमा वैदेशिक रोजगारीका लागि सरकारले बिक्री खुलाएको 'वैदेशिक रोजगार बचतपत्र' को सूचना सार्वजनिक गरे।
विदेशमा रहेकाहरूले पछिल्लो समय दूतावासदेखि सञ्चार माध्यमबाट समेत वैदेशिक रोजगार बचतपत्रबारे जानकारी पाइरहेका छन्।
खड्काले पनि इसराइलस्थित नेपाली दूतावासको फेसबुक पेजबाट यस्तो बचतपत्रको जानकारी पाएका हुन्। खड्का पहिलो पटक यो बचतपत्र भर्ने तयारीमा छन्।
'पहिले पहिले मैले यहाँका बैंकमा रहेका कर्मचारीहरूको सहयोगमा यस्तै के के त भर्थेँ, तर कहिल्यै परेन। यस पटक भने पाँच लाख रूपैयाँ यो बचतपत्रमा लगानी गर्छु,' उनले भने।
सम्भवतः खड्काले यसअघि वैदेशिक रोजगार बचतपत्र नभई वैदेशिक रोजगारीमा जानेका लागि खुल्ने प्राथमिक सेयर निस्कासन (आइपिओ) भरेका थिए। किनभने अहिलेसम्म सरकारले निस्कासन गरेको रोजगार बचतपत्र कुनै पनि वर्ष पूरै बिक्री भएको छैन।
अझ आश्चर्यको कुरा के छ भने, अहिले वार्षिक डेढ सय जनाले पनि यस्तो बचतपत्र नभरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८३ जनाले यस्तो बचतपत्र भरेका थिए।
२०७९/८० मा ७९ जनाले, २०८०/८१ मा ४५ जनाले र २०८१/८२ मा एक सय २१ जनाले भरे।
गत वर्षबाट अनलाइनबाटै यस्तो बचतपत्र भर्न मिल्छ। एक पटक सहभागिता जनाएकाले सधैं उही नाम (युजर नेम) बाट बचतपत्र भर्न सक्छन्।
सरकारले वैदेशिक पत्र बिक्री गर्न थालेको १५ वर्ष भइसकेको छ। हरेक वर्ष करिब एक अर्ब रूपैयाँ बराबरको यस्तो बचतपत्र बिक्री गरिन्छ।
हालसम्म सरकारले १७ अर्ब ५६ करोड रूपैयाँ बराबरको यस्तो बचतपत्र बिक्री खुला गरेकामा मात्रै ९५ करोड रूपैयाँ बराबरको बिक्री भएको छ। यो भनेको हालसम्मको कुल निस्कासनको ५.४३ प्रतिशत मात्रै हो।
यस वर्ष पनि सरकारले वैदेशिक रोजगारीमा रहेका युवाहरूका लागि 'वैदेशिक रोजगार बचतपत्र–२०८७' निस्कासन गरिरहेको छ।
पछिल्लो पटक वर्षमा दुई पटक बचतपत्र बिक्री खुला गरिन्छ। यस पटक पचास करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र–२०८७ निस्कासन भइरहेको हो।
यो बचतपत्रको ब्याजदर ७.५ प्रतिशत छ। बचतपत्र किन्ने व्यक्तिले प्रत्येक ६/६ महिनामा ब्याज पाउँछन्। बैंकमा पैसा राख्दाभन्दा बचतपत्र किन्दा राम्रो ब्याज आउँछ। अहिले बैंकहरूले रेमिटेन्स खातामा ७ प्रतिशत ब्याज दिइरहेका छन्।
तर वैदेशिक रोजगारीमा रहेका अधिकांश युवालाई बचतपत्रबारे जानकारी नै छैन।
रोजगारीका लागि इपिएस मार्फत दक्षिण कोरिया पुगेका अर्घाखाँचीका विनोद नेपाल पनि बचतपत्रबारे जानकार छैनन्। उनी दक्षिण कोरिया गएको १४ महिना भयो।
'वैदेशिक रोजगार बचतपत्रबारे मैले केही सुनेकै छैन,' उनले भने।
संयुक्त अरब इमिरेट्स (युएई) मा एक वर्षदेखि रोजगारीमा रहेका दैलेख भगवतिमाईका सुरेन्द्र सिंहलाई पनि यसबारे जानकारी छैन।
'त्यो बचतपत्र भनेको के हो भनेर कसैले सुनाएको पनि छैन। केही थाहा छैन,' उनले भने।
वैदेशिक रोजगारीका सिलसिलामा ४० लाखभन्दा धेरै युवा विभिन्न गन्तव्य मुलुकमा रहेको अनुमान छ। उनीहरूमध्ये अधिकांशका लागि वित्तीय साक्षरता अभाव छ। बचतपत्रबारे जानकारी नभएकैले आवेदन दिनेको संख्या दुई सय पनि नाघ्न नसकेको हो।
सरकारले उनीहरूका लागि सम्बन्धित गन्तव्य देशको भाषा, संस्कृति, रहनसहन तथा कमाएको रकम कसरी सुरक्षित नेपाल ल्याउने लगायत विषयमा जानकारी दिएर मात्रै पठाउने नीति लिएको छ।
सोही अनुसार वैदेशिक रोजगारीमा जानुअघि अभिमुखीकरण तालिम समेत अनिवार्य गरिएको छ। तर यस्तो बचतपत्रको सामान्य जानकारी समेत भएको देखिँदैन।
अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष रामराजा गौतमका अनुसार अभिमुखीकरण तालिममा वैदेशिक रोजगारमा जानेहरूलाई बैंक खाता खोल्ने, त्यहाँ कमाएको पैसा कसरी सुरक्षित नेपाल पठाउने लगायत विषयमा जानकारी दिइने गरिएको छ।
'वैदेशिक रोजगारमा जानेहरूलाई जानकारी दिने प्रशिक्षकहरूलाई समेत यस्ता कतिपय विषयको जानकारी हुँदैन,' गौतमले भने।
वैदेशिक रोजगार बोर्डले समय अनुसार पाठ्यक्रम तयार नगरिदिने भएकाले प्रशिक्षकहरूले आफू अनुकूल पाठ्यक्रम तयार गरेर तालिम दिइरहेको पनि उनले बताए।
अहिले अभिमुखीकरण तालिम सामाजिक सुरक्षा, सडक सुरक्षा तथा कार्यस्थल सुरक्षा, स्वास्थ्य र कमाएको रकम सुरक्षित कसरी पठाउने भन्ने विषयमा मात्रै केन्द्रित छ।
के हो वैदेशिक रोजगार बचतपत्र?
मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्र नै 'वैदेशिक रोजगार बचतपत्र' हो।
वैदेशिक रोजगारीबाट नेपाल फर्किएको ६ महिना नकटेकाहरूले पनि यसमा आवेदन दिन पाउँछन्।
रोजगारीमा रहेका वा फर्किएको ६ महिना नपुगेकाको आमा, बुबा, श्रीमती, छोरा, छोरीको नामबाट समेत आवेदन दिन पाइन्छ।
आवेदन दिँदा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वेबसाइटमा गएर अनलाइन मार्फत भर्नुपर्ने हुन्छ।
बचतपत्रको आवेदन फारम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
बचतपत्र भर्नेसँग बैंक खाता हुनुपर्छ। बचतपत्रमा न्यूनतम १० हजार रूपैयाँसम्म लगानी गर्न सकिन्छ भने बढीमा जति रकमको पनि आवेदन दिन सकिन्छ।
यो कात्तिक २५ गतेदेखि ५० करोड रूपैयाँ बराबरको बचतपत्र बिक्री भइरहेको छ। मंसिर २५ गतेसम्म बिक्री खुला हुनेछ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कारोबार प्रणाली डिओएमएस मार्फत् यस्तो बचतपत्रको म्याद (परिपक्व अवधि) सकिनुअघि पनि किनबेच गर्न समेत सकिन्छ।
६/६ महिनामा ब्याज पाउनेले बचतपत्रको म्याद सकिएपछि यस्तो रकम बचतपत्र भर्नेले फिर्ता पाउँछन्।