थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवान ललितपुर क्विन्समा आबद्ध भएकी छन्।
पोखरामा अर्को सातादेखि हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागी जनाउन लागेको ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको हो।
ललितपुरले यसअघि थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको थियो।
३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता राष्ट्रियहरुमा खेलिसकेको अनुभव छ। उनी सम्मीलित थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कास्य पदक जितेको थियो।
प्रशिक्षक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ। टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन्। ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरेको थियो। ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ।
रुप्से होलिडेजले ललितपुर क्विन्स मुख्य प्रायोजन गरेको छ भने प्रायोजकको रुपमा आईएमई जनरल इन्स्युरेन्स लिमिटेडले ललितपुरलाई साथ दिएको छ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ।