सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट प्रतियोगिताको ‘होम म्याच’ निर्माणाधीन दशरथ रंगशालामा खेलाउनका लागि तयारी सुरू गरिएको छ।
दोस्रो चरणको एसिया छनोटको समूह ‘बी’ मा परेको नेपालले ३ महिनाभित्र ३ वटा खेल घरेलु मैदानमा खेल्ने तय भएको छ।
दशरथ रंगशालामा खेल गराउन आजैबाट तयारी गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले निर्देशन दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि मैदानमा चाहिने अत्यावश्यक पूर्वाधार बनाउन बिहीबारदेखि दौडधुप सुरू गरेको छ।
यसअघि एसियन फुटबल महासंघले बुधबार दोस्रो चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो।
समूह ‘बी’ मा परेको नेपालले भदौ १९ गते घरेलु मैदानमा कुवेतविरुद्ध पहिलो खेल खेल्ने तय छ।
यस्तै नेपालले भदौ २४ मा चाइनिज ताइपेई र असोज २८ गते जोर्डनसँग घरेलु मैदानमा खेल्नेछ।
विश्वकप छनोटका खेल अन्तर्राष्ट्रिय मापदण्ड पुगेको रंगशालमा गराउनु पर्ने व्यवस्था छ।
नेपालमा निर्माणाधीन दशरथ रंगशालामा बाहेक अन्य मैदान अन्तर्राष्ट्रिय स्तरका छैनन्।
आगामी मंसिरमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) सम्म निर्माण सक्ने लक्ष्य लिइएको दशरथ रंगशालामा अब भिआइपी प्याराफिटको छानो हाल्ने काम बाँकी छ।
साधारण र भिआइपी प्याराफिटको सिट हाल्न पनि बाँकी रहेको छ।
चाइना रेलवेले रंगशालाको फ्लाडलाइट, ट्र्याक, स्कोरबोर्ड र साउन्ड सिस्टम बनाउने जिम्मेवारी लिएको छ। ट्र्याकको काम सकिएपछि अन्य काम अझै सकिएको छैन। रेलवेले साउन मसान्तभित्र आफ्नो काम सक्ने बताएको थियो।
योबाहेक खेलाडीका लागि चाहिने चेन्जिङ रूम, मिटिङ रुम, ट्वाइलेट लगायतका काम पनि सकिएको छैन।
‘मैले एन्फाका साथीहरुलाई मैदानमा दुबो रोप्न सुरू गर्न भनिसकेको छु,’ सदस्यसचिव सिलवालले भने, ‘भिआइपी प्याराफिट निर्माण नसकिएको अवस्थामा पनि मैदान तयार भए खेल गराउन सकिन्छ।’
सदस्यसचिव सिलवालले विश्वकप छनोटको खेल दशरथ रंगशालामै गरिएको अवस्थामा मंसिरमा हुने साग गेम्सका लागि उत्साह सिर्जना हुने पनि बताए।
यद्यपी राष्ट्रिय खेलकुद परिषद्का निर्माण शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले भदौ १९ मा रंगशाला तयार हुन नसक्ने बताए।
‘हामीले सागलाई लक्ष्य बनाएर काम गरिरहेका छौं,’ उपाध्यायले सेतोपाटीसँग भने, ‘भदौसम्म निर्माण सक्ने सम्भावना छैन।’
उनले मैदानमात्र तयार गरेर रंगशाला सम्पन्न नहुने उल्लेख गर्दै भने, ‘मैदान मात्र तयार गरेर भएन। बिजुलीदेखि पानीको व्यवस्थान गर्नु पर्यो। चेन्जिङ लगायतका पूर्वाधार सम्पन्न गर्नु पर्छ। भदौमा रंगशालामा खेल गराउन सम्भव छजस्तो मलाई लाग्दैन।’
भदौमा रंगशालामा खेल गराउने विषयमा चाइना रेलवेले पनि असन्तुष्ट रहेको छ। रेलवेले खेल गराउदा बिछ्याएको नयाँ ट्रयाक बिगार्ने चाइना रेलवेको तर्क छ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको ‘होम म्याच’ दशरथ रंगशालामा गराउन काम थालेको बताए।
उनले सदस्यसचिव सिलवाल र चाइना रेलवेसँग भेटेर मैदानमा अन्तर्राष्ट्रिय खेल खेलाउनका लागि चाहिने मापदण्डको विषयमा जानकारी गराएका छन्।
के छ मापदण्डमा?
एएफसीको ‘स्टेडियम रेगुलेसनमा’अन्तर्राष्ट्रिय खेल खेलाउन रंगशालाको सुरक्षाको ग्यारेन्टी हुनु पर्छ।
मैदान घाँसे हुनु पर्ने (कृत्रिम भए फिफाको मापदण्ड पुगेको), वार्म अफ एरिया हुनु पर्ने, फ्लाडलाइट, घडी र स्कोरबोर्ड, कन्ट्रोल रूम, टिम बेन्च र फोर्थ अफिसियल बेन्च, प्लेयर टनेल, टिम ड्रेसिङ रूम, रेफ्री ड्रेसिङ रूम, अफिस स्पेस र मिटिङ रूम, स्टोर, म्याच कमिसनार र रेफ्री एसेसर बस्ने स्थान, प्राविधिकका लागि बस्ने स्थान, पार्किङलगायत हुनु पर्नेछ।
यस्तै सूचना कक्ष, पत्रकार सम्मेलन कक्ष, मेडिकल र डोपिङ रूम पनि हुनु पर्नेछ।
विश्वकप छनोटमा नेपालको खेल
कुवेतविरुद्ध
भदौ १९ गते - होम म्याच
मसिंर ३ गते – अवे म्याच
चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – होम म्याच
चैत १३ गते - अवे म्याच
अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच
जोर्डनविरुद्ध
असोज २८ गते - होम म्याच
जेठ २२ गते(२०७७) – अवे म्याच