बेइजिङ डायरी
बगैंचाभरि सानो सानो झुन्ड बनाएर रहेका भिक्षु (लामा) हरू अनौठो भागभंगीमा थिए। एक जना भिक्षु उभिएर आक्रामक ढंगले ताली लगाउँदै केही संकेत गरिरहेका थिए।
हातको माला देब्रे हातको कुमतिर भिरेर उनी देब्रे हातको हत्केला आफ्नो पेटको अगाडि थाप्थे र दाहिने हात कुममाथिबाट जोसपूर्ण रूपमा देब्रे हातको हत्केलामा बजारेर प्याट्ट आवाज निकाल्थे।
कहिले दाहिने हातको चोर औंला ठड्याएर आवेग प्रकट गरेजस्तो बुझिन्थ्यो।
भुइँमा बसेका दुई वा दुईभन्दा बढी भिक्षु भने शालीन र शौम्य रूपमा केही भनिरहेका थिए। उनीहरूको अनुहारमा कुनै आक्रोश वा उत्तेजना थिएन। हँसिलो अनुहारमा सुललित र सानो स्वरमा उनीहरूको कुरा सुनेपछि उभिने भिक्षु फेरि अर्को भंगीमा उसैगरी आवेग व्यक्त गर्थे।
ठूलो बगैंचामा भुइँभरि चिल्ला ढुंगाहरू थिए। हत्केलामा अटाउने गोलागोला बगरका ढुंगाजस्ता लाग्ने ती पत्थरमा टेकेर हिँड्दा गर्याप गर्याप आवाज आउँथ्यो।
बिहान दस बजेको टन्टलापुर घाममा रूखका पोथ्राको छायामा बसेका भिक्षुले झगडा गरेका हुन् कि जस्तो लाग्थ्यो।
सन् २०२५ जुनको अन्त्यतिर हामी थुप्रै विदेशी पत्रकारहरू चीनको सिचाङ (तिब्बत) स्वायत्त प्रदेशको अवलोकन भ्रमणमा थियौं। सोही सिलसिलामा उक्त रमाइलो दृश्य देखेका थियौं।
हामी मोबाइल र क्यामरामा कैद गर्न व्यस्त थियौं। त्यहाँ के हुँदैछ भन्ने कुनै भेउ नपाइरहेका बेला हाम्रो समूहलाई त्यहाँको व्याख्या गर्ने एकजना वरिष्ठ लामा अर्थात् भिक्षुले रहस्योदघाटन गरे।
उक्त दृश्य चीनको सिचाङको ल्हासास्थित एक बौद्धशास्त्र अध्ययन संस्थाको थियो।
बौद्ध धर्मसम्बन्धी बहस भइरहेको हामीले थाहा पायौं। शास्त्रमा पारंगत हुन सिचाङ (तिब्बत) मा यस्तो बहस निकै लोकप्रिय रहेको पनि ती लामाले हामीलाई बताए।
बगैंचामा सामूहिक बहस गर्दै भिक्षुहरू
लामाले बताए अनुसार यस्तो अचम्मको बहसको सार यस्तो रहेछ —
तिब्बती बौद्ध धर्ममा ताली पड्काएर वा दाहिने हातको हत्केलाले देब्रे हातको हत्केलामा ठोकेर गरिने शास्त्रार्थ एक अनौठो र दार्शनिक रूपमा गहिरो बहस पद्धति हो। यो विशेष गरी तिब्बती बौद्ध धर्मभित्रको गेलुक सम्प्रदायमा प्रचलित छ। यस्तो प्रचलनका सुरूवातकर्ता जे त्सोंगखापा हुन्। उनले चौधौं शताब्दीमा सुरू गरेको यस्तो बहस गर्ने परम्परा तिब्बती बौद्ध विश्वविद्यालयहरू जस्तै सेरा, द्रेपुंग, गन्डेन र अन्य मठहरूमा प्रचलित छ।
यस्तो बहसको उद्देश्य दार्शनिक सत्यको अन्वेषण जस्तै बौद्ध दर्शन विशेष गरी प्रज्ञापारमिता, मध्यमक, तर्कशास्त्र बुझ्न र परख्न गरिन्छ। यसको अर्को उद्देश्य शिष्यहरूले आफ्ना विचारहरू तर्कसंगत रूपमा प्रस्तुत गर्न सकून् भन्ने हो। यसले मनको एकाग्रता र तर्कशक्ति विकासमा सहयोग पुर्याएर स्मृति, तर्क र चुस्तता बढाउँछ।
यसमा एक जना लामा अथवा भिक्षुले उभिएर प्रश्न गर्दै ताली बजाउँछन् भने उत्तरदाताहरू एक वा एकभन्दा बढी हुन सक्छन्। उनीहरू शान्तसँग बसेका हुन्छन्। प्रश्नकर्ताले उत्तरलाई चुनौती दिने, तर्कहरू खण्डन गर्ने वा थप प्रश्नहरू सोध्ने गर्छन्। प्रश्नकर्ताले प्रश्न सोध्दा दायाँ हात उचाल्छन् र बायाँ हातमा ठोकेर ताली बजाउँछन्।
तालीको ध्वनि अनुसार 'यो तर्कलाई स्वीकार गर्दिनँ!' भन्ने संकेत दिइन्छ।
तालीपछि हातको मुद्रा अथवा औंलाले देखाएर तर्कको दिशा निर्देशन गरिन्छ।
निकै जोसिलो र आक्रामक देखिने यो बहस चाल, हाउभाउ र आवाजले बौद्धिकताको स्तर निर्धारण हुने रहेछ।
अर्को अनौठो कुरा के रहेछ भने, प्रश्नकर्ता जतिसुकै आक्रामक र उत्तेजित भए पनि उत्तरदाता भने शान्त र धैर्य रहनुपर्ने रहेछ।
बहसका मुख्य विषयहरूमा शून्यता (माध्यमिक दर्शन), कार्यकारण सम्बन्ध, बौद्ध तर्कशास्त्र आदि हुन्छन्। यसले गुरू–शिष्य परम्परालाई बढावा दिन्छ। आफ्ना विश्वासहरू तर्कको कसीमा राखेर परख्ने अवसर प्राप्त हुन्छ। बौद्ध विद्वानहरू बीचको बौद्धिक आदानप्रदान गराउने यसको अर्को उद्देश्य हो।
बहसको हाउभाउमा दाहिने हातले करूणा वा विधिलाई प्रतिनिधित्व गर्छ भने देब्रे हातले बुद्धिलाई प्रतिनिधित्व गर्छ। ठूलो स्वरमा ताली बजाउँदा बुद्धि र करूणाको मिलन हुन्छ।
तिब्बती बौद्ध धर्ममा यसरी ताली पड्काएर गरिने सांकेतिक बहस एक अनौठो बौद्धिक–शारीरिक अभ्यास हो। यसले तर्क, प्रज्ञा र शारीरिक अभिव्यक्ति एकीकृत गर्छ।
कक्षाकोठामा भिक्षुहरू
प्रश्नकर्ताले दायाँ हातको हत्केलाले बायाँ हातको हत्केलामा हानेर 'शून्यताको सिद्धान्त' को प्रतिनिधित्व गर्ने रहेछ। हत्केला जुद्धा आउने आवाजले वादविवादको सुरूवात र अज्ञानताको विखण्डन जनाउँछ।
दायाँ हात माथि उठाउने क्रियालाई उपाय अर्थात् करूणाको प्रतीक मानिन्छ भने बायाँ हात तल राख्ने क्रियालाई प्रज्ञा अर्थात् शून्यताको बोधको प्रतीक मानिन्छ। यी दुई क्रियाहरूको संयोजनले बोधिसत्त्वको मार्ग (ज्ञान र करूणाको एकता) देखाउँछ।
हातको मात्र होइन यो बहसमा खुट्टाको स्थितिको पनि विशेष अर्थ हुने रहेछ। प्रश्नकर्ताले बायाँ खुट्टा अगाडि बढाएमा ज्ञानमार्गमा अग्रसर हुने इच्छा जनाउँछ भने दायाँ खुट्टाले स्थिरताको प्रतीक रूपमा जमिन छोएको हुन्छ।
बहस कसरी गरिन्छ र प्रश्न कस्ता हुन्छन् भन्ने कुराको व्याख्या पनि त्यहाँका लामाले हामीलाई विस्तारमा बताए।
उनका अनुसार कुनै पनि घटना स्वतन्त्र रूपमा अस्तित्वमा छैन। यो सबै कारण, कारकतामा आधारित छ। यस कथनलाई तालीका साथ प्रस्तुत गरी शाब्दिक रूपमा विश्लेषण गरिन्छ।
बहसले स्वतः अस्तित्व (स्वभाव) को खण्डन गर्छ भने कार्यकारणको अन्तर्निर्भरता अर्थात् प्रतीत्यसमुत्पाद गरेर मन र वास्तविकताको सम्बन्ध दर्शाउँछ।
यस्तो बहस विभिन्न चरणमा हुने पनि हामीलाई बताइयो।
सुरूमा प्रश्नकर्ताले सूत्र अथवा शास्त्रको उद्धरण दिएर प्रश्न सोध्छन्। उत्तरकर्ताले हातमा ताली लगाउँदै तर्कसंगत उत्तर दिन्छन्। यसपछि फेरि प्रश्नकर्ताले प्रतिप्रश्न गरेर उत्तरमा आफ्नो चित्त नबुझेको भाव व्यक्त गर्न सक्छन्।
बहसको अन्त्य चाहिँ हार अथवा जितबाट हुन्छ। उत्तर दिनेले गल्ती स्वीकार गरेमा हात जोडेर बस्छन् भने विजयी भएमा ताली बजाउँछन्।
यस्तो बहसको मुख्य उद्देश्य स्मरणशक्ति बढाउने र शारीरिक गतिले ग्रन्थहरू कण्ठस्थ गर्नु हो। यसले घमण्ड अथवा अहंकार विखण्डन गर्छ। तिब्बती बौद्ध धर्मशास्त्रमा जटिल अवधारणाहरू जस्तै शून्यतालाई स्पष्टीकरण गर्ने अभ्यास पनि यो बहसले गराउँछ। यसले आध्यात्मिक अनुशासनसँगै शारीरिक क्रियाले एकाग्रता र मानसिक सतर्कता बढाउँछ।
कम्प्युटर कोठामा भिक्षुहरू
यस्तो बहस परम्पराले शारीरिक, वाककला र मानसिक तीनै स्तरमा बौद्ध दर्शनको गहिराइलाई साकार गर्छ। तालीबाट उत्पन्न प्रत्येक ध्वनिलाई अज्ञानताको भित्ता विखण्डन गर्ने प्रयाससँगै बौद्धिक उत्कृष्टताको प्रतिध्वनि मानिन्छ।
बौद्ध दर्शनशास्त्र अध्ययनमा यस्तो बहस दैनिक हुने रहेछ। विशेषगरी तिब्बती बौद्ध धर्मभित्रको गेलुकपा समुदायमा यस्तो बहस प्रचलनमा रहेको र ल्हासा आसपासका अन्य गुम्बा तथा बौद्धधर्म अध्ययन संस्थाहरूमा पनि अभ्यास हुने गरेको हामीलाई बताइयो।
हामी पुगेको उक्त तिब्बती बौद्ध धर्मशास्त्र अध्ययन संस्थामा मात्र ९ सय भिक्षु अध्ययनरत थिए। सन् २०११ मा स्थापित तिब्बती बौद्ध धर्मशास्त्र अध्ययन संस्थान सिचाङको प्रख्यात धार्मिक तथा सांस्कृतिक उच्च शैक्षिक संस्था हो। यसले तिब्बती बौद्ध धर्ममा युवा भिक्षुलाई परम्परागत धार्मिक शिक्षाका साथै आधुनिक प्राविधिक शिक्षा पनि प्रदान गर्दै आएको छ।
तिब्बती धार्मिक शैक्षिक संस्थामा महिला भिक्षलाई शिक्षा प्रदान गर्ने यो नै पहिलो संस्था पनि हो। सन् २०१४ देखि महिला भिक्षुहरूलाई पनि औपचारिक रूपमा शिक्षा प्रदान गर्न थालिएको हो।
यहाँ परम्परागत बौद्ध अध्ययनहरू सूत्र र तन्त्र विद्यासहित इतिहास, राजनीति र गणित विषय पनि अध्यापन गराइन्छ। साथै तिब्बती भाषाबाहेक चिनियाँ र अंग्रेजी भाषाका विषय पनि समावेश छ।
यो शैक्षिक संस्थाको अर्को विशेषता भनेको यहाँ 'जीवित बुद्ध' हरूलाई विशेष प्रशिक्षण दिइन्छ। त्यहाँ भएका ९ जना 'जीवित बुद्ध' मध्ये हामीले चार जनालाई भेट्ने मौका पायौं। सँगै दिउँसोको खाना खाएर उनीहरूसँग बास्केटबल पनि खेल्यौं। तीन जना चीनको युन्नान प्रान्तको शांग्रिलाका थिए भने एक जना युन्नान प्रान्तकै लिच्याङका थिए। उनीहरूलाई निःशुल्क भोजन र आवासीय सुविधासहित अध्यापन गराइने रहेछ।
अवतारी अथवा पुनर्जन्म लिएर आएका भनेर मानिएका वा विश्वास गरिएका व्यक्तिलाई तिब्बती बौद्ध धर्ममा जीवित बुद्ध भनिन्छ। ती चार जना जीवित बुद्धहरूमध्ये एक जना १३ वर्षका, अर्का ७ वर्षका र अन्य दुई जना ९ वर्षका थिए। उनीहरूमध्ये एक जनाले अंग्रेजीमा सामान्य कुराकानी गर्न सक्ने रहेछन्।
भिक्षुहरूले बौद्ध धर्मशास्त्र अध्ययनका साथै विविध खेलकुद र अतिरिक्त क्रियाकलापमा भाग लिने रहेछन्। कम्प्युटर कक्षा, क्यालिग्राफी, थांका चित्र, संगीत, विभिन्न खेलकुद लगायतमा उनीहरू रमाइरहेका थिए।
'जीवित बुद्ध' हरूका साथमा नेपाली कलाकार जिवेश गुरूङ
कलिला 'जीवित बुद्ध' हरूसँग कुराकानीका क्रममा हामीले नेपालको लुम्बिनी र भगवान बुद्धको जन्मस्थानबारे सोध्यौं। उनीहरूले त्यसबारे थाहा नपाएको सुनाए।
हामीले सिचाङसँगै जोडिएको देश नेपाल र शाक्यमुनि बुद्धको जन्मस्थल नेपालमा लुम्बिनीमा भएको बताएपछि उनीहरू निकै उत्साही भए। उनीहरूको इच्छा थियो पढिसकेर एक पटक लुम्बिनी गएर भगवान बुद्धको जन्मस्थल हेर्ने।
उनीहरूको शयन कक्ष निकै आकर्षक थियो। भित्रपट्टि सुत्ने कोठा थियो भने बाहिरपट्टि सोफा र ठूलो टेलिभिजन टाँगिएका थिए। फुर्सदमा टेलिभिजन हेर्ने र मोबाइलमा इन्टरनेट चलाएर आधुनिक प्रविधिमा अभ्यस्त हुने उनीहरूले बताए।
केही भिक्षुहरू तिब्बतीबाहेक चिनियाँ र अंग्रेजी भाषा पनि जान्ने रहेछन्। अधिकांशले भने आफूलाई तिब्बती भाषा मात्र आउने बताए।
चीनको सिचाङ (तिब्बत) ले धेरै कुरामा छलाङ मारेको छ। चिनियाँ आधुनिकीकरणको विकासले विश्वको छानो सिचाङलाई सुविधा सम्पन्न र अत्याधुनिक बाटोमा डोहोर्याएको छ।
तिब्बती संस्कृति र धर्मलाई चीनले उच्च महत्व दिँदै संरक्षण र प्रवर्द्धन गरिरहेको छ। यसैको एउटा उदाहरण हो तिब्बती बौद्ध धर्मशास्त्र अध्ययन संस्था।
भिक्षुहरू पढ्ने कोठा
सबै तस्बिरः चेतनाथ आचार्य
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)