अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सातवटा युद्ध आफ्नो पहलमा अन्त्य भएको दाबी गरेका छन्।
मंगलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँगको वार्तापछि ट्रम्पले आफ्नो पहलमा सात वटा युद्ध अन्त्य भएको बताएका हुन्।
युरोपेली नेताहरूसँग मंगलबार ह्वाइट हाउसमा भएको कुराकानीमा ट्रम्पले ६ वटा युद्ध आफ्नो पहलमा रोकिएको दाबी गरेका थिए।
ह्वाइट हाउसमा आधा दर्जनभन्दा बढी युरोपेली नेताहरूसँग छलफल सकिएलगत्तै फक्स न्युजको 'फक्स एन्ड फ्रेन्ड्स' कार्यक्रममा अन्तर्वार्ता दिँदै ट्रम्पले ७ वटा युद्ध रोकेको दाबी गरेका हुन्।
यद्यपि उनले आफ्नो पहलमा समाधान भएको सातौं युद्ध कुन हो भनेर खुलाएका छैनन्।
उनले गत शनिबार युक्रेनमा युद्धविरामबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकामै बोलाएर छलफल गरेका थिए। अलास्कामा वार्ता भए पनि त्यसको परिणाम आइसकेको छैन।
राष्ट्रपति ट्रम्पको पहलमा विभिन्न मुलुकबीचको द्वन्द्व समाधान भएको भनेर ह्वाइट हाउसले यसअघि नै सूची सार्वजनिक गरेको थियो।
ह्वाइट हाउसले सूची सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले नोबल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेको थियो। राष्ट्रपति ट्रम्पलाई पनि नोबेल शान्ति पुरस्कार पाउने उत्कट चाहना छ।
उनको पहिलो कार्यकालभन्दा पहिलेका राष्ट्रपति बाराक ओबामाले पनि नोबेल शान्ति पुरस्कार पाएका थिए। ओबामाले केही नगरी नोबेल पुरस्कार पाएको भन्दै ट्रम्पले पहिलो कार्यकालदेखि नै सो पुरस्कारको दाबी गर्दै आएका थिए।
दोस्रो कार्यकालमा पनि उनले बारम्बार त्यसको दाबी गर्दै आएका छन्।
उनलाई खुसी पार्न भारत-पाकिस्तानको युद्ध रोकेको भन्दै पाकिस्तानले अनि इरान-इसराइल युद्ध रोकेको भन्दै इसराइलले नोबेल पुरस्कारका लागि उनलाई औपचारिक रूपमा सिफारिस नै गरेका छन्।
आफूले नगरेको कामको पनि श्रेय लिने ट्रम्पले दोस्रो कार्यकालको ६ महिनामा छ वटा युद्ध रोकेको दाबी गर्दै आएका छन्।
स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा विभिन्न विधामा दिइने नोबेल पुरस्कार स्विडेनमा रहेको नोबेल फाउन्डेसनले दिन्छ।
नोबेल शान्ति पुरस्कार विजेताको छनोट भने नर्वेली नोबेल समितिले गर्छ। सो समितिमा नर्वेली संसदले सिफारिस गरेका पाँच सदस्य हुन्छन्।
गत महिना ट्रम्पले नर्वेका अर्थमन्त्री जेन्स स्टोल्टेनबर्गलाई फोन गरेर नोबेल शान्ति पुरस्कारमा आफ्नो दाबीबारे कुरा गरेका थिए।
त्यतिबेला भन्सार दरबारे कुरा गर्न भनेर फोन गरेर ट्रम्पले सुरूमै नोबेल शान्ति पुरस्कारबारे कुराकानी गरेको भनेर नर्वेली पत्रिकाहरूले सार्वजनिक गरेका थिए।
दोस्रो कार्यकालमा औसतमा हरेक महिनाजसो एउटा युद्ध समाधान गरे पनि पछाडि ओझेलमा पारिएको ट्रम्पले बताउँदै आएका छन्।
'म साँच्चै स्वर्गमा पुग्न चाहन्छु,' ट्रम्पले अन्तर्वार्तामा भनेका थिए।
ट्रम्पको दाबी अनुसार ह्वाइट हाउसले सार्वजनिक गरेको सूचीमा कम्बोडिया-थाइल्याण्ड, इसराइल- इरान, रूवान्डा-कंगो, भारत-पाकिस्तान, सर्बिया-कोसोभो, अर्मेनया- अजरबैजान र इजिप्ट- इथियोपियाबीचको द्वन्द्व समाधान गरेको दाबी छ।
तर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स र टेलिभिजन नेटवर्क सिएनएनको रिपोर्टले ट्रम्पले दाबी गरेका ती सबै मुलुकबीचको द्वन्द्व पूर्ण रूपमा समाधान नभएको उल्लेख गरेको छ। केही मुलुकमा युद्ध पुनः सुरू भएको र केहीमा द्वन्द्व बढेको भनेका छन्।
आर्मेनिया र अजरबैजान
यो महिना ट्रम्पले आर्मेनिया र अजरबैजानका नेताहरूलाई ह्वाइट हाउसमा ल्याएर उनीहरूको लामो समयदेखिको द्वन्द्वलाई अन्त्यको नजिक ल्याउने उद्देश्यले संयुक्त घोषणामा हस्ताक्षर गराएका थिए।
दुई राष्ट्रबीच सुलह गर्न पहिले रूसले भूमिका खेलेको थियो। युक्रेनसँग युद्ध सुरू भएयता भने रूसले दुई देशबीचको द्वन्द्व समाधाना ध्यान दिएन। त्यसपछि ट्रम्पले हस्तक्षेप गरेका थिए।
ह्वाइट हाउसमा भएको सम्झौतामा आर्मेनियाले अमेरिकालाई आफ्नो देशबाट प्रमुख पारवहन मार्ग 'ट्रम्प रुट फर इन्टरनेशनल पिस एन्ड प्रोस्पेरिटी' विकास गर्ने अधिकार दिने बताएको थियो। यो परियोजनालाई युरोपलाई अजरबैजान र मध्य एसियासँग जोड्ने आर्थिक खेल परिवर्तक मानिएको छ।
तर यो मार्ग कहिले खुल्छ र कुन सर्तमा भन्ने स्पष्ट छैन। स्थायी शान्तिका लागि ठूला अवरोधहरू कायम छन्। अजरबैजानले आर्मेनियाको संविधानबाट विवादित नागोर्नो-काराबाख क्षेत्रको उल्लेख हटाउन माग गरिरहेको छ। जुन क्षेत्र अजरबैजानले २०२३ मा पूर्ण रूपमा कब्जा गरेको थियो। अजरबैजानले सुरक्षा चासो देखाउँदै आर्मेनियाको सानो क्षेत्र पनि कब्जा गरेको छ, र दुवै देशले साझा सीमा निर्धारण गर्न सकेका छैनन्। हाललाई, दुई देशबीचको सीमा बन्द छ र कूटनीतिक सम्बन्ध टुटेको छ।
कंगो र रूवान्डा
जुनमा रूवान्डा र डेमोक्रेटिक रिपब्लिक अफ कंगोका शीर्ष कूटनीतिज्ञहरू तीन दशकभन्दा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर गर्न ओभल अफिसमा आएका थिए।
कतारले पनि यो सम्झौतामा प्रमुख भूमिका खेलेको थियो। यसले पूर्ण शान्ति सम्झौताको बाटो खोल्ने अपेक्षा गरिएको थियो।
ट्रम्पले यो सम्झौतालाई गौरवपूर्ण विजय भनेका थिए।
तर पूर्ण सम्झौताका लागि वार्ता असफल भएको न्यूयोर्क टाइम्सले जनाएको छ।
त्यहाँ घातक युद्ध जारी छ। सोमबार पूर्वी कंगोमा रूवान्डाले समर्थन गरेको मुख्य विद्रोही समूह एम२३ ले अमेरिका समर्थित सम्झौताबाट पछि हट्ने बताएको छ। उसले कंगोको सेनाले सम्झौताको सर्त तोडेको दाबी गरेको छ।
भारत र पाकिस्तान
गत अप्रिलमा काश्मिरको पहलगामा आतंककारी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारत-पाकिस्तानबीच युद्ध नै भएको थियो। चार दिनसम्म चलेर युद्धविराम भएपछि ट्रम्पले आफूले त्यसको मध्यस्थता गरेको दाबी गरेका थिए।
भारतले भने ट्रम्पको दाबी खण्डन गर्दै दुई देशका सेना प्रमुखहरूले संवाद गरी युद्धविराम गरेको बताउँदै आएको छ।
यो विषयले पनि अमेरिका र भारतबीच सम्बन्ध चिसिँदै गएको छ। अमेरिकी मध्यस्थता स्वीकार गर्ने पाकिस्तानलाई ट्रम्पले १९ प्रतिशत भन्सार दर लगाएका छन् भने त्यो स्वीकार नगर्ने भारतलाई २५ प्रतिशत भन्सार लगाएका छन्। अझै रूसबाट तेल खरिद गरी युक्रेन युद्धमा रूसलाई सघाएको आरोप लगाएर थप २५ प्रतिशत अतिरिक्त भन्सार लगाउने चेतावनी ट्रम्पले दिएका थिए।
इसराइल र इरान
इसराइल र इरानबीच गत जुनमा १२ दिनसम्म चलेको आक्रमणपछि अमेरिकाले इरानको आणविक अड्डाहरूमा बम खसालेको थियो। त्यसपछि ट्रम्पले अचानक युद्धविराम सम्झौता भएको घोषणा गरेका थिए।
त्यतिबेला उनले आफ्नै अनुरोधमा इसराइलले इरानबाट युद्धविमानहरू फिर्ता गरेको दाबी गरेका थिए। त्यतिमात्रै होइन इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई मार्ने इसराइली योजना पनि आफूले रोकेको दाबी गरेका थिए।
दुवै पक्षले अमेरिकाको भूमिकालाई विवाद गरेको छैन, तर यो युद्धविरामको स्थायित्वमा प्रश्न छ। इरान र संयुक्त राज्य अमेरिकाबीच तेहरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता भंग भएको छ, जसलाई इजरायलले अस्तित्वको खतरा मान्छ।
अमेरिकी गुप्तचरले इरानको सबैभन्दा उन्नत आणविक हतियार कारखानामा अमेरिकी बमबारीले ठूलो क्षति पुर्याएको मूल्यांकन गरेको छ। तर केही विशेषज्ञहरूले तेहरानले अन्य स्थलहरूमा आणविक हतियार बनाउन आवश्यक युरेनियम संवर्धन पुनः सुरु गर्न सक्ने भनेका छन्।
कम्बोडिया र थाइल्याण्ड
गत जुलाइको अन्तिम साता दुई दक्षिणपूर्वी एसियाली देश कम्बोडिया र थाइल्याण्डबीच भएको युद्धमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो। त्यतिबेला ३ लाखभन्दा बढी विस्थापित भएका थिए।
त्यो द्वन्द्वलाई दुई देशबीचको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमध्ये भनिएको थियो।
त्यतिबेला ट्रम्पले थाइल्याण्ड र कम्बोडियाका नेताहरूलाई युद्धविराममा सहमत गरे व्यापार सम्झौता नगर्ने र चर्को भन्सार दर लगाउन धम्की दिएका थिए। त्यसपछि मलेसियाको मध्यस्थतामा दुई देशका अधिकारीहरूले युद्धविराममा सहमति गरेका थिए।
यसमा ट्रम्पले धम्की दिएर युद्ध रोकेको तर मूल समस्याका विषयलाई सम्बोधन गर्ने र त्यसको दीर्घकालीन समाधान नगरेको आरोप विपक्षीहरूले लगाउँदै आएका छन्।
इजिप्ट र इथियोपिया
इजिप्ट र इथियोपियाबीच सैन्य द्वन्द्व नभई अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत बाँधलाई लिएर कूटनीतिक विवाद छ।
इथियोपियाले निर्माण गरेको विशाल जलविद्युत् आयोजना ‘ग्रान्ड इथियोपियन रेनासाँस ड्याम’ले नाइलको पानी रोक्ने तथा खेती र पानीको आपूर्तिमा ठूलो असर गर्ने भन्दै इजिप्ट र सुडानले आपत्ती जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कार्यकालमा यो विवादलाई मध्यस्थता गर्ने प्रयास गरेका थिए। त्यतिबेला उनले
उनले इजिप्टले बाँधमाथि आक्रमण गर्ने चेतावनी दिएको भनेका थिए। दुई देशबीच वाशिङ्टनमा वार्ता भए पनि ठोस सम्झौता हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले भने आफूले द्वन्द्व समाधान गर्न भूमिका खेलेको दाबी गर्दै आएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)