दक्षिण एसियाली फुटबल महासंघ (साफ) को पुरुषतर्फको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप सन् २०२५ मा हुनु पर्ने हो।
तर साफले गत वैशाखमा श्रीलंकामा हुने भनिएको यो क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको १५औं संस्करण सन् २०२६ सम्मका लागि स्थगित गर्यो।
साफले सुरूमा यस वर्षको साफ च्याम्पियनसिपलाई 'होम एन्ड अवे' ढाँचामा आयोजना गर्ने निर्णय गरेको थियो। त्यसअनुसार तयारीसमेत गरिएको साफको भनाइ छ। तर साफ, सदस्य संघहरू र साझेदार संस्था स्पोर्टफाइभले प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न अझ थप तयारी आवश्यक भएको महसुस गर्दै एक वर्ष प्रतियोगिता पर सारेका थिए।
सबै सरोकारवाला पक्षलाई पर्याप्त समय मिलोस् भन्ने उद्देश्यले साफ च्याम्पियनसिपलाई सन् २०२६ सम्मका लागि सार्ने निर्णय गरिएको साफको भनाइ थियो।
यसरी यो क्षेत्रको ठूलो प्रतियोगिता नहुने भएपछि छिमेकी भारतले यो वर्ष सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा) अन्तर्गत २०२५ काफा नेशन्स कप खेल्दैछ। कप २९ अगस्टदेखि ८ सेप्टेम्बरसम्म हुँदैछ।
प्रतियोगितामा भारतले आमन्त्रित टोलीको रूपमा प्रतिस्पर्धा गर्न लागेको हो। काफाले सुरुमा मलेसियालाई आमन्त्रण गरेको थियो। तर मलेसियाले प्राविधिक कारणले नाम फिर्ता लिएपछि भारतले प्रतियोगिता खेल्न लागेको हो।
ताालिकाअनुसार यो वर्षको साफ च्याम्पियनसिप काफा हुने समयमै हुने तय थियो।
काफाको यो संस्करणमा भारतसहित सन् २०२६ को फिफा विश्वकप खेल्न लागेको उज्वेकिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान, ओमान, अफगानिस्तान, इरान र घरेलु टोली ताजिकिस्तान छन्।
भारतले समूह ‘बी’ मा सह-आयोजक ताजिकस्तानसहित इरान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ मा बाँकी टोली छन्। अर्को समूहको खेल सहआयोजक उज्वेकिस्तानमा हुनेछ।
काफा कपलाई भारतले एसियन कप छनोटको तयारीको रुपमा लिएको छ।
नेपालले भने एसियन कप छनोटअन्तर्गत भियतनामविरूद्धको खेलको तयारीका लागि बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल दशरथ रंगशालामा खेल्दैछ।