सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ।
बुधबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियाको क्वालालम्पुरमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा नेपालसम्मिलित समूहमा अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्।
दोस्रो चरणमा पुगेका नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा ५-५ टिमलाई राखिएको छ।
दोस्रो चरणको प्रतिस्पर्धा आगामी भदौ ९ देखि सुरु हुनेछ। पाँच टिमले होम एन्ड अवेको आधारमा एक वर्षको अन्तरमा ८-८ खेल खेल्नेछन्।
नेपालका लागि अस्ट्रेलिया नयाँ प्रतिद्वन्द्वी हो। पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलिया सन् २०१५ को एसियन च्याम्पियन हो।
ताइपेई र कुवेतसँग भने नेपालले केहि महिनाअघि मैत्रीपूर्ण खेल खेलको थियो। नेपालले ताइपेईसँग १-१ को बराबरी खेलेको थियो।
कुवेतविरुद्ध खेलेको २ मैत्रीपूर्ण खेल मध्ये नेपालले पहिलो खेल गोलरहित बराबरी खेल्दा दोस्रो खेल १-० ले हारेको थियो।
जोर्डनसँग नेपालले फिफा विश्वकप २०१४ को छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो। नेपाल पहिलो अवे खेलमा ९-० ले पराजित हुँदा दशरथ रंगशालामा भएको दोस्रो खेलमा १-१ गोलको बराबरी खेलेको थियो।
विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोटको समूह
समूह ए
चीन, सिरिया, फिलिपिन्स, माल्दिभ्स, गुवाम
समूह बी
अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई, कुवेत, नेपाल
समूह सी
इरान, इराक, बहराइन, हङकङ, कम्बोडिया
समूह डी
साउदी अरेबिया, उज्वेकिस्तान, प्यालेस्टाइन, यमन, सिंगापुर
समूह ई
बंगलादेश, ओमान, भारत, अफगानिस्तान, कतार
समूह एफ
जापान, किर्गिस्तान, ताजकिस्तान, म्यानमार, मंगोलिया
समूह जी
युएई, भियतनाम, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया
समूह एच
दक्षिण कोरिया, लेवनान, उत्तर कोरिया, तुर्केमिनिस्तान,श्रीलंका
फिफा विश्वकप तेस्रो चरण
विश्वकप छनोटको तेस्रो चरणमा पुग्न दोस्रो चरणको छनोट समूहमा कम्तिमा दोस्रो हुनु पर्नेछ।
समूहका ८ विजेता र उत्कृष्ट उपविजेता ४ टिम गरी १२ टिम तेस्रो चरणमा पुग्नेछन्। १२ टिमलाई २ समूहमा विभाजन गरिनेछन्।
दुवै समूहका शीर्ष २-२ टिम गरी ४ टिम विश्वकप २०२२ मा पुग्नेछन्। दुवै समूहमा तेस्रो हुने टिमबीच प्ले अफ हुनेछ। विजेता टिम अन्तरमहादेशिय प्लेअफमा पुग्नेछ। अन्तरमहादेशिय खेल जित्ने टिम विश्वकपमा पुग्नेछ।
एसिया कप २०२३
दोस्रो चरण छनोटको समूहका शीर्ष हुने ८ टिम सिधैं एसिया कप २०२३ पुग्नेछन्।
दोस्रो चरणको समूहको दोस्रो भएका उत्कृष्ट चार टिम पनि सिधैं एसिया कपमा पुग्नेछन्।
यस्तै चीन आयोजकको रुपमा एसिया कपमा पुगिससकेका छ। २४ देशबीच हुने एसिया कपका लागि बाँकी ११ टिमका तेस्रो चरणको छनोट हुनेछ।
एसिया कप तेस्रो चरण
दोस्रो चरणबाट एसिया कपमा छनोट हुन नसकेका समूहमा दोस्रो भएका ४ टिम एसियाको तेस्रो चरणमा पुग्नेछन्। यस्तै तेस्रो भएका ८ टिम पनि सिधैं तेस्रो चरणमा पुग्नेछन्। चौथो र पाँचौ भएकाले टिमले भने प्लेअफ खेलेर तेस्रो चरणमा स्थान बनाउने सक्नेछन्।