प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई सुझाव दिएका छन्।
सोमबार धरहरा परिसरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीहरू सुझाव दिए।
उनले भने, ‘एनपिएलले पर्यटन व्यवसायको प्रवर्धन गर्दछ भन्ने मलाई विश्वास छ। क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष एनपिएल लिग आयोजना गरोस् भन्ने इच्छा छ, शुभकामना छ।’
नेपाल प्रिमियर लिग आगामी शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
लिगमा आठ टोलीको सहभागिता रहनेछ जहाँ नेपालका ९६ खेलाडी र विभिन्न १६ देशका ३९ भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।