अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।
शनिबार भएको दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ सँग ३२ रनको पराजय भोगेको हो। यसअघि शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरीसँग हार ब्यहोरेको थियो।
बंगलादेशले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।
नेपालका लागि कुशल मल्लले नटआउट ५९ रन जोडे पनि पर्याप्त हुन सकेन। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
नन्दन यादवले नटआउट १४ रन प्रहार गरे।
त्यसअघि नेपालका लगि कुशल भुर्तेलले ७ बलमा १२ रन, आसिफ शेखले २४ बलमा २८ रन, लोकेश बमले १० बलमा १५ रन, रोहित पौडेल १० रन र दीपेन्द्रसिंह ऐरी १ रन बनाए।
बलिङमा बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेटको १८६ रन जोड्यो। उसका लागि ओपनर जिशन अलामले ७३ रन र अफिफ हुसेनले २३ बलमा नटआउट ४८ रन बनाए।
बलिङमा नेपालका रिजन ढकालले २ विकेट लिए। करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले १- १ विकेट लिए।
सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्।
शनिबारपछि नेपालले सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।
यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ।
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई वटा र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा गरी कुल चार वटा टी-२० खेल खेल्नेछ।
यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।
एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम