दुई दशकअघिसम्म क्रिकेटमा देशभर जनकपुरका खेलाडीको दबदबा हुन्थ्यो। यहाँ फुटबल, कबड्डी, क्रिकेट, भलिबल लगायत अनेक खेलका टिम र क्लब थिए। तीमध्ये तत्कालीन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) ले खेलकुद क्षेत्रलाई सबभन्दा धेरै खेलाडी दिने संस्थाको रूपमा आफ्नो परिचय बनाएको थियो।
जचुकालीले खेलाडीहरूलाई तलबसहितका सुविधा दिएर खेलको विकासमा टेवा पुर्याएको थियो।
परिस्थिति एकनास रहेन।
आर्थिक संकट बढेपछि जचुकालीले खेलाडी अनुबन्धन गर्न सकेन। सम्भावना भएका खेलाडीहरूमा राज्यले लगानी गरेन।
यसपछि जनकपुर क्षेत्रका खेलाडी बेरोजगार भए। कोही विदेश गए त कोही अर्को व्यवसायमा लागे। त्यसयता जनकपुरमा खेलप्रति आकर्षण घट्यो, खेलाडी उत्पादन हुन छोड्यो।
केही महिनायता स्थानीय युवाको सक्रियताले क्रिकेटमा फेरि आकर्षण बढेको छ। पछिल्लो ६ महिनामा यहाँ पाँच वटा क्रिकेट प्रतियोगिता सम्पन्न भए जसले गुमनाम क्रिकेट खेलाडीलाई फेरि चर्चामा ल्याएको छ। क्रिकेटमा रूचि भएका युवाले आफ्नो उज्यालो भविष्य कल्पना गर्न थालेका छन्।
गत जेठ १५ गतेदेखि २६ गतेसम्म भएको 'महेन्द्रनारायण निधि क्रिकेट टुर्नामेन्ट' राष्ट्रिय स्तरमा चर्चा पाएको थियो। नेपाल क्रिकेट संघ, मधेस प्रदेशको आयोजना तथा मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेल भएको थियो।
प्रतियोगितामा सातवटै प्रदेशका टिम सहभागी थिए। नेपाल क्रिकेट संघ (क्यान) बाट छनौट टोली पनि आएको थियो।
मधेि प्रदेश क्यानका अध्यक्ष हीरा भगतका अनुसार राम्रो प्रदर्शन गरेका खेलाडीहरू आगामी वर्ष विश्वकप क्रिकेटका लागि छनौट गर्न आयोजना हुने क्याम्पिङमा सहभागी हुन पाउनेछन्।
'कुन खेलाडीलाई क्याम्पमा पठाउने भन्ने निर्णय आइसकेको छैन तर यी टुर्नामेन्टहरूले जनकपुर फेरि क्रिकेटमय बनेको छ। क्रिकेटमा रूचि भएका युवाहरूमा जोशजाँगर आएको छ,' भगतले भने, 'हामी सबैको हौसला बढेको छ। अब जनकपुरले फेरि क्रिकेट क्षेत्रमा फड्को मार्नेछ।'
त्यसअघि जनकपुरमा मेयर कप क्रिकेट टी-२० प्रतियोगिता भएको थियो। मेयर कपमा जिल्लाभरका टिमले खेल्न पाए। क्रिकेटबारे बहस भयो। क्यानको पनि ध्यानाकर्षण भयो।
प्रतियोगिता आयोजनाको अगुवाइ गरेका स्थानीय युवा सरोज मिश्रले भने, 'महेन्द्र नारायण निधि कपमा क्यानले छनौटका लागि मान्छे पठाएर खेलाडीको हौसला बढायो।'
मेयर कप हुनुअघि 'जनकपुर एकेड' को आयोजनामा अन्तर कलेज टी-२० क्रिकेट प्रतियोगिता भएको थियो। त्यसअघि, गत वर्ष माघमा 'हरिज स्पोर्ट' ले अन्तर स्कुल क्रिकेट प्रतियोगिता गरेको थियो। यसपछि लगातार टुर्नामेन्टहरू भइरहेका छन्।
हरिज स्पोर्टका प्रमुख हरिशंकर साह नेपालका राष्ट्रिय क्रिकेट टिमका खेलाडी हुन्। बालबालिकामा क्रिकेटप्रति रूचि जगाउन अन्तर विद्यालय क्रिकेट टुर्नामेन्ट सुरू गरेको उनले बताए।
'क्रिकेटमा देशका लागि केही गर्ने मेरो सपना छ। यसका लागि बच्चैदेखि लगानी गर्न जरूरी छ। बालबालिकामा खेलप्रति रूचि कम देखिन थालेको छ,' साहले चिन्ता प्रकट गरे, 'बालबालिकाहरू मोबाइलमा मात्रै सीमित भइसके, कुलतमा फस्न थालेका छन्।'
हाल भइरहेका प्रतियोगिताहरूबाट उनी उत्साहित भएका छन्।
'बालबालिका शारीरिक र मानसिक विकासमा पछि पर्न थालेका छन्। यिनीहरूलाई अन्तर स्कुल क्रिकेट प्रतियोगिताले मैदानमा खेल्न हौसला दिएको छ,' उनले भने।
यसपालि जनकपुरका स्कुललाई मात्र समेट्न सकेको भए पनि अर्को पटकदेखि अन्य स्थानीय तहका स्कुललाई पनि सहभागी गराउने लक्ष्य रहेको उनले बताए।
साहका अनुसार अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा भाग लिएकामध्ये करिब ४० जना विद्यार्थी नियमित अभ्यासमा छन्। विद्यालयले पनि प्रशिक्षक राखेर अभ्यास गराएका छन्। राम्रो प्रदर्शन गरेका केही विद्यार्थीले छात्रवृत्ति पनि पाएका छन्।
क्रिकेट प्रतियोगिता आयोजनाका अगुवा सरोज मिश्रले क्रिकेट क्षेत्रमा जनकपुरको प्रभाव कायम गर्न नयाँ शिराबाट टुर्नामेन्ट आयोजना गर्ने तयारी भएको बताए।
पहिले स्कुल तहको अन्डर–१४, कलेज तहको अन्डर–१८, क्यालेन्डर अनुसारका लिग मेयर कप र महेन्द्र नारायण निधि कप आयोजना हुने उनले जानकारी दिए। अगामी वर्ष आयोजना हुने मेयर कपमा प्रदेशका सबै जिल्लालाई सहभागी गराउने योजना छ।
जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त (गुड्डु) पाण्डेयका अनुसार जनकपुरमा क्रिकेट मैदान बन्न नसक्दा समस्या भएको छ। मैदान नभएकाले अव्यवस्थित 'रंगभूमि मैदान' मा खेल्नुपर्ने बाध्यता छ। प्रस्तावित 'रामजानकी अन्तर्राष्ट्रिय रंगशाला' निर्माणका लागि सरकारले बजेट नदिएको उनको भनाइ छ।
हाल प्रतियोगिताहरू रंगभूमि मैदानमै गरिनछ।
'यो मैदानमा हामी प्रत्येक वर्ष लगानी गर्थ्यौं तर केही दिनमै खेर जान्थ्यो। सांस्कृतिक कार्यक्रम गर्ने ठाउँ पनि यही हो,' मिश्रले भने, 'प्रदेश सरकार र नगरपालिकाले थोरै–थोरै बजेट व्यवस्थापन गरिदिएपछि अहिले कामचलाउ स्टेडियम बनेको छ।'
२०७६ भदौ २० मा तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले रंगशाला मैदानमा क्रिकेट, फुटबल र हक्की स्टेडियम बनाउने निर्णय गरेका थिए। प्रादेशिक रंगशाला आयोजनाअन्तर्गत गत वर्ष दुई करोड ५० लाख रूपैयाँ बजेट अन्य प्रदेशसहित मधेस प्रदेशमा पनि विनियोजन भएको थियो।
रंगशाला बनाउन पहल गरिरहेका स्थानीय अभियन्ता दिनेश पूर्वेका अनुसार नेपाल सरकारले दिएको उक्त रकमबाट गेट, कार्यालय सुरक्षागृह, पर्खाल तथा तारबार बनाउनुपर्ने थियो। अहिले मैदानको केही भागमा मात्रै पर्खाल बनेको छ।
मेयर कप हुनुअघि जनकपुर उपमहानगरपालिकाको सहयोगमा यहाँका युवाहरूले मैदानमाथिको विद्युतीय तार हटाउन लगाएका थिए। अहिले मैदानमा अस्थायी पिच बनाइएको छ।