नेपाली क्रिकेटका एक प्रतिभाशाली अलराउण्डर शक्ति गौचन अब अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय जर्सीमा देखिनै छैनन्। भलै उनले नेदरल्याण्डसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न बाँकी छ।
नेपाली क्रिकेटमा पछिल्लो १५ वर्ष प्रभावशाली प्रदर्शन गरेका उनी अब थाकेका छन्। र त घोषणा गरे, ‘अब नेदरल्याण्डसँगको खेल नै अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम खेल हो,’ उनको सुन्दर घोषणा छ, ‘अन्तिम खेल भने आफ्नै देशमा खेल्नेछु।’ जहाँबाट खेल्न जानेँ खेलजीवन त्यहीं अन्त्य गर्छु भन्ने भावनाले उनको राष्ट्रप्रेम छर्लङ्ग हुन्छ।
शक्ति नेपाली क्रिकेटका लागि अमूल्य खेलाडी बने। उनले टिमलाई धेरैचोटि संकटबाट जोगाए। दायाँ हातले गर्ने ब्याटिङ होस् वा बायाँ हातले गर्ने लेग स्पीन बलिङ दुवैमा उनी उत्तिकै फिट रहे। राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गौचनले नेदरल्याण्ड टूरपछि राष्ट्रिय टिममा छनोट नहुने गरी सन्यास लिन लागेको जानकारी दिएका छन्। त्यसो त गौचन आफैले पनि यसलाई पुष्टि गरिसकेका छन्। ‘विदेशमा हुने यो मेरो अन्तिम खेल हो। मैले पूर्णरूपमा सन्यासको घोषणा गरेको छु’, गौचनले भनेका छन्, ‘घरेलु भूमिमा नेपालबाट अन्तिम खेल खेल्नेछु।’
अन्तर्राष्ट्रिय खेल
सन् २००२ मा ओमानविरुद्ध खेल्दै गौचनले राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। त्यस सिरिजमा उनले २.२८ इकोनोमी बलिङ फालेर ७ विकेट लिए। पहिलो खेलमा नै उनले आफूलाई ‘हुने बिरुवाको चिल्लो पात’ प्रमाणित गरेका थिए। अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने उनी नेपालका पहिलो खेलाडी हुन्। ९ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेलेका गौचनले ८ विकेट लिएका छन्। यस्तै लिस्ट ‘ए’ बाट १८ विकेट लिएका थिए।
सन् १९८४ मा जन्मिएका गौचनले सन् २००१ मा यु–१७ एसिया कप खेलेका थिए। बंगलादेशमा भएको यो सिरिजमा उनले ओमानविरुद्ध बलिङ गरेका थिए। त्यसपछि सन् २००२ मा यु–१९ विश्वकप खेले, जुन न्युजिल्याण्डमा भएको थियो। त्यही वर्ष उनले नेपाली सिनियर टिममा डेब्यु गरे। सिनियर टिमबाट उनले सन् २००२ मा एसीसी ट्रफी सिंगापुरमा खेलेका थिए। त्यसपछि पनि उनले २ वर्षसम्म यु–१९ उमेर समूह क्रिकेट खेले। युथ एसिया (सन् २००३), भारत टुर र सन् २००४ मा भएको यु–१९ विश्वकपमा पनि उनले खेले। त्यसपछि फेरि उनले २००४ मार्चबाट सिनियर टिममा कमब्याक गरे। उनले त्यही वर्ष मलेसिया र युएईविरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कप खेले।
उनीसँग नेपाली क्रिकेटले गरेको सबैखाले अन्तर्राष्ट्रिय संघर्षमा साक्षी बसेको अनुभव छ। नेपाल डिभिजन ५ देखि डिभिजन १ सम्म पुग्दा अनेक आरोह–अवरोह पार गरेको उनलाई थाहा छ। सन् २०१२ मा उनले डिभिजन फोरमा मलेसियाविरुद्ध गरेको धारिलो बलिङले रेकर्ड नै कायम गरेको छ। उनले सीमित ओभरको म्याचमा गरेको त्यो प्रदर्शनले अझै उनको महत्व बढायो। त्यस खेलमा १० ओभर बल फालेका उनले ८ मेडन राख्दै २ रन मात्रै खर्चेर ३ विकेट खसाले। यो प्रदर्शन वेस्ट इन्डिजका फिल सिमोन्सले १९९२ मा पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन खर्चेर लिएको ४ विकेटभन्दा केही कम हो।
त्यसपछि उनलाई आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले ट्रायलको मौका दियो। उनले छनोट गराउन त सकेनन्। तर, धेरै सिक्ने मौका पाए। नेट प्राक्टिसमा उनले भारतीय लिजेन्डरी ब्याट्सम्यान राहुल द्रविडलाई आउट गरेर सबैलाई प्रभावित गरे। त्यसपछि राजस्थानले ट्वीट गर्दै भनेको थियो, ‘अहिलेका लागि शक्ति गौचनले महत्वपूर्ण अनुभव हामीसँग हासिल गरेका छन्। आगामी दिनमा उनले नेपाली क्रिकेटका लागि महत्वपूर्ण योगदान गर्न सक्नेछन्।’
गौचनले टी–ट्वान्टीमा पनि प्रदर्शन गरे। उनले पहिलोपटक छोटा ओभरको क्रिकेट खेल्ने क्रममा पहिलो अन्तराष्ट्रिय टी–ट्वान्टी सन् २०१४ मा खेले। उनले हङकङविरुद्ध ४ ओभर बलिङ गरेर ९ रन खर्चेर ३ विकेट लिएपछि म्यान अफ दी म्याच बने।
किन महत्वपूर्ण शक्ति?
शक्तिको शक्ति बलमा मात्रै होइन, ब्याटमा पनि उत्तिकै झल्एिको छ। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने दोस्रा खेलाडी हुन्। आईसीसी वल्र्डकप क्वालिफायर खेल्दा सन् २००५ मा उनले इटालीविरुद्ध १०३ बलमा १०६ रन हाने। त्यसअघि नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय शतक राजु खड्काको नाममा मात्रै थियो। उनले सन् २००४ मा भुटानविरुद्ध ५० बलमा १०५ रन हानेका थिए।
सन् २०१० को एसियन गेम्स र २०११ को एसीसी टी–ट्वान्टी कपमा उनलाई टिममा राखिएन। नेपाली क्रिकेट समर्थकले उनलाई नेपाली क्रिकेटका लागि उनी ‘अनफिट’ भएको भन्दै आलोचना गरे। तर, उनले निरन्तर संघर्ष गरे र फेरि टिममा फर्किए। उनले सन् २०१२ को आईसीसी टी–ट्वान्टी क्वालिफायरमा १६ विकेट मात्रै लिएनन्, बढी विकेट लिनेमध्ये प्रतियोगिताकै दोस्रो नम्बरमा परे। त्यही प्रतियोगितामा उनले डेनमार्कविरुद्ध ह्याट्रिक गरे। त्यही प्रतियोगितापछि नै उनलाई राजस्थानले बोलाएको थियो।
यसपछि पनि उनी टिमका लागि प्रेरणा बनिरहे। नेपाल निरन्तर माथिल्लो डिभिजनमा चढ्दै गर्दा र अन्तर्राष्ट्रिय टी–ट्वान्टी वल्र्डकप खेलिरहँदा उनी महत्वपूर्ण सदस्य बने। उनी ईएसपीएन क्रिकइन्फोको विश्वका बेस्ट ११ मा पर्ने दोस्रो खेलाडी हुन्। उनीबाहेक कप्तान पारस खड्काले मात्रै यो अवसर पाएका छन्।
मुख्य योगदान
शक्तिले नेपाली क्रिकेटका लागि धेरै गरेका छन्। डिभिजन फोरदेखि उनकै योगदानले कयौं खेलमा नेपाललाई उत्कृष्ट सावित गरेको छ। उनले सन् २०१२ मा एसीसी एलिट ट्रफीमा लिएको १५ विकेट, सोही वर्ष आईसीसी टी–ट्वान्टी क्वालिफायरमा लिएको १६ विकेट र सोही वर्ष नै डिभिजन फोरमा लिएको १० विकेट महत्वपूर्ण योगदान हुन्। सन् २०१४ मा नेपालले आईसीसी वल्र्डकप टी–ट्वान्टी खेल्दा हङकङविरुद्ध ३ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए। नेपालको लागि अहिलेसम्मकै ठूलो प्रतियोगिता हो वल्र्डकप। समूह चरणको तीन खेलमा शक्तिले ५ विकेट लिएका थिए। त्यही वर्ष उनले एसिएन गेम्समा ३.५४ को इकोनोमीमा ५ विकेट लिए। त्यही वर्ष आईसीसी वल्र्ड क्रिकेट डिभिजन थ्रीमा १० विकेट लिए। त्यसमा उनको इकोनोमी २.८७ मात्रै थियो। त्यस्तै सन् २०१५ मा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुमा उनले ३.४ इकोनोमीमा ७ विकेट लिए।
न्यूजिल्याण्डका पूर्व क्रिकेटर इयान ओब्रिनले आफ्नो ट्वीटर ह्याण्डलमा शक्ति गौचनको तारिफ गरेका छन्। उनले न्युजिल्याण्डको क्लब क्रिकेटले शक्तिजस्तो खेलाडीलाई ‘पिक’ गर्नुपर्ने भनेका छन्। ‘शक्तिलाई न्युजिल्याण्डको क्रिकेट क्लबले पिक गर्नुपर्छ’, उनले भनेका छन्, ‘यसको दुई कारण छन्- पहिलो उनी अभूतपूर्व छन् र अर्को म सिक्न चाहन्छु कि उनी र उनको क्रिकेटबारेमा।’
सधैं सम्झनामा शक्ति
शक्तिले गर्ने स्पीन बलिङ क्रिकेटमा जति शालिन देखिन्छ, शक्ति पनि त्यस्तै शालिन छन्। त्यसैले गर्दा उनका समर्थक पनि बढेका हुन्। उनी वर्तमान क्रिकेट टिमका सबैभन्दा सिनियर खेलाडी हुनुको नाताले सबै युवा क्रिकेटरका लागि उनी ‘लिजेन्ड’ हुन्। उनीसँग घरेलुदेखि अन्तर्राष्ट्रिय पर्याप्त अनुभव छन्। उनले आफ्नो उद्गम रुपन्देहीमा क्रिकेट एकेडेमी पनि खोलेका छन्। त्यसले क्रिकेटर उत्पादन पनि गरिरहेको छ। उनी अहिले ३४ वर्षका भए। अन्तर्राष्ट्रिय खेलका हिसाबले उनको उमेर ‘फेजआउट’ भएपनि खासमा उनी ‘बूढा’ भएका होइनन्।
आगामी दिनमा नेपाली क्रिकेटले उनीबाट धेरै कुरा लिन सक्छ। उनलाई विभिन्न तरिकाले नेपाली क्रिकेटको वरिपरि नै राख्न सकिन्छ। उनीसँग रहेको ट्यालेन्ट र अनुभव दुवै नेपाली क्रिकेटको सम्पत्ति हुन्। यसलाई भरपुर उपयोग गर्न सकिन्छ। सोझोरुपमा भन्नुपर्दा प्रशिक्षकका रुपमा उनलाई प्रयोग गर्न सकिन्छ। नेपाली क्रिकेटमा ‘स्यागी दाइ’ उनलाई मायाले भनिने उपनाम हो। त्यही स्यागी दाइ अब खेलाडीका रुपमा ब्याट नसमाए पनि ब्याट समाउनेको अभिभावकको रुपमा रहन सक्छन्।