यूएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर-४ मा स्थान पक्का गरेका छन्।
बुधबार पाकिस्तानले यूएईलाई ४१ रनले पराजित गर्दै सुपर-४ मा स्थान बनायो।
तर, यो खेलअघि निकै अन्योल भएको थियो। पाकिस्तानले खेल बहिष्कार गर्ने चेतावनी दिए पनि अन्तिममा खेल्न तयार भएको थियो।
पाकिस्तानी खेलाडीहरू अपराह्न साढे ४ बजे होटलबाट दुबई रंगशालाका लागि निस्कने तालिका थियो। तर, उनीहरू ननिस्किएपछि खेलमा अन्योल बढेको थियो।
यूएईका खेलाडीहरू ५ बजे नै रंगशालामा पुगेका थिए। तर, पाकिस्तानले खेल बहिष्कार गर्न सक्ने हल्ला चलेपछि उनीहरू पनि अन्योलमा परे।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वी (जो एसियाली क्रिकेट परिषद्का प्रमुख पनि हुन्) दुई पूर्वअध्यक्ष रमिज राजा र नजम सेठीसँग पाकिस्तानमै बैठकमा थिए।
सुरुमा खेल एक घण्टा ढिलो हुने घोषणा गरियो, जसअनुसार टस साँझ ७ बजे र खेल ७:३० बजे सुरु हुने थियो।
विवादको मुख्य कारण जिम्बाव्वेका म्याच रेफ्री एन्डी पाइक्रफ्ट थिए। गत आइतबार भारतविरुद्धको खेलमा उनले पाकिस्तानी कप्तान सलमान आली आगालाई भारतीय कप्तान सूर्यकुमार यादवसँग हात नमिलाउन भनेपछि विवाद भएको थियो।
उनलाई कारबाही नगरेसम्म पाकिस्तानले यूएईविरुद्ध नखेल्ने अडान लिएको थियो। तर, विवादित रेफ्री पाइक्रफ्ट ५ बजे रंगशालामा देखिएका थिए। पीसीबीले उनलाई हटाउन चाहन्थ्यो, तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) तयार थिएन।
केहीबेरपछि पाकिस्तानी खेलाडीहरू होटलबाट रंगशालातर्फ गए। पाकिस्तानी खेलाडी रंगशालामा पुग्दा यूएईका खेलाडीले अभ्यास र टोली बैठक सकिसकेका थिए र टसको प्रतीक्षामा थिए।
त्यसैबीच पाकिस्तानी टिम म्यानेजर नाभेद अक्रम, कप्तान सलमान आगा र प्रशिक्षक माइक हेसनले पाइक्रफ्टसँग बन्द कोठामा बैठक गरे। केही समयपछि पीसीबीले पाकिस्तानी मिडियालाई टिम व्यवस्थापनले पाइक्रफ्टसँग कुरा गरिरहेको भिडियो क्लिप पठायो। टसको समय (७ बजे) को केही मिनेटअघि पीसीबीले प्रेस विज्ञप्ति जारी गर्यो।
विज्ञप्तिमा पाइक्रफ्टले आइतबार भारतविरुद्धको खेलमा भएको ‘गलत सञ्चार’ का लागि माफी मागेको दाबी गरियो। त्यही माफीका कारण पाकिस्तानले खेल बहिष्कारको निर्णय फिर्ता लिएको बताइएको छ।
पीसीबीले आइतबार दुबईमा भएको भारत-पाकिस्तान खेलमा टसको समयमा पाइक्रफ्टले दुवै कप्तानलाई हात नमिलाउन भनेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो। तर, आईसीसीले स्पष्टीकरण दिँदै एसियाली क्रिकेट परिषद्का अधिकारीहरूले नै पाइक्रफ्टलाई यो निर्देशन दिएको र उनले सोहीअनुसार सलमान आगालाई जानकारी गराएको जनाएको थियो।
आईसीसीको कानुन विभागको पत्रले म्याच रेफ्रीले भारतीय टोलीको पक्ष लिएको भन्ने पाकिस्तानको दाबीलाई खारेज गरेको थियो।
यो घटनाले बुधबारको पाकिस्तान-यूएई खेलअघि प्रश्न उठाएको थियो। पाइक्रफ्ट नै उक्त खेलका रेफ्री थिए, र पीसीबीले उनलाई नहटाएसम्म खेल नखेल्ने अडान लिएको थियो।
आइतबार राति भएको एसिया कप टी-२० को बहुप्रतिक्षित भारत-पाकिस्तान खेलमा भारत ७ विकेटले विजयी भएको थियो। तर, पाकिस्तानी खेलाडीले हात मिलाउन तयार हुँदा भारतीय टोलीले हात नमिलाएपछि दुई छिमेकी देशबीचको तनाव मैदानमा पनि देखिएको थियो।
भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले आफ्नो क्रिकेट बोर्ड (बीसीसीआई) र भारत सरकारसँगको सल्लाहमा खेलअघि नै पाकिस्तानसँग हात नमिलाउने निर्णय गरेको बताएका थिए।
भारतीय टोलीको यो कदमले पाकिस्तानी टोली निराश देखिएको थियो। पाकिस्तानका प्रशिक्षक माइक हेसनले खेलपछि हात मिलाउन तयार रहे पनि भारतीय खेलाडीले बेवास्ता गरेको बताएका थिए।
यसै कारण पाकिस्तानी कप्तान सलमान आगाले खेलपछिको टेलिभिजन अन्तर्वार्ता दिन अस्वीकार गरेर भारतको कदमको विरोध गरेका थिए।
पाकिस्तानले यी घटनाहरूबारे म्याच रेफ्री पाइक्रफ्टसमक्ष असन्तुष्टि व्यक्त गरेको थियो। खेल सकिएको केही घण्टापछि पीसीबीले विज्ञप्ति जारी गर्दै टिम म्यानेजरले पाइक्रफ्टविरुद्ध ‘औपचारिक विरोध’ दर्ता गरेको जनाएको थियो।
पीसीबीका अनुसार, पाइक्रफ्टले टसका बेला दुवै कप्तानलाई हात नमिलाउन अनुरोध गरेका थिए। भारतको पहलगाममा भएको आतङ्कवादी हमलापछि यो भारत र पाकिस्तानबीचको पहिलो क्रिकेट खेल थियो।