नेपालविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि वेस्ट इन्डिजले नयाँ खेलाडीलाई प्राथमिकता दिएको छ।
वेस्ट इन्डिजले यसै महिना शारजाहमा हुने नेपालविरुद्धको तीन खेलको टी-२० सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
उसले नेपालविरूद्धको सिरिजका लागि धेरैजसो मुख्य खेलाडीहरूलाई आराम दिने निर्णय गरेको छ। कप्तान शाई होप, तीव्र गतिका बलर अल्जारी जोसेफ र ब्याट्सम्यान जोनसन चार्ल्सजस्ता अनुभवी खेलाडीले यो सिरिज खेल्ने छैनन्।
स्पिनर अकील हुसेनले टोलीको कप्तानी गर्नेछन्। फाबियन एलेन, जेसन होल्डर र काइल मेयर्सजस्ता नियमित खेलाडीहरूले टोलीमा छन्।
सिरिजमा पाँच खेलाडीले टी-२० अन्तर्राष्ट्रिय डेब्यू गर्ने सम्भावना छ। ब्याट्सम्यान अकेम अगस्टे, अलराउन्डर नविन बिदैसी, स्पिनर जिशान मोतारा, तीव्र गतिका बलर रामोन सिमोन्ड्स र विकेटकिपर आमिर जन्गु पहिलो पटक टोलीमा समावेश छन्।
क्रिकेट वेस्ट इन्डिजका क्रिकेट निर्देशक माइल्स बास्कम्बले यो सिरिजले टोलीका खेलाडीहरूलाई अर्को वर्षको सुरुमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपअघि आफूलाई प्रमाणित गर्ने अवसर प्रदान गर्ने बताए।
उनले भने, ‘नेपालविरुद्धको यो सिरिज वेस्ट इन्डिज क्रिकेटलाई फराकिलो बनाउनको लागि अर्को महत्त्वपूर्ण कदम हो। यसले हाम्रो सिनियर पुरुष टोलीलाई एउटा उत्साहजनक उदियमान राष्ट्रसँग खेल्ने अवसर दिन्छ र फरक परिस्थितिमा अनुभव प्राप्त गर्न मद्दत गर्छ। तत्कालको प्रतिस्पर्धाभन्दा बाहिर यो भ्रमणले चुनौतीको लागि तयार टोली विकास गर्ने हाम्रो दीर्घकालीन दृष्टिकोणलाई उजागर गर्छ। वेस्ट इन्डिज क्रिकेटलाई नयाँ क्षेत्रमा र नयाँ विपक्षीसँग खेलाउँदा हामीलाई खेलको विकास गर्न, नयाँ प्रशंसकलाई प्रेरित गर्न र विश्वभर वेस्ट इन्डिज क्रिकेटको ब्रान्डलाई सुदृढ गर्न मद्दत पुग्छ।’
वेस्ट इन्डिज टोली: अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा,रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।
सिरिजको तालिका:
पहिलो टी-२० आई : असोज ११, शारजाह
दोस्रो टी-२० आई: असोज १३, शारजाह
तेस्रो टी-२० आई: असोज १४, शारजाह
नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो।
ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो।
वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा नौ टोलीबीच हुने छनोटमा शीर्ष तीन टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।