करिब ६ महिनाअघि टिम पेन आफ्नो विकेट किपिङ पञ्जा सदाका लागि छोडेर क्रिकेट सामग्री बनाउने एक कम्पनीमा काम गर्न मनस्थितिमा थिए।
अष्ट्रेलियाको सबैभन्दा सानो राज्य तास्मानियाको टिममा पनि छनौट हुन नसकेपछि उनले खेल जीवनबाट सन्यास लिने सोच बनाएका थिए।
तर तास्मानिया क्रिकेट बोर्डका सिइओ टिम कमिन्सले उनलाई हतारमा निर्णय नगर्न सुझाए।
पेनले कमिन्सको सुझाव माने। खेल्न छोडेनन्। पहिले तास्मानियाको टिममा आफ्नो स्थान बनाए र अष्ट्रेलियाको राष्ट्रिय टिममा पुनरागमन गरे।
बल टेम्परिङ विवादमा कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक वर्षे प्रतिबन्ध लागेपछि पेन अहिले राष्ट्रिय टिमका कप्तान नियुक्त भएका छन्।
अष्ट्रेलियामा टेस्ट कप्तानलाई प्रधानमन्त्रीपछि देशको दोस्रो ठूलो दर्जा दिइन्छ।
स्मिथ र वार्नरको लज्जाजनक व्यवहारबाट गुमेको अष्ट्रेलियाली क्रिकेटको साख उठाउन क्रिकेट बोर्डले सरल पेनलाई कप्तानको जिम्मेवारी दिएको छ।
'म झन्डै कुकाबुरा कम्पनीमा काम गर्न गइसकेको थिएँ। त्यसैले अहिले प्रथम श्रेणीको क्रिकेट खेल्नु पनि मैले सोचेभन्दा सायद ठूलो कुरा हो,' उनले तास्मानिया क्रिकेट टिम परेपछि भनेका थिए।
दक्षिण अफ्रिकाविरूद्ध जोहानसबर्गमा शुक्रबार सुरू हुने चौथो टेस्टबाट उनी अष्ट्रेलियाका ४६ औं टेस्ट कप्तान हुनेछन्।
योसँगै ३३ वर्षीय पेन तास्मानियाबाट अष्ट्रेलियाको टेस्ट टिमको कप्तान बन्ने दोस्रो व्यक्ति हुने भएका छन्। यसअघि तास्मानियाका रिकी पोन्टिङ पनि टेस्ट कप्तान भएका थिए।
'उनी उत्कृष्ट छनौट हुन्। धेरै खेल खेलेको नभए पनि उनी सिनियर खेलाडी हुन् र उनले लामो समय संघर्ष गरेका छन्,' पेनको नियुक्तिपछि अष्ट्रेलियाका पूर्वकप्तान एलेन बोर्डरले भने।
'उनी स्पष्ट वक्ता हुन् र उनी रणनीतिक रूपमा पनि राम्रा छन्,' तास्मानियाका प्रशिक्षक एडम ग्रिफिथले भनेका छन्।
सन् २०१० मा पहिलो पटक टेस्ट खेलेका पेनले ८ वर्षमा १२ वटामात्रै टेस्ट खेलेका छन्।
विकेट किपिङको रोलक्रममा ब्य्राड ह्याडिन र म्याथ्यू वेडपछि रहेका पेनले ती १२ टेस्टमध्ये ८ वटा पछिल्ला ६ महिनामा खेलेका हुन्।
यी खेलमा भरपर्दो विकेट किपिङ गरेर ३७ क्याच र २ स्टम्पिङ गरेका पेनले टिमलाई अप्ठेरो पर्दा ४० भन्दामाथिको औसतमा महत्वपूर्ण रन पनि बनाएका छन्।