https://www.youtube.com/watch?v=a98nqmBZUtg
नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई आइतबार दिल्ली डेयरडेभिल्सले किनेको छ। सन्दीप आइपिएलमा छनौट हुने पहिलो नेपाली खेलाडी हुन्।
तर दिल्लीको प्लेइङ इलेभेनका लागि भने सन्दीपले संघर्ष गर्नुपर्नेछ। आइपिएलको एउटा टोलीले एक खेलमा चार जना मात्र विदेशी खेलाडी खेलाउन पाँउछ।
यो सिजन दिल्लीमा सन्दीपसहित ८ विदेशी खेलाडी छन्। मैदानमा सन्दीप उत्रँदा घटीमा अन्य चार खेलाडी बेञ्चमा बस्नुपर्ने हुन्छ।
दिल्लीको टोलीले यसपटक साउथ अफ्रिकन अलराउण्डर क्रिस मोरिसलाई यथावत् राखेको थियो। दिल्लीले क्रिसलाई ११ करोड भारु खर्च गरेको छ।
दिल्लीले यसपटक अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेललाई ९ करोडमा किनेको छ। त्यसैगरी आइसिसीको टेस्ट बलिङको वरीयता सूचीको दोश्रो नम्बरमा रहेका साउथ अफ्रिकाका कगिसो रबादालाई ४ करोड २० लाखमा किनेको छ। इङ्गल्याण्डका ओपनर ज्यासन रोय (१ करोड ५० लाख), न्यूजिल्याण्डका ओपनर कलिन मुन्द्रो (१ करोड ९० लाख), न्युन्जिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट (२ करोड ) र अष्ट्रेलियाका फास्ट बलिङ अलराउण्डर ड्यानियल क्रिष्ट्रियन(१ करोड ५० लाखमा) दिल्लीमा आवद्ध भएका छन्।
अन्य खेलाडीमा दिल्लीले गरेको खर्च हेर्दा सन्दीप लामिछाने (२० लाख भारु)का खेलाडीलाई खेलाउन करोडका खेलाडी बेञ्चमा पर्ने हुन्छ।
तर दिल्लीले यसपटक भित्र्याएका विदेशी सात खेलाडीमा कोही पनि स्पिनर छैनन्। अलराउण्डर म्याक्सवेले पार्ट टाइम अफ स्पिन गर्छन्। तर उनको बलिङ सन्दीपको स्तरको छैन। यस्तोमा स्पिन बलिङका लागि सन्दीप विदेशी खेलाडीको रूपमा रोजाइमा पर्न सक्छन्।
तर सन्दीपको आइपिएल मैदान यात्रामा भारतीय खेलाडी तगारो देखिन्छन्। किनभने भारतीय खेलाडीमध्ये अमित मिश्रा राम्रो लेग स्पिन गर्छन्। अर्थात् सन्दीप र अमितको बलिङ एउटै छ। यस्तोमा टोलीमा पर्न सन्दीपले अमितलाई ‘रिप्लेस’ गर्नु पर्ने हुन्छ।
भारतका लागि टेस्ट, वान डे र ट्वान्टी ट्वान्टी खेलिसकेका लेग स्पिनर अमितलाई दिल्लीले ४ करोड तिरेको छ। ३५ वर्षका मिश्रले फिल्डिङ राम्रो गर्न नसक्ने भएपछि हाल भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन्।
मिश्रा ब्याटिङ भने गर्न सक्छन्। जसका कारण सन्दीपका लागि मिश्रा मैदान उत्रन चुनौती बन्नेछन्। त्यसमाथि आइपिएलमा मिश्राको एक दशकलामो अनुभव सम्पत्तिको रूपमा छ।
सन्दीपले दिल्लीको प्लेइङ इलेभेनमा पर्न अमितले ‘रेस्ट’ गर्नु पर्ने हुन्छ। अर्थात् सुरुआती खेलमै खराब प्रदर्शन गरेर अथवा घाइतेको रूपमा। अन्यथा टिमको व्यवस्थापनले एउटै म्याचमा दुई लेग स्पिनर राखेर खेलाउनु पर्ने हुन्छ। जुन सम्भव देखिदैँन। टिम मेनेजमेन्टले पिच अनुसार र टिमको ब्यालेन्स अनुसार खेलाडी खेलाउँछ। यस्तोमा सन्दीपले बेञ्चमा बसेर मैदानको मौका कुर्नु पर्ने हुन्छ।
त्यसबाहेक अमित नखेल्दा समेत टोलीमा पर्न सन्दीपले टेस्ट खेलिसकेका अफस्पिनर जयन्त यादव र आइपिएलको लामो अनुभव भएका बायाँ हाते स्पिनर सहवाज नदिमसँग प्रतिष्पर्धा गर्नुपर्नेछ।
यी दुवै खेलाडी सन्दीपभन्दा राम्रो ब्याटिङ गर्छन्। ट्वान्टी-ट्वान्टी फरम्याटको खेलमा ब्याटिङ धेरै समय निर्णायक हुन्छ। त्यसमाथि दिल्लीले टोलीमा लेग स्पिनर राहुल टेवाटियालाई पनि किनेको छ। उनले पनि तल्लो क्रममा आएर ब्याटिङ गर्न सक्छन्।
अलराउण्डर म्याक्सवले स्पिन बल फ्याँके पनि दिल्लीले दुई स्पनिर खेलाउन सक्छ।
यस्तो अवस्थामा दिल्लीको पहिलो रोजाई अमित मिश्रा हुनेछन्। दोश्रो रोजाई सहवाज नदिम वा जयन्त यादव हुन सक्छन्। दुई स्पिनर खेलाउँदा पनि एउटै खेलमा दुई लेग स्पनिर खेलाउने सम्भावना भने कम हुन्छ। अमित मिश्रालाई खेलाउँदा सन्दीप खेल्ने सम्भावना रहन्न।
अमित नखेलेको अवस्थामा सन्दीपको खेल्ने सम्भावना प्रबल हुन्छ। तर सन्दीपलाई खेलाउँदा दिल्लीले बाँकी ७ जना उत्कृष्ट विदेशी खेलाडी मध्ये ३ जनालाई मात्र खेलाउन पाउँछ। सन्दीपको ठाउँमा नदिम र यादवलाई खेलाएमा दिल्लीले चार जना विदेशीलाई नै खेलाउन पाउँछ। यस्तोमा विदेशी खेलाडी भएकै कारण सन्दीपको प्लेइङ इलेभेनमा पर्ने सम्भावना कम छ।
अर्कोतर्फ सन्दीपले आइपिएल पुगेर सुधार्नुपर्ने भनेको ब्याटिङ हो। हालसम्म सन्दीप बलर मात्र छन्। उनी राम्ररी ब्याटिङ गर्न सक्दैनन्। यस्तोमा सन्दिपले मैदान बाहिर अभ्यास खेलमा राम्रो प्रदर्शन गरेर तारिफ बटुल्नुपर्छ। त्यसले मात्रै उनलाई अगाडि बढ्ने बाटो दिनसक्छ।
नेपालका सन्दीप जस्तै अफगानिस्तानका लेग स्पनिर रसिद खान गत सिजन आइपिएलमा भित्रिएका थिए। रसिदले सन् २०१६ मा सन्दीपसँगै अण्डर १९ विश्वकप खेलेका थिए। रसिदलाई यसपटक सनराइजर्स हैदराबादले ९ करोडमा किनेको छ। तर रसिद आइपिलमा रहनुको कारण ब्याटिङ पनि हो। सन्दीपका लागि यहि ब्याटिङ ‘फलामको च्यूरा’ देखिन्छ।
आइपिएलमा गत सिजनमा सरप्राइजिङ रुपमा युएईका चिराग सुरी पनि भित्रिएका थिए। तर उनी गुजरात लायन्सको बेञ्चमै सीमित रहे। उनी यसपटक आइपिएलको खेलाडी सूचीमै परेनन्।
सन्दीपको आइपिल यात्रामा रसिदजस्तै अगाडि बढ्ला वा सुरीजस्तै बन्ला प्रतीक्षाको विषय छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का सन्दीपले दिल्लीको प्लेइङ सेटमा स्थान बनाउनेमा आशावादी छन्।
पारस भन्छन् –इट्स क्रिकेट, यु नेभर नो।