सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ।
सोही वडाका सदस्य ४६ वर्षीय नथुनी साह, ५५ वर्षीय रामकृपाल मण्डल, ४१ वर्षीय विन्देश्वर साह, ४२ वर्षीय राजेन्द्र मण्डल पक्राउ परेका हुन्।
उनीहरूलाई सिराहा भगवानपुर गाउँपालिका-४ स्थित नेपाल भारत सीमा नजिकबाट प्रहरी उपरीक्षक रमेश पन्डितको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए।
'यस घटनामा अहिलेसम्म ८ जना पक्राउ परेका छन्,' डिएसपी पासवानले भने, 'यसअघि चार जना पक्राउ परेका थिए।'
उनका अनुसार उजुरी परेका दुई जनामात्र पक्राउ परेका हुन्। जाहेरी नपरेका घटनामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जघन्य अपराध ढाकछोप गर्न भूमिका खेल्ने व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडितका परिवारले भने ८ जनाविरूद्ध जाहेरी दिएका छन्।
माघ ३० गते रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
माघ २७ गते रातको साढे ९ बजेतिर शौचालय जान घरबाहिर निस्किएकी रिंकु भोलिपल्ट बिहान ३ बजे विक्षिप्त अवस्थामा घर आइपुगेकी थिइन्।
उनले आफूमाथि तीन जनाले बलात्कार गरी राति घर अगाडि ल्याएर छाडिदिएको परिवारलाई बताएकी थिइन्।
तर उनीमाथिको घटना आर्थिक लेनदेन गरी मिलाउन पञ्चायत नै बसेको थियो।
घटना सार्वजनिक भएपछि मधेस प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरी अनुसन्धान भइरहेको छ।
यो पनि:
सिराहाकी रिंकु सदाय मृत फेला परेको प्रकरण के हो?