ज्यान मार्ने उद्योग कसुरमा चक्रे मिलन भनिने मिलन गुरूङलाई १ लाख १० हजार धरौटीमा छाड्ने आदेश भएको छ।
शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी हिराकुमारी भण्डारीले बताइन्।
सरकारी वकिलको कार्यालय भक्तपुरले ज्यान मार्ने उद्योग कसुरमा उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
उनीमाथि भक्तपुरमा मनिष रायमाझी भन्ने व्यक्तिमाथि खुकुरी प्रहार गर्न लगाएको आरोप थियो।
सरकारी वकिलको कार्यालयमा चक्रे मिलनले भने मनिष रायमाझीलाई नचिन्ने बयान दिएका थिए।
‘मैले मनिषलाई चिन्दिनँ। उनलाई नचिनेपछि धम्की दिने र मेसेज पठाउने कुरै भएन। मैले अजित खवासलाई पनि चिनेकै छैन। मैले कोही कसैलाई नचिनेको अवस्थामा पूर्वयोजना बनाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्न लगाउने कुरै भएन,’ उनले बयानमा भनेका थिए।
आफूमाथि पीडित भनिएका व्यक्तिले किन जाहेरी दिए भन्नेसमेत थाहा नभएको उनको भनाइ थियो।
शंकाकै भरमा आरोप लगाएको हुन सक्ने पनि चक्रे मिलनको बयानमा उल्लेख गरेका थिए।
‘उनले खुलाएका कुराहरू मैले थाहा नपाएको अवस्थामा उनलाई खोजी गर्ने, उनलाई कुटपिट गर्ने कुरै भएनर यो सबै उनले शंकाको भरमा लेखाएका होलान्,’ चक्रे मिलनले भनेका थिए।
मध्यपुर थिमि नगरपालिका-२ सानोठिमीको एक रेष्टुरेन्टमा २०८१ भदौ १० गते मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको थियो।
खुकुरी प्रहार भएको घटनामा प्रहरीले सर्लाही घर भई ललितपुरको ग्वार्को बस्दै आएका २५ वर्षीय अजित खवासलाई पक्राउ गरेको थियो। उनले सफाइसमेत पाइसकेका छन्।
चक्रे मिलनसहित १९ जनालाई काठमाडौं प्रहरीले साउन १५ गते मध्यराति महाराजगन्जबाट पक्राउ गरेको थियो। जन्मदिन मनाइरहँदा होहल्ला गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
जिल्ला अदालत काठमाडौंमा उनीहरूविरूद्ध अभद्र व्यवहारको मुद्दा दायर भएको थियो। उक्त मुद्दामा जिल्ला अदालतले चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।