काठमाडौंको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ।
काठमाडौंको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त छ।
पैदलयात्रीलाई सहज बनाउन सुरू गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरू झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन्।
सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्कायो, तर निर्माण कार्य महिनौंदेखि अलपत्र छोडिएको छ।
बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो। यो खण्ड सिंहदरबारको नजिकै पर्छ, जहाँ नीति-निर्मातादेखि उच्च पदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ। फुटपाथ प्रयोग गर्नै गाह्रो छ। आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाट नै हिँड्न बाध्य छन्, जसले जोखिम झन् बढाएको छ।
बबरमहल खण्डको अर्को विडम्बना के छ भने, यही क्षेत्रमा सडक विभागको कार्यालय छ, जहाँबाट सडक मर्मत तथा निर्माणको योजना निर्माण हुन्छ। तर, आफ्नै चोकको हालत दयनीय हुनु दुर्भाग्यपूर्ण होइन र?
यसै सडकमा जिल्ला अदालत पनि छ, जहाँ न्याय माग्न आउने नागरिक दिनहुँ आवतजावत गर्छन्। पैदलयात्राका लागि आवश्यक आधारभूत सुविधा नहुँदा सर्वसाधारण मात्र होइन, कानुनी क्षेत्रका पेशाकर्मीहरू पनि सास्ती खेपिरहेका छन्।
नेपाल विद्युत प्राधिकरण (एनईए) ले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याउने काम गरिरहेको छ।
यो काम अत्यावश्यक भए पनि, निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ। जबसम्म भूमिगत प्रसारण लाइनको काम सम्पन्न हुँदैन, तबसम्म फुटपाथ निर्माणले गति लिन नसक्ने देखिन्छ।
तस्बिरहरू:
-1740985168.jpg)
-1740985168.jpg)
-1740985168.jpg)
-1740985166.jpg)
-1740985167.jpg)
-1740985167.jpg)
-1740985169.jpg)
-1740985168.jpg)
-1740985166.jpg)
-1740985166.jpg)
-1740985166.jpg)
-1740985165.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी