सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर मृत भेटिएको घटना छानबिन गर्न समिति गठन भएको छ।
सिन्धुपाल्चोक घर भई कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी थिइन्। शनिबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
घटना अनुसन्धानका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पाँच सदस्य समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ।
सन्तोषीले २०७२ सालमा सिपाहीबाट सशस्त्र प्रहरीमा भर्ती भएकी थिइन्। त्यसपछि २०७८ सालमा असईमा नाम निकालेकी थिइन्।
त्यस्तै २०८१ मा १७औं ब्याचमा इन्स्पेक्टरमा नाम निकालेकी थिइन्।
सशस्त्र प्रहरीकै एक सिनियर इन्स्पेक्टरसँगको सम्बन्धका कारण घटना भएको हुनसक्ने परिवारको आशंका छ। यसबारे पनि समितिले अनुसन्धान गर्नेछ।