नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको छ।
आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रकम पुगेको जानकारी दिएको हो।
जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख नगद मौज्दात रहेको जनाएको छ।
त्यसबाहेक विभिन्न परियोजनाहरूमा सेनाले ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेको पनि जनाएको छ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ।
निक्षेपको प्रतिशतमा गिरावट आएकाले सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्य र सार्वजनिक दायित्वहरू प्रभावित पर्ने पनि सेनाले जनाएको छ।
सेनाले कल्याणकारी कोष २०३२ सालमा सुरू गरेको थियो। त्यतिबेला एक करोड २४ लाख रुपैयाँबाट सुरू गरेको थियो।