वैशाख १८ गते बिहान सात बजेतिर ४० वर्षीया तिलकुमारी दमाई र उनका १३ वर्षका छोरा गौरव नेपालीले सँगै खाना खाए। ११ वर्षकी छोरी खुसी (रमिता) पनि छेउमै थिइन्।
त्रिवेणी गाउँपालिका- ४ छेपाकी तिलकुमारी घरको कामधन्दा सकेर १७ गते साँझ वडा नम्बर ७ गैरीगाउँको माइती गएकी थिइन।
लकडाउन स्कुल बन्दको बन्दै भएपछि गौरव र उनकी बहिनी तीन दिनअगाडि नै मामाघर पुगेका थिए।
तिलकुमारीका श्रीमान् लक्ष्मण भारतमा मजदुरी गर्छन्। गत फागुनमा उनी छुट्टीमा घर आएका थिए। १५ दिन बसेर फर्किए।
छोराछोरी मामाघर गएपछि तिलकुमारी दुई रात घरमा एक्लै बसिन्। नियास्रो लागेपछि बुधबार बेलुका माइती पुगिन्।
घरमा गहुँ भित्र्याउने चटारो थियो। माइती पुगेकै बेला उनले भोलि बिहानै फर्किइहाल्ने बताइन्। माइतीमा बिहानै खाना तयार भयो। सात बज्दानबज्दै आमा र छोराछोरीसँगै बसेर खाना खाए।
खाना खाएपछि तिलकुमारीले गौरवलाई घर जाउँ भनिन्। उनले हुन्छ भने। भेस्ट लगाए। आफ्ना बाँकी कपडा लिन घरभित्र छिरे। मामाघरमा हप्ता-दश दिन बस्ने भनेर उनले भएजति सबै कपडा ल्याएर आएका थिए।
कपडा लिन भित्र गएका गौरवको बाहिर निस्कँदा मन बदलिसकेको थियो।
‘आमा, बहिनी र म भोलि आउँछौं है,’ भने।
तिलकुमारीले बल गरिनन्। एक्लै घर हिँडिन्। घर पुग्नुअघि गहुँखेत आयो। उनी घर गइनन्। दिनभर गहुँ काटिन्।
दिन ढलेपछि घर आइन्।
८ बजेतिर गाउँका मानिस उनको आँगनमा आए। गौरव बम बिस्फोटमा परी गम्भीर घाइते भएको खबर सुनाए।
तिलकुमारीलाई आफूले टेकेको जमिन भासिए जस्तै लाग्यो।
उनी हतारहतार माइती गाउँ जान हिँडिन्।
बाटोमा गाउँपालिकाको गाडी उनलाई लिन आएको रैछ। सबैले गौरव गम्भीर घाइते छ भने।
गाडी नै लिन आएपछि भने तिलकुमारीको मनमा चिसो पस्यो। केहीबेरपछि उनी गाडीमै बेहोस भइन्।
गैरीगाउँस्थित माइतीमा पुगेको केहीबेरपछि उनको चेत खुल्दा बाहिर अन्धकार थियो। सिमसिम पानी परिरहेको रात जुनलाई पनि बादलले छोपेको थियो।
टर्च बालेर उनी दौडिएर घटनास्थल पुगिन्।
सुरक्षाकर्मीले घटनास्थलनजिकै जान दिएनन्। बालबालिकाको शव नजिकै विस्फोट हुन बाँकी एउटा बम छँदै थियो।
लाइटको सहाराले छोरोका अनुहार तिलकुमारीले टाढैबाट नियालिन्।
गौरवको अनुहारको भाग केही भएको थिएन। ‘गौरव…’ भन्दै चिच्याइन्।
त्यहाँ उनीजस्तै बिलौना गर्ने अरू अभिभावक र सर्वसाधारण पनि थिए। क्षतविक्षत अवस्थामा चार बालबालिकाको शव लडिरहेका थिए।
उनीहरूका शव कपडाले छोपिएका पनि थिएनन्।
त्यो रातभरि पानी परिरह्यो।
तिलकुमारी पनि जागै बसिन। उनलाई पछुतो लागिरह्यो- भेस्ट लगाएर सत्तिएको गौरवलाई घर जाउँ भनेर कर गरेको भए…
घटना १८ बेलुका ६ बजेको भए पनि अर्को दिन १२ बजेपछि दाङबाट गएको नेपाली सेना टोलीले शव उठाएको थियो। नजिकै रहेको बम डिस्पोज गरी शव पोष्टमार्टम गर्न दाङ ल्याउँदा २ बजिसकेको थियो।
पोष्टमार्टम पछि राति अबेरमात्रै शव रोल्पा लगिए।
राति १२ बजेतिर स्थानीय सालबाज खोलाको दोभानमा गौरवको अन्तेष्टि गरियो।
तिलकुमारीका पति लक्ष्मण लकडाउनका कारण भारतबाट आउन नसकेको हुँदा गौरवका ठूला बुवा ५५ वर्षीय शंकर दमाई किरिया बसेका छन्।
लक्ष्मणलाई छिटो घर आउने वातावरण मिलाइदिन तीलकुमारीले आग्रह गरेकी छन्।
जसले छोराछोरी भेट्नै पाएनन्
त्रिवेणी गाउँपालिका-७ का ३२ वर्षीय लालबहादुर खत्री काठमाडौंको इँटाभट्टामा काम गर्थे। लकडाउन भयो। काम रोकियो। उनी अलपत्र परे। एक महिनापछि नेताले गाडी रिजर्भ गरेर आफ्ना मतदाता घर फर्काउन थाले। उनी पनि तिनैमध्येको एक गाडीमा चढेर आए। रोल्पा आएका उनले घरको आँगन टेक्न पाएनन्। बाहिरबाट आएकालाई गाउँपालिकाले क्वारेन्टिनमा राख्ने गरेको छ।
लालबहादुर बिहीबार दिउँसो साढे ४ बजेतिर नुवागाउँस्थित शुक्र माविको क्वारेन्टिनबाट फर्किँदा उनकी ११ वर्षकी छोरी विमला र ५ वर्षका छोरा विजय घरमा थिएनन्। उनीहरू घरका ७ वटा बाख्रा लिएर जंगल गएका थिए।
बेलुका ६ बजेतिर ठूलो आवाजका साथ बिस्फोट भएको घरबाहिरै पेटीमा बसेका लालबहादुरले पनि सुने। तर उनले कसैले खोलामा केही पड्कायो होला भन्ने ठाने। त्यसमा आफ्ना छोराछोरी परे होलान् भन्ने कल्पनासमेत गरेनन्।
तर केहीबरेमा गाउँलेले फोन गरे।
बालबालिका बिस्फोटमा परेको कुरा गरे। तैपनि लालबहादुरले उति वास्ता गरेनन्। किनकी उनलाई क्वारेन्टिनबाट आउँदा धेरै यताउता नजान भनी सम्झाइएको थियो।
केहीबरेमै छिमेककी एउटी बालिका दौडेर आइन्। दौडिएकै रफ्तारमा विजय र विमला पनि बम विस्फोटमा परेको र रगत बगिरहेको खबर सुनाइन्।
खबर सुनेर लालबहादुर बसेकै ठाउँमा लडे। होसमा आएपछि घटनास्थल पुगे।
९ गते काठमाडौंबाट आएका लालबहादुरलाई भेट्न उनकी २२ वर्षीया श्रीमती नमुना काखकी डेढ वर्षीया छोरी र बम विस्फोटमा मारिएका विजयलाई लगेर वैशाख १६ गतेमात्रै शुक्रमाविको क्वारेन्टिनमा पुगेकी थिइन्।
लालबहादुरले टाढैबाट छोरालाई बोलाए। तर विजय बोलेनन्, हाँसेमात्रै। बरू लजाएजस्तो गरे।
‘मैले मास्क लगाएको थिएँ, सायद नचिनेर हो कि लाज मानेजस्तो गरेको थियो,’ लालबहादुरले सेतोपाटीसँग भने।
विजयले फोनमा भने निकै कुरा गर्थे रे। फोनमा उनले बुवालाई मोटरसाइकल, डोजर, कारका खेलौना ल्याइदिन भनिरहन्थे। छोरी विजयाले फोनमा कपडा मागेकी थिइन।
लालबहादुर क्वारेन्टिन बसेकै विद्यालयमा विजयले गत साल शिशु कक्षा पढेर यो पाली एकमा उक्लिएका थिए।
विजया पनि त्यही विद्यालयमा ४ कक्षा पढ्थिन। उनीहरूले बुवासँग फोनमा ठूला र सफा कापी कलम पनि मागेका थिए।
गत पुसदेखि काठमाडौंको थानकोटस्थित हिमाल इँटाभट्टामा इँटा बोक्ने काम गरेका लालबहादुरले छोराछोरीसँग गरेका वाचा पूरा गर्न पाएनन्। घर फर्किने बेला उनले छोराछोरीलाई ठूला र सफा कापी कलम किन्न नखोजेका होइनन् तर लकडाउनले उनको चाहना पूरा हुन दिएन।
गैरागाउँकै ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको पनि बम बिस्फोटमा परि मृत्यु भएको छ।
दैनिक ज्यालामजदुरी र खेतीपाती गरेर खाने अभिभावकले मुटुका टुक्राजस्ता सन्तान गुमाएका छन। तर उनीहरूलाई थाहा छैन किन उनीहरूका कोपिलाहरूले नफक्रिँदै निमोठिनु पर्यो, त्यहाँ बम कसले राख्यो?
गाउँपालिका अध्यक्ष शान्तबहादुर वलीले घटनास्थलमा फेला परेको बम पुरानो नभएको दाबी गरेका छन्।
वलीले १७-१८ वर्ष पुराना बम त्यति नयाँ कसरी हुन्छन्? भन्ने प्रश्न गरे।
‘मेरो बुझाइमा ती बम हालसालै निर्माण गरिएका र एकदमै नयाँ हुन,’ वलीले भने, ‘ती नेपालमा निर्माण भएकै हैनन्, ती मेसिनवाटै निर्माण गरिएका बम हुन।’
उनले कहिले त्रिवेणी गाउँपालिका र कहिले सार्वजनिक स्थलमा समेत बम फेला पर्न थालेको भन्दै त्रिवेणीमा थप सुरक्षा प्रबन्ध मिलाउन माग गरिएको उनले जानकारी दिए।
के त्यसो भए उनको शंकाको सुई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपातिर सोझिन्छ त?
‘त्यो कसको काम हो अहिलै भन्न सकिँदैन, फेला परेका बम पुराना भने हुँदै होइनन्।
अबोध बालकालिका मारिएको दुःखद घटनाबारे राज्यले छिट्टै उचित सम्बोधन गर्नुपर्ने अध्यक्ष वलीको भनाइ छ। स्थानीय प्रशासनको बैठकले घटनालाई द्वन्द्वकालकै उपज ठानेर द्वन्द्वपीडित सरह क्षतिपूर्ति दिन सिफारिस गरेको छ।
तत्कालका लागि भने गाउँपालिकाले मृतकका परिवारलाई जनही १५ हजार रुपैयाँ किरिया खर्च दिएको छ।