७६ वर्षीया गौरी बस्नेत तुलसीपुर बजारस्थित मेगा बैंक अगाडि सडक पेटीमा बसेकी छिन्। दमकी रोगी बस्नेत बैंकमा जान मटेरास्थित घरबाट बिहान ६ बजे नै हिँडेकी हुन्।
बिहान ८ बजे बैंकमा आएकी उनले केही खाना खाएकी छैनन्।
‘दिउँसो घाममा हिँड्न झनै मुश्किल होला भनेर बिहानै हिँडेँ, दुई घन्टा लाग्यो, अब घरै गएर खाना पकाएर खाने हो’ उनले भनिन्।
चार महिनाको १२ हजार भत्ता लैजान आएकी बस्नेतलाई पत्थरीको समस्या पनि छ। पाइल्सले पनि ग्रसित छिन्। औषधि खाने पैसाका लागि उनले यसरी दुःख झेल्दै आएकी छिन्।
‘दवाई सक्कियो, छोरा-बुहारीले हेर्दैनन्, कसलाई माग्ने’ उनले भनिन्। सिमसिम पानी परिरहेको छ। कतिसँग छाता छ भने कति त पानीमै भिजेका छन्।
बस्नेतसँगै सडक पेटीको लाइनमा बसेकी ६८ वर्षीया हिरादेवी पुनको घर बूढागाउँ हो। उनी पनि बिहान ६ बजे नै घरबाट केही नखाएरै हिँडेकी हुन्। ठाउँ–ठाउँमा बिसाउँदै आउँदा उनलाई पनि दुई घन्टाजति बैंक आउन लाग्यो।
मुटुकी बिरामी उनी तीन दिन अगाडि पनि त्यसैगरी आएकी थिइन्। दिनभर बसे पनि पालो नआएपछि फर्केर गइन्। पुनलाई हरेक महिनामा ३ हजार रुपैयाँको औषधि किनेर खानु पर्छ। त्यो औषधि तुलसीपुरमा पाइन्न।
पछिल्लो समय घोराहीको एक मेडिकलबाट जसोतसो ल्याउन थालेकी छिन्। उनीहरूसँग कुरा गर्दा बिहानको सवा दश बजिसक्यो।
उनीहरूजस्तै मेगा बैंकको सडक पेटीमा झन्डै ८० देखि १०० को हाराहारीमा ज्येष्ठ नागरिक लस्करै बसेका थिए। बैंकका कर्मचारी भने आइपुगेका थिएनन्।
त्यहाँ आएकालाई दूरी कायम गरी मिलाएर बसाउने काम बैंकका सुरक्षागार्ड यक्षबहादुर भण्डारीले गरिरहेका थिए। बैंक ११ बजेबाट खुल्ने र आफूले सबैलाई अर्डर अनुसार टोकन दिएर बसालेको उनले बताए।
त्यहाँदेखि झन्डै डेढ सय मिटर दक्षिणतर्फ पुग्दा कृषि विकास बैंक शाखा कार्यालय अगाडि पनि ज्येष्ठ नागरिकहरुको उस्तै भीड थियो।
७९ वर्षीय मित्रलाल उपाध्याय भत्ता बुझ्न भनेर केही नखाई घरबाट हिँडेका थिए। चुनावको समयमा उम्मेदवारले घरमै वृद्धभत्ता ल्याइदिने आश्वासन दिएको उनले भुलेका छैनन्।
तर आज कोही सोध्न नआउने गरेको उनले गुनासो गरे। उनले भने, ‘म बुढो मान्छे आफैं हिँड्दै आउँछु कसैको आश भरोसा छैन।’
तुलसीपुर ६ मोतीपुरबाट भत्ता लिन आएका ७५ वर्षीय नोखिराम बस्नेत पौने १ घन्टा हिँडेर साढे नौ बजेतिर त्यहाँ आइपुगेका रहेछन्। ८४ वर्षीया कली सुनार्नी बुहारीसँगै अटो चढेर भत्ताबुझ्न आएकी थिइन्। आँखा नदेख्ने उनलाई हिँडाएर ल्याउन सम्भव थिएन।
यो बैंकले बिहान साढे ८ बजेदेखि नै कर्मचारी खटाएर भत्ता बाँड्न थालेको थियो। बैंकको अगाडि सडक छेउमै कार्यालयका सहयोगी कर्मचारी बुद्धिबहादुर बस्नेत कुर्सीमा बसेर ज्येष्ठ नागरिकका हात समातेर ल्याप्चे लगाइदिन्थे। निकाल्नु पर्ने रकम सोध्दै आफैं चेक लेखेर तयार पारिदिन्थे।
‘वृद्धवृद्धाले लेख्न जान्नु भएको छैन, कति पैसा हो भनेर सोध्नु पर्छ। हात समातेरै ल्याप्चे लगाइदिनु पर्छ’ उनले भने।
लकडाउनको समयमा लामो समय हिँड्दै भत्ता लिन बैंक आउनु उनीहरूका लागि सहज छैन। त्यसमा पनि पढ्न/लेख्न नसक्ने हुँदा सबै काम बैंकका कर्मचारीले गरिदिनुपर्छ। कोरोना महामारीका बेला उनीहरूका लागि पनि यो काम सहज छैन।
निर्वाचनको समयमा स्थानीय उम्मेदवारले घरमै वृद्ध भत्ता ल्याइदिने बाचा गरेका थिए। यति सानो प्रतिवद्धता समेत उनीहरूले पूरा गर्न सकेका छैनन्।
जनप्रतिनिधि कहाँ छन्? भन्नेबारे ज्येष्ठ नागरिकलाई नै थाहा छैन।
यसबारे तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई सोध्यौं।
‘उहाँहरूको बैंक खातामा भएको पैसा जहिले निकाले पनि हुन्छ, तर किन भीड गर्नुभएको छ’ उनले भने।
कतिपयलाई अहिले पैसा ननिकाले फिर्ता हुन्छ कि भन्ने भ्रम परेको हुन सक्ने उनले बताए।
सामाजिक दूरी कायम गरी बैंकहरूले अत्यावश्यक गरिब र विपन्नलाई भत्ता वितरण गर्नुपर्नेमा उनले जोड दिए।