रोल्पाकी रिता विक एक महिनाको छोरी हातमा लिएर लाइनमा उभिएकी छिन्।
गंगादेव गाउँपालिकाको जिनावाङ निवासी विक चाँडो समीक्षालय प्रवेश गर्ने गेटमा पुग्न चाहन्छिन्।
त्यहाँ थर्मल गनबाट स्वास्थ्य जाँच गराउन र भित्र प्रवेश गर्न उनलाई हतार छ। भित्र प्रवेश गरेपछि मात्रै भात खान पाइन्छ।
घरी उनी चैतमा जन्मिएकी छोरीको अनुहार नियाल्थिन्। गेटभित्र प्रवेश पाउनासाथ विक प्लेट पाइने ठाउँ तर्फ लागिन्।
प्लेट लिएर खानाको लाइनमा उभिन खोजिन्। दालभात तरकारी पाउनासाथ रिता चौरमा बसिन्।
काठमाडौंको इँटाभट्टाबाट घर फर्किँदै गरेका रुकुम कुचिवाङ निवासी ३८ वर्षीय समिर विक, सल्यानको कपुरकोट गाउँपालिका वडा नं. १ निवासी अमृता बुढाथोकी, कास्कीबाट आएका सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ का लिलाराम वली लगायत डेढसय मजदुर तुलसीपुर आइपुगेका छन्।
आधा दर्जन बस मंगलबार विहान मात्रै तुलसीपुर आइपुगेका थिए। दिउँसो त्यतिकै संख्यामा बसहरु थपिए। ती सबैलाई तुलसीपुर उपमहानगरपािलका वडा नं. ५ स्थित समिक्षालयमा निशुल्क खानाको व्यवस्था गरियो।
विगत पाँच दिनदेखि मानवीय सेवाको भावले तुलसीपुर क्षेत्रका विभिन्न सामाजिक संघसंस्थाहरु मिलेर संयुक्त रुपमा निशुल्क खाना, बास र यातायातको सुविधा दिँदै आएका छन्।
जसको नेतृत्व तुलसीपुर उद्योग वाणिज्य संघले गरेको छ। वाणिज्य संघका सचिव विनिल केसीका अनुसार मंगलबारसम्म तुलसीपुर आइपुगेका झन्डै एक हजार मजदुर तथा सर्वसाधारणलाई सल्यान, रुकुमतर्फ पठाइएको छ।
लकडाउनका कारण समस्यामा परेका मजदुर तथा पैदल यात्रुलाई तुलसीपुरमा खाना, आवास र यातायातको निशुल्क सुविधा प्रदान गर्न रोट्रयाक्ट क्लव, रोटरी क्लव, तुलसीपुर नगर जेसिज, लायन्स र लियो क्लवका पदाधिकारीहरु पनि रातदिन खटिएका छन्।
‘सेवा नै धर्म हो भन्ने मान्यताका साथ हामीले तुलसीपुरमा साझा अभियान चलाएका छौं,’ केसीले थपे ‘विपदको समयमा आपसमा हातेमालो गर्ने सबैप्रति तुलसीपुर उद्योग वाणिज्य संघ आभारी छ।’
जिल्लाको हापुर र सल्याको श्रीनगरसम्म जानको लागि तुलसीपुर उपमहानगरपालिकाले बसमा इन्धन भरिदिने गरेको छ। त्यो भन्दा पनि टाढा जानु परेमा सम्वन्धित ठाउँका स्थानीय तहहरुसँग इन्धनको सहयोग माग्ने गरिएको त्रिशिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताए।
चालकलाई खाजा खुवाउन भन्दै तुलसीपुरका टोपबहादुर महतराले २० हजार रुपैयाँ दिएका छन्। तुलसीपुरमा जम्मा हुने सबै यात्रुलाई खाना खुवाउनका लागि आवश्यक चामल र दाल भने तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले चामल, दाल लगायत खाद्यान्न निशुल्क रुपमा उपलब्ध गराउँदै आएका छन्। उनका दाजु हेमन्त रिजालले खाने तेल दिने गरेका छन्।
गणेश टेन्टका प्रोप्राइटर हरि श्रेष्ठले दैनिक ४० देखि ५० हजार भाडा पर्ने समिक्षालय र ८/१० जना कुक तथा कर्मचारी निशुल्क उपलब्ध गराउँदै आएका छन्।
पछिल्लो समय अन्य संघ संस्थाहरु पनि जोडिँदै गएको र विभिन्न व्यक्तिहरुबाट सहयोग समेत संकलन भइरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिए। मंगलबार संघका पूर्व अध्यक्ष हिमाल बस्नेतले दश बोरा चामल उपलब्ध गराएको उनले बताए।
‘यो विपदको घडीमा तुलसीपुरले एउटा सन्देश प्रवाह गर्न सकेको छ, एउटा उदाहरणीय कार्य गरेको छ,’ अध्यक्ष रावतले भने ‘तुलसीपुरका मेयर घनश्याम पाण्डेको भूमिका सह्राहनीय छ।’
उनले तुलसीपुर उद्योग वाणिज्य संघले विपद कोषमा डेढलाख नगदजम्मा गरेको र आवश्यक परे थप्ने जानकारी दिए। बाणिज्य संघ अन्नको भकारीजस्तै भएको भन्दै उनले लकडाउन जारी रहँदासम्म मजदुर तथा सर्वसाधारणप्रति सेवा जारी रहने बताए।