तुलसीपुरको विजौरीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १९ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइने भएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले १९ जनाको स्वाब संकलन गरी मध्यरातसम्म एम्बुलेन्समार्फत परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरिएको जानकारी दिए।
आइतबारदेखि नै प्रदेशको भैरहवामा स्वाब परीक्षण सुरु भइसकेको छ।
प्रजिअ रिजालले भने ‘चिकित्सकहरुले स्वाब परीक्षण गर्न काठमाडौं नै पठाउने भन्नु भएको छ, त्यसैले भैरहवा छोडेर काठमाडौं पठाउने तयारी गरिएको हो।’
उनले भैरहवामा स्वाब परीक्षणको रिपोर्ट निकै ढिलो हुने हुँदा छिटोको लागि काठमाडौं पठाउने निर्णय गरिएको दावी गरे।
बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका १९ जनाको मंगलबार राति अवेरसम्म स्वाब संकलन गरेर एम्बुलेन्स मार्फत परीक्षणको लागि काठमाडौं पठाउन लागिएको जानकारी दिए।
कैलालीका एकजना सक्रमित युवासँगै भारतबाट आएका दाङका आठ जना, प्यूठानका तीन जना, मंगलबार राति दुबईबाट आएका तुलसीपुरका चार जना, राप्ती प्रादेशिक अस्पतालका कार्यालय सहयोगी, भारतको रुपैडिया नाकाबाट आएका घोराहीका एकजना र दुबइबाट आएका प्यूठानका दुई जना गरी १९ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
गौरीफन्टा नाकामा कैलालीका संक्रमित युवासँगै आएका दाङका दशमध्ये हालसम्म आठ जना मात्रै आइसोलेसनमा आएका छन्। थप दुईजनाको पहिचान खुल्न नसकेको उनले बताए।