दाङमा चैत १ गतेदेखि ११ गतेसम्मको अवधिमा ३ हजार ६ सय ३६ जना विदेशबाट फर्किएका छन्।
जिल्ला आपतकालीन कार्य सञ्चालन कार्यालयका सूचना व्यवस्थापन अधिकृत विश्व अर्यालका अनुसार जिल्लाका दश स्थानीय निकायमा ११ दिनमा ३ हजार ४ सय ९५ जना भारतबाट र अन्य मुलुकबाट १ सय ४२ जना फर्किएका छन्। खुल्ला सीमानाबाट लुकिछिपी अरु थप पनि आएको हुन सक्ने अनुमान छ।
तर अहिलेसम्म जिल्लामा कोरोना आशंका गरिएका २० जनाको मात्रै स्वाब परीक्षण भएको छ। परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको छ।
दाङ जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले हालसम्म २० जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको रिपोर्ट नेगटिभ आएको बताए।
उनका अनुसार बेलझुण्डीस्थित आइसोलेसनमा बसेकामध्ये १५ जना र घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा राखिएका ५ जनाको स्वाब परीक्षण गरिएको हाे।
शनिबार मात्रै तुलसीपुरस्थित बेलुझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत चार जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिए। अब बेलझुण्डीमा एजकना पनि विरामी आइसोलेसनमा छैनन्।
जिल्लामा १६ जना क्वारेन्टिनमा
दाङमा आइतबारसम्म १६ जना क्वारेन्टिनमा बसेका छन्। तुलसीपुरमा ११, घोराहीमा ३ र बबईमा २ जना विदेशबाट आएकाहरु क्वारेन्टिनमा छन्।
तुलसीपुरका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार तुलसीपुर क्वारेन्टिनमा रहेकामध्ये दुबईबाट आएका दुईजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी गरिएको छ।
क्वारेन्टिनमा रहेका कसैमा पनि हालसम्म कुनै प्रकारको स्वास्थ्य समस्या नदेखिएको उनले बताए।