तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ६४ वर्षीय ठाकुरप्रसाद खड्कालाई गत वर्षामा खेत जोत्दै गर्दा सिसा बिझ्यो।
उनले तुलसीपुरको एक निजी क्लिनिकमा उपचार गराउँदा पाँच हजार खर्च लाग्यो। खुट्टामा सिसा बिझेपछि उनी थला परे। खेती सक्न उनले भाडामा मानिस लगाउनु पर्दा खर्च बढ्यो।
सोही गाउँकै ४६ वर्षीय चन्द्रवीर चौधरीले खेत जोत्दै गर्दा खुट्टामा बिझेको तारको डोब अझैं मेटिएको छैन। सिसा र सुई विझेर बस्तु चौपाया पनि घाइते भएका छन्।
चौधरीले भने– ‘गत वर्ष खेत जोत्दै गर्दा मेरो एउटा गोरुको खुट्टामा सुई विझेर थला पर्यो। गोरु हिँड्नै नसकेपछि खुट्टा हेर्दा सुई बिझेको पत्ता लाग्यो। मुस्किलले त्यो निकाल्यौं र गोरु बाँच्यो।’
यी त केही उदाहरण मात्रै हुन्। तुलसीपुर बजार क्षेत्रको फोहर मनपरी सिंचाई कुलोहरुमा बगाउँदा बेलगनार, नवलपुर, बन्गै, बनगाउँ, चैलाही, राईखल्यान, गौलौरा, गोलौरी, पढ्ढा, हरिपौरा, हरिपौरी, उरहरी, हस्नापुर लगायतका गाउँले किसान आजित भएका छन्।
खेतमा बेसार खनिरहेकी ५८ वर्षीया पुस्करी खड्काले चार/पाँच घन्टा खेतमा कुलोको पानी हाल्दा झन्डै चार पाँच डोको प्लाष्टिक खेतमा पस्ने गरेको बताइन्।
‘बजारका मानिसले गाउँलेलाई हेपेर यस्तो भएको हो,’ खड्काले आक्रोस पोखिन्।’
विगत ५० वर्षदेखि गौरीगाउँले कुलोमा भूमिका निर्वाह गर्दै आएका ६१ वर्षीय गोवर्द्धन चौधरीले वर्षौंदेखि बजारबासीको फोहरले गाउँका किसानले दुःख पाउँदै आएको बताए।
‘स्थानीय सरकार आएपछि हाम्रो पीडा सम्वोधन होला भन्ने आशा थियो,’ चौधरीले भने ‘हामीले पटक÷पटक तुलसीपुरका नगरप्रमुखलाई ध्यानाकर्षण गराउँदा समेत कुनै सुधार भएन।’
तुलसीपुर बजार र गौरीगाउँ बीचको दुरी ५ किलोमिटर छ। गहुँ खेतमा पानी सिंचाई गर्दा पुसको महिनामा समेत प्लाष्टिक र फोहरले आफ्नो गहुँ बाली बर्बाद भएको यमराज खत्रीले गुनासो गरे। ‘हेर्नुहोस यो मेरो खेतमा आएको प्लाष्टिक, पुस महिनामा सिंचाई गर्दा त यस्तो अवस्था छ भने वर्षामा कति फोहर आउँछ होला? तपाईँ आफै अनुमान गर्नुहोस,’ खत्रीले संकलन भएको प्लास्टिक देखाउँदै भने।
तुलसीपुर उपमहानगरपालिका—१० का वडाध्यक्ष कुमार लामीछानेले कुलोमा आउने फोहरको बारेमा धेरै पटक आफूले कार्यपालिकामा कुरा उठाएको भएपनि सुनुवाई नहुँदा दिक्क लागेको प्रतिक्रिया दिए । ‘बजारबासीले मनोमानी रुपमा फोहर फाल्दै आएका छन्, त्यो रोक्न नगरले तत्काल कदम चाल्नु पर्छ। कारवाहीको व्यवस्था गर्नुपर्छ,’ वडा अध्यक्ष लामिछानेले भने ‘किसानलाई प्रभावित तुल्याउने गरी मनपरी खोलामा फोहर फाल्ने प्रवृति सदाको लागि बन्द गर्न सक्नुपर्छ।’
नगरले केही नगरेपनि अब वडाले तत्काल फोहोर रोकथाम गर्न कूलोको मुहानमा तार जाली लगाउन पहल गर्ने आश्वासन दिए।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले आफ्नो चुनावी घोषणा पत्रमा तुलसीपुरलाई नेपालकै स्मार्ट र नमुना योग्य सहर बनाउने प्रतिवद्धता जाहेर गरेका थिए। उनले गर्ने हरेक भाषणहरुमा पनि त्यो कुरा भन्दै आएका छन्।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा स्थानीयबासी जगत खड्काले मेयर पाण्डेको प्रतिवद्धता आफैमा एउटा मजाक बनेको दाबी गरे। उनले ‘स्मार्ट तुलसीपुर’को नारा लगाएर नथाक्ने नगरप्रमुख घनश्याम पाण्डेले किसानको पीर मर्काको बेवास्ता गरेको आरोप लगाए ।
उनले घोराही उपमहानगरपालिकाले फोहरबाट वायो ग्यास उत्पादन गर्ने तयारी सुरु गरिसकेको तथा त्यसका लागि नगरबासीसँग फोहर किन्न थालेको भएपनि तुलसीपुर उपमहानरपालिकाले फोहर व्यवस्थापन गर्न कुनै चासो नदिनु दुर्भाग्य भएको तर्क गरे। नयाँ जनप्रतिनिधि आएको दुई अढाई वर्ष वित्नै लाग्दा समेत तुलसीपुर उपमहानरपालिकाले हालसम्म दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्न डम्पिङसाईडको समेत व्यवस्थापन गर्न सकेको छैन।
फोहर व्यवस्थापन गर्ने दायित्व उपमहानगरपालिकाको हो । तर बजारबासीले मनपरी सिंचाई कुलोमा फोहर फाल्दै आएका छन्। त्यो रोक्न प्रभावकारी कदम चाल्न नगरले सकेको छैन । त्यही भएर बजार क्षेत्रको अस्पताल र उद्योगको फोहर जन्य पदार्थ सिंचाई कुलो हुँदै किसानको खेत बारीसम्म आउँदा किसानले सास्ती भोग्नु परेको छ।