अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि निर्णयको जिम्मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन्।
शनिबार अलास्कामा पुटिनसँग तीन घन्टा लामो वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका हुन्।
'धेरै बुँदामा सहमत छौं। तर सम्झौता भएको छैन। अन्तिम सहमति नभएसम्म सम्झौता भएको मानिँदैन। तर तत्कालका लागि धेरै प्रगती भएको छ,' उनले भने।
उनले महत्त्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेको बताएका छन्। तर त्यो विषय के हो भन्ने खुलाएका छैनन्।
' अब यो जेलेन्स्कीमा निर्भर रहन्छ। युरोपेली नेताहरू पनि संलग्न हुनुपर्छ। तर अन्ततः जेलेन्स्कीमाथि नै निर्भर रहने हो। अर्को बैठकको तयारी भइरहेको छ। उनीहरू चाहन्छन् भने त्यो बैठकमा म पनि हुन्छु,' ट्रम्पले भनेका छन्।
वार्ताबाट उनले पुटिन पनि युद्ध रोक्न चाहन्छन् भन्ने देखिएको बताए।
'हामी दुईबीच निकै इमान्दारीपूर्वक कुरा भयो। मलाई लाग्छ उनी पनि यो काम पूरा गर्न चाहन्छन्,' उनले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक तर केही कडा भएको बताएका छन्।
अलास्कामा तीन घन्टा वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा पुटिनले वार्ता सकारात्मक तर अलि कडा भएको बताएका हुन्।
प्रश्नोत्तरबिना भएको छोटो पत्रकार सम्मेलनमा ट्रम्पले पुटिनसँग पुनः भेट्ने बताएका थिए।
'शायद हामी फेरि छिट्टै भेट्नेछौं,' पुटिनतर्फ हेर्दै ट्रम्पले भनेका थिए।
ट्रम्पको भनाइमा पुटिनले अंग्रेजीमै जबाफ दिए।
'अर्को पटकको भेट मस्कोमा,' उनले भने।
तीन घन्टा वार्ता, ठोस सहमति भएन
ट्रम्प र पुटिनबीच यसअघि ६/७ घन्टा नै छलफल हुन सक्छ भनिएको थियो। यद्यपि वार्ता तीन घन्टामा सकियो।
वार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन भएको थियो।
पत्रकार सम्मेलनमा दुवै नेताले छोटकरीमा कुरा राखे। प्रश्नोत्तर भने भएन।
यद्यपि वार्ता सकारात्मक भएको ट्रम्प र पुटिन दुवैले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।
राष्ट्रपति ट्रम्पले धेरै बुँदामा सहमति भएको बताएका छन्। तर ती बुँदा के-के हुन् भन्ने खुलाएनन्। यसको अर्थ कुनै वार्ता कुनै ठोस सम्झौता नभई टुंगिएको भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। म
'केही प्रगति भएको छ। धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,' ट्रम्पले भने।
पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्ने खुलाएनन्।
'हामी अपेक्षा गर्छौं कि कीभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिनेछन् र अवरोध खडा गर्ने छैनन्,' पुटिनले भने।
अलास्कामा पुटिको भव्य स्वागत भएको थियो। उनलाई ट्रम्पले उच्च सम्मानका साथ रातो कार्पेटमा स्वागत गरेका थिए। अमेरिकी लडाकू विमान र बी-२ बमवर्षकले आकाशमा प्रदर्शन गरेक थिए।
त्यसपछि दुवै नेता अमेरिकी राष्ट्रपति लिमोजिनमा एउटै सिटमा बसेर, बिना दोभाषे, सँगै यात्रा गरेका थिए। यसलाई न्यूयोर्क टाइम्सले दुई महाशक्ति देशहरूका लागि असामान्य दृश्य भनेको छ।
पुटिनका चार अडान
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन्।
पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् ।
त्यसलाई समाधानका लागि रूसले राखेका सर्तहरू उनले पुनः दोहोर्याए।
न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन्।
युक्रेनको ठूलो भू-भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने।
यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन्।
ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली मुलुकका नेताहरूले ट्रम्पसँग भर्चुअल संवादसमेत गरेका थिए।
त्यस क्रममा उनीहरूले जमिनको अदलाबदलीलगायत युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने भनेका थिए।
ट्रम्पले पनि जमिनबारे युक्रेनले नै निर्णय गर्ने भनेर युरोपेली नेताहरूलाई जबाफ दिएका थिए।