गृहमन्त्री रमेश लेखकले राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था पक्षधर नेताहरूका लागि सुरक्षा दिन खटाइएका सुरक्षाकर्मी आन्दोलनको सुरक्षा व्यवस्थाका लागि खटाउन ल्याइएको बताएका छन्।
राजसंस्थाको पक्षमा आन्दोलन गर्न छोड्नेबित्तिकै पुनः नेताहरूलाई सुरक्षा दिन सुरक्षाकर्मीहरू खटाइने उनले बताए।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको विषयमा प्रश्न गरेका थिए।
जबाफमा गृहमन्त्री लेखकले सुरक्षाकर्मीहरूलाई आन्दोलनमा खटाउनुपर्ने भएकाले नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको बताएका हुन्।
'अब हजुरहरूले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो। यी घटनाहरू भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ,' उनले भने।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए।
'संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौं, सरकारको धारणा यही हो। गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन,' उनले भने।
सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका राप्रपाका तीन जना नेताको र राप्रपा नेपालका नेताहरूका सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको थियो।