नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कमजोरीलाई सुधार्दै यही व्यवस्था टिकाउने बताएका छन्।
बाँकेको नेपालगञ्जमा मंगलबार आयोजित पार्टीको क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेका ७ बुँदे बाचाअनुसार तत्काल संविधान संशोधनका लागि काम सुरू गर्नुपर्ने बताए।
गत वर्ष असार १७ गते कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढ्न सकेको छैन।
‘कांग्रेस र एमालेले ७ बुँदे सहमति गर्दा संविधान संशोधन गर्छौं भनेर बाचा गरेका थियौं,’ महामन्त्री थापाले भने, ‘तर आज हाम्रो बाचा पूरा गरिरहेका छैनौं। कांग्रेस र एमाले सरकार चलाउँदै गर्दा यति मस्त भएका छौं कि संविधान संशोधनको मुख्य बाचा बिर्सियौं।’
उनले ७ बुँदे सहमतिअनुसार अहिलेको अलमलबाट बाहिर निस्केर संविधान संशोधन प्रक्रियाबारे छलफल गरिहाल्नुपर्ने बताए।
‘अलमलबाट बाहिर निस्किएर कांग्रेस र एमालेले गरेका ७ बुँदे बाचाअनुसार संविधान संशोधनको कार्य तत्काल सुरू गर्नुपर्छ,’ उनले भने, ‘साथै नागरिकलाई यही व्यवस्था टिक्छ र टिकाउँछौं। व्यवस्थामा रहेका कमजोरी सुधार्छौं भन्नुपर्छ। व्यवस्थामा रहेका कमजोरी सुधार्ने भनेको संविधान संशोधनबाटै हो।’