प्रतिनिधि सभाको मंगलबारको बैठक बस्दै नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो। त्यसपछि पनि बैठक बस्न सकेन।
संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरू छन्।
तर सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्न पाउनुपर्ने बताइरहेका छन्।
सदनमा कुरा राख्ने अवस्था नबनेपछि केही दिनअघि गृहमन्त्रीले संघीय संसद भवन परिसरबाट पत्रकार सम्मेलन गरी आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको बताएका थिए।
प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा आजै संघीय संसद भवन परिसरमा बसेको विपक्षी दलहरूको बैठकले २०६४ सालपछिका गृहमन्त्रीहरूको कार्यकालमा भिजिट भिसाबारे भएका गतिविधिबारे छानबिन गर्न आयोग गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
साथै गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे अनुसन्धान अवधिभर मार्गप्रशस्न गर्नुपर्ने र यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने कुरा उनीहरूको थियो।
सदनको गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले पटक पटक पहल गरे पनि समझदारी बन्न सकेको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार सदनको गतिरोध अन्त्य गर्नेबारे कुराकानी भए पनि कुनै समझदारी बन्न सकेको थिएन।